सार्वजनिक ऋणको दायित्व साढे २६ खर्ब नाघ्यो, एक वर्षमा थपियो दुई खर्ब ३१ अर्ब 

सार्वजनिक ऋणको दायित्व साढे २६ खर्ब नाघ्यो, एक वर्षमा थपियो दुई खर्ब ३१ अर्ब 

काठमाडौं : सार्वजनिक ऋणको आकार साढे २६ खर्ब रुपैयाँ नाघेको छ । आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म सार्वजनिक ऋण बढेर २६ खर्ब ६९ अर्ब ५७ करोड रुपैयाँ पुगेको हो । 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आव वर्ष सुरु हुँदा २४ खर्ब ३८ अर्ब ४८ करोड रहेको सार्वजनिक ऋण यस अवधिमा आइपुग्दा दुई खर्ब ३१ अर्ब ८ करोड रुपैयाँ थपिएको हो । 

हालसम्मको कूल सार्वजनिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४३ दशमलव ७१ प्रतिशत बराबर हो । कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५२.४९ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.५१ प्रतिशत रहेको छ ।

असार मसान्तसम्म सरकारले तीन खर्ब ६२ अर्ब ५९ करोड रुपैयाँ बराबरको सार्वजनिक ऋणको साँवा–ब्याजको भुक्तानी गरेको छ । जसमा साँवा वापत दुई ९२ अर्ब ४८ करोड रुपैयाँ र ब्याज वापत ७० अर्ब ११ करोड रुपैयाँ बराबरको भुक्तानी गरेको हो ।

आर्थिक वर्ष सुरु हुँदा आन्तरिक ऋण ११ खर्ब ७६ अर्ब ९८ करोड बराबर रहेकामा असार मसान्तसम्ममा बढेर १२ खर्ब ६३ अर्ब ६ करोड पुगेको छ ।
जिडिपीका आधारमा आन्तरिक ऋणको अनुपात २२ शमलव ३१ प्रतिशत बराबर हो । यस अवधिमा सरकारले तीन खर्ब २९ अर्ब ९९ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदा दुई खर्ब ४३ अर्ब ९१ करोड बराबर ऋण तिरेको छ ।

त्यस्तै, असार मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण १४ खर्ब एक अर्ब ३५ करोड रुपैयाँ छ । चालु आवको सुरुआतमा बाह्य ऋण १२ खर्ब ५७ अर्ब ५८  करोड बराबर थियो । 

यस अवधिमा सरकारले बाह्य ऋणको साँवा र ब्याज भुक्तानीमा ४८ अर्ब ५६ करोड खर्च गरेको छ भने यहि अवधिमा एक खर्ब ५५ अर्ब ३९ करोड बराबर बाह्य ऋण थपेको छ । जिडिपीको तुलनामा बाह्य ऋण २४ दशमलव ५६ प्रतिशत बराबर हो । गत आर्थिक वर्षका लागि सरकारले पाँच खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य लिएकामा ४ खर्ब ५५ अर्ब २९ करोड ऋण उठाइसकेको छ । 

वार्षिक लक्ष्यको तुलनामा यो अवधिको सार्वजनिक ऋण प्राप्ति ८३.२५ प्रतिशत हो । जसमध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमशः १०० र ५७.७९ प्रतिशत रहेको छ । कल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमशः ७२.४६ र २७.५४ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षका लागि सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गर्ने प्रयोजनका लागि कुल चार खर्ब दुई अर्ब ८५ करोड रुपैयाँ बजेट छुट्याएको थियो । असार मसान्तसम्ममा तीन खर्ब ६२ अर्ब ५९ करोड बराबर साँवा ब्याज भुक्तानी भइसकेको छ । 

यो अवधिको साँवा ब्याज भुक्तानी वार्षिक बजेट विनियोजनका आधारमा ९०.०१ प्रतिशत बराबर हो । जिडिपीको आधारमा असार मसान्तसम्मको कुल ऋण सेवा खर्च पाँच दशमलव नौ चार प्रतिशत बराबर हो । 
 

थप समाचार