विक्रम संवत २०३० साल असार १ गते । जुम्लाको तातोपानी-४, गिडीखोलामा जन्मिएका थिए, ऋषिराम पाण्डे । देशकै दुर्गम भूगोल कर्णालीको जुम्लामै उनले प्रारम्भिक शिक्षा लिए।
त्योभन्दा माथि पढ्न गाउँमा कलेज थिएन। उनी दाङ झरे । त्यहीँको राप्ती प्राविधिक शिक्षालयबाट आईएससी पास गरे। बिएसी भने उनले भक्तपुरको हिमालय कजेजबाट सके।
पढाइकै क्रममा उनले आफ्नो र घरको जोहो गर्न जागिर खाए। २०५३ सालमा स्वावलम्बन विकास केन्द्रमा काम सुरु गरे । जीवनका २२ वर्ष यही केन्द्रमा बिताए ।
जागिरे जिन्दगीका क्रमा बटुलेको अनुभव उनले आफ्नो जन्मभूमीमा सदुपयोग गर्ने सोच बनाए । त्यसपछि फर्किए कर्णालीतिरै । आफ्नो अनुभव र ज्ञानलाई कृषिसँग जोड्ने योजना अनुरुप उनले २०७१ सालमा चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थासँग जोडिए । विगत ११ वर्षदेखि पाण्डेले चन्दननाथ नगरपालिका-५, जुम्लामा मुख्य कार्यालय रहेको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाको व्यवस्थापकीय जिम्मेवारी सम्हालिरहेका छन् ।
कृषिमा नयाँ सम्भावना र सहकारी अभियानलाई व्यापक बनाउने कर्ममा पाण्डे दिनरात नभनी लागिपरेका छन्।
चन्दननाथ सहकारीमा हालसम्म २८ हजार शेयर सदस्य छन्, जसमा २० हजार सक्रिय महिला सदस्य छन्। सहकारीले महिलालाई सदस्य मात्र बनाएको छैन, उनीहरू आत्मनिर्भर बनाउने अभियानजस्तै चलाएको छ। उद्यमशीलतामा अघि बढाउने प्रेरणा पनि दिएको छ।
चन्दननाथ सहकारी आजको दिनमा आइपुग्दा कर्णाली प्रदेशका आठ जिल्लामा फैलिएको छ। ३३ शाखा (सेवा केन्द्र) कार्यालय छन् । तिनै शाखामार्फत बचत तथा ऋण कारोबारसँगै मौलिक र रैथाने बाली संकलन, बिक्री र वितरण गर्ने काममा सघाइरहेको छ ।
पहिले यहाँको उत्पादनले बजार नपाउँदा किसान निराश थिए, धेरैले मौलिक बाली लगाउनै समेत छाडे । तर चन्दननाथ सहकारीले किसानको उत्पादन नगदमै खरिद गर्न थालेपछि किसान हौसिएका छन् ।
यहाँको उत्पादनलाई पाण्डे नेतृत्वको सहकारीले लेबलिङ र ग्रेडिङ गरेर आफ्नै कोशेली घर (मार्ट) मार्फत बजारसम्म पु¥याउने गरेको छ । अहिले सुर्खेत, काठमाडौं, जुम्ला र कालिकोटमा स्थापना भएका चारवटा कोशेली घरमार्फत वार्षिक १० करोड रुपैयाँभन्दा बढीको अग्र्यानिक उत्पादन बिक्री भइरहेको छ।
यसरी विक्रि हुनेमा विशेषगरी सिमी, मार्सी चामल, फापर, चिनो कागुनो, कोदो, जौँ, भट्टमास, गहत, गुराँस, कलालगायतका रैथाने खाद्यबाली रहेका छन् । जडिबुटीमा चियापत्ती, टिमुर, जिम्बु, फलफूलमा ओखर, स्याउ र स्थानीय पहिरनमा खरायोको रौँ र ऊनको टोपी बिक्री वितरण हुने गरेका छन् ।
सहकारीले किसानलाई व्यापारीलेभन्दा बढी मूल्य दिएर उत्पादन संकलन गर्छ। त्यो पनि नगदमै । चन्दननाथ सहकारीले किसानले उत्पादन गर्ने बित्तिकै खरिद गरिदिने भएपछि उनीहरूको आत्मविश्वास बढेको छ।
पाण्डेको व्यवस्थापकीय नेतृत्वमा सहकारीले कर्णाली प्रदेशकै उत्कृष्ट पुरस्कार समेत प्राप्त गरिसकेको छ । नेपालको सहकारी अभियानको शीर्ष निकाय राष्ट्रिय सहकारी महासंघ नेपालले चन्दननाथ सहकारीलाई कर्णाली प्रदेशकै उत्कृष्ट घोषणा गर्दै १०३ औं अन्तर्राष्ट्रिय सहकारी दिवस २०८२ को अवसरमापुरस्कृत गरेको हो ।
ऋषिराम पाण्डे भन्छन्, ‘हाम्रो उद्देश्य किसानलाई सहकारीमा जोड्नु मात्रै होइन, उनीहरूलाई उत्पादनको उचित मूल्य दिलाएर आत्मनिर्भर बनाउनु हो, उद्यमी बनाउनु हो।’
सहकारीले उत्पादन खरिद मात्र गर्दैन, किसानलाई प्राविधिक सहयोग, यान्त्रिकीकरण, तालिम र सीप विकासका कार्यक्रम पनि गर्दै आएको छ। यसले उत्पादनको मात्रा बढाउनुका साथै गुणस्तरमा सुधार ल्याएको छ।
सहकारीसँग जोडिएका किसान ढुक्क छन्। उनीहरूलाई लाग्छ, अब मिहिनेत गरेर निराश हुनुपर्दैन । जति उत्पादन भए पनि सहकारीले खरिद गर्छ, बजार ग्यारेन्टी गर्छ र मूल्य पनि उचित दिन्छ । यसरी सहकारीले किसानलाई ढुक्क भएर उत्पादन गर्ने मनोबल प्रदान गरेको छ।
सहकारीको अबको योजना झन् महत्वाकांक्षी छ। सबै सदस्यलाई उद्योगी बनाउने, मौलिक बालीलाई संरक्षण गर्दै उत्पादन बढाउने, अग्र्यानिक खेतीलाई विशेष प्राथमिकता दिने, रैथाने बालीलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने र सहर तथा विदेशको पैसा गाउँसम्म ल्याउने अभियान सहकारीले अघि बढाइएको छ।
सहकारीले स्थानीय, प्रदेश र संघीय सरकारसँग सहकार्य गर्दै यसलाई कर्णालीको आर्थिक रुपान्तरणको मोडेल बनाउन चाहेको छ।
ऋषिराम पाण्डे गाउँ फर्किएका मात्र छैनन्, गाउँमै बसेर सम्भावना सिर्जना गर्ने अभियन्ता बनेका छन्। चन्दननाथ सहकारीको अभियानले किसानलाई गतिलो साथ मात्र दिएको छैन, ‘किसान निराश हुनुपर्दैन, श्रमको सम्मान हुन्छ, उत्पादनको मूल्य र बजार अब सहकारीले ग्यारेन्टी गर्छ’ भन्ने विश्वास पनि दिएको छ।
Sponsored Advertisment