काठमाडौं : बन्दीपुर केवलकार एण्ड टुरिजमले आईपीओ निष्काशन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि आजबाट आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ । प्रतिशेयर १०० रुपैयाँका दरले ५ करोड ६६ लाख रुपैयाँको ५ लाख ६६ हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरेको हो ।
कम्पनीले तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडा, आँबुखैरेनी गाँउपालिकाका सबै वडा, भानु नगरपालिका-१ तथा गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका-७ का स्थानिय बासिन्दाले आवेदन दिन पाउनेछन् ।
यस्तै ५ करोड २९ लाख ४० हजार रुपैयाँको ५ लाख २९ हजार ४०० कित्ता सेयर रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि निष्कासन गरेको छ ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित स्थानियका लागि साउन २० गते र वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेका छ । स्थानीयले बन्दीपुर गाँउपालिका-४, आँबुखैरेनी गाँउपालिकाको कार्यालय, भानु नगरपालिका-१ को कार्यालय र पालुङ्गटार नगरपालिका-७ को कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन् ।
Advertisment