काठमाडौं : चालु आर्थिक वर्षको एघार महिनामा सरकारको कुल खर्च साढे १२ खर्ब रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकोे देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा नेपाल सरकारको कुल खर्च रु.१२ खर्ब ८२ अर्ब ९४ करोड रहेकोछ ।
यस अवधिमा चालु खर्च ८ खर्ब ५१ अर्ब ५८ करोड, पुँजीगत खर्च एक ४३ अर्ब ३९ करोड र वित्तीय व्यवस्था खर्च दुई खर्ब ८७ अर्ब ९७ करोड रहेको छ ।
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) १० खर्ब १६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।
यसअन्तर्गत कर राजस्व रु.९१८ अर्ब र गैरकर राजस्व ९८ अर्ब ८ करोड परिचालन भएको छ ।
यस अवधिमा प्रदेश सरकारहरूको कुल खर्च एक खर्ब २४ अर्ब ९० करोड र स्रोत परिचालन रु.१८२ अर्ब ६० करोड रहेको छ । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी एक खर्ब ३९ अर्ब ८६ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु.४२ अर्ब ७४ करोड रहेको छ ।
जेठ मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा तीन खर्ब ३९ अर्ब ९८ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । गत असार मसान्तमा यस्तो मौज्दात रु.९३ अर्ब ९६ करोड रहेको थियो ।
यस्तो छ आर्थिक स्थिति
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधमिा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७२ प्रतिशत रहेको छ । त्यस्तै शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोडलेबचतमा रहेको छ । आयात १३.१ प्रतिशतले र निर्यात ७७.८ प्रतिशतले बढेको छ ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १५.५ प्रतिशतले र अमेरिकी डलरमा १२.७ प्रतिशतले बढेको छ । २०८२ जेठ महिनाकोविप्रेषण आप्रवाह रु.१७६ अर्ब ३२ करोड रहेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १८ अर्ब ६५ करोड पुगेको छ ।
यस अवधिमा नेपाल सरकारको खर्च रु.१२८२ अर्ब ९४ करोड र राजस्व परिचालन रु.१०१६ अर्ब ९ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ८.२ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.० प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ८.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ८.० प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८.७ प्रतिशत रहेको छ ।