काठमाडौं : गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ दोस्रो संस्करणको गरिमा रोड रेस–२०८२ आयोजना गर्ने भएको छ । प्रतियोगिता मंसिर ६ गते, शनिबार काठमाडौंमा हुनेछ।
गत वर्षदेखि सुरु गरिएको रोड रेस प्रतियोगिता यस वर्ष अझ विस्तारित रूपमै आयोजना गर्न लागिएको बैंकले जनाएको छ। यसपटक प्रतियोगिता खुला (महिला/पुरुष) १० किमी, कर्पोरेट (महिला/पुरुष) ५ किमी, र भेट्रान (महिला ४५ वर्षमाथि, पुरुष ५० वर्षमाथि) ५ किमी गरी तीन विधामा हुनेछ।
करीब १,००० धावकहरूको सहभागिता हुने अपेक्षा गरिएको प्रतियोगितामा विजेताहरूका लागि आकर्षक नगद पुरस्कार राखिएको छ। खुला समूहका विजेताले जनही रु.५०,०००, दोस्रोले रु.३५,०००, तेस्रोले रु.२०,०००, चौथोले रु.१५,०००, र पाँचौंले रु.१०,००० प्राप्त गर्नेछन्। त्यस्तै, कर्पोरेट र भेट्रान समूहका विजेताले जनही रु.३०,०००, दोस्रोले रु.२०,०००, तेस्रोले रु.१४,०००, चौथोले रु.१०,०००, र पाँचौंले रु.७,००० नगद पुरस्कार पाउनेछन्।
रोड रेस बालुवाटारस्थित गरिमा बैंकको प्रस्तावित केन्द्रीय कार्यालय परिसरबाट सुरु हुनेछ। खुला वर्गका धावकहरू बुढानिलकण्ठ नगरपालिका–३ को कार्यालय भवन पुगेर सोही बाटो हुँदै बालुवाटार फर्कने छन् भने कर्पोरेट र भेट्रान वर्गका धावकहरू न्युरो अस्पताल, बाँसबारी पुगेर सोही बाटो फर्कने छन्। प्रतियोगिताको अनलाइन दर्ता खल्ती एपमार्फत रु.२० शुल्कमा कार्तिक २८ देखि मंसिर ४ गतेसम्म गर्न सकिनेछ। थप जानकारीका लागि ०१–५९७०१७९ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।
गत वर्षको गरिमा रोड रेस–२०८१ मा ओलम्पिक धाविका सन्तोषी श्रेष्ठसहित ६५० धावक सहभागी भएका थिए। यस वर्षको संस्करणमा अझ बढी सहभागी हुने अपेक्षा गरिएको छ।
Advertisment