बचत तथा ऋण सहकारी अभियान जसलाई हामी साकोस अभियान भनेर चिन्दछौं र निरन्तर क्रियाशील पनि रहेका छौं । साकोस अभियानको अविच्छिन्नतामा लाखौं अभियन्ताहरूको योगदान रहेकोले नै अभियान आजको स्तरमा आइपुगेको हो । यसको निरन्तरता र स्तर बृद्धि हामी सबैको तर्फबाट साकोस नेतृत्वको जिम्मेवारी हो । बत्तिसौं वार्षिक साधारणसभाले निर्वाचित गरेको सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति अभियानको समुन्नतीका लागि निरन्तर सक्रिय छ । प्रचलित सहकारी ऐन, संघको विनियम तथा आन्तरिक कार्यबिधिमा आधारित भइ अभियानलाई नेतृत्व प्रदान गरेको छ । साकोस अभियानको वर्तमान नेतृत्व एकका लागि सबै र सबैका लागि एकको व्यवहारिक प्रयोगको आधारमा अभियानको नेतृत्व गरेको अवगत गराउन चाहन्छु ।
अविच्छिन्न अभियान : सहकारी ऐन, २०७४ ले तोकी दिएको संघहरूका कार्यहरू सम्पादन गर्न संघको अविच्छिन्नताका लागि संघको विनियम तथा साधारणसभाबाट स्वीकृत वार्षिक नीति तथा कार्यक्रम बमोजिम सम्पादन कार्यहरूको विवरण महासचिवको प्रतिवेदन र परिचालन गरेको स्रोतको विवरण कोषाध्यक्षको प्रतिवेदनमा समाबेश गरिएको छ । सञ्चालक समितिले अभियानको प्रतिनिधित्व र जिम्मेवारी निरन्तर वहन गरी रहेको छ । सञ्चालक समिति सहकारी मूल्य, मान्यता र सिद्धान्त प्रति प्रतिबद्ध रहेको छ । सदस्य नियन्त्रित बचत ऋण सहकारी अभियानको नेतृत्व संघले गरेको छ । वाह्य नीतिगत वातावरण तथा चुनौतीहरूको सामना गरी अविच्छिन्नताको सुनिश्चितता गर्न गरेका प्रयासहरू यस साधारणसभामा प्रस्तुत प्रतिवेदनहरूमा समावेश गरिएको छ ।
आरम्भ : बचत तथा ऋण सहकारीहरूको नियमनका लागि अलग्गै संस्थागत प्रबन्ध सहकारी ऐनबाट भई कार्य आरम्भ भएको छ । बचत तथा ऋण सहकारी अभियानमैत्री विकासात्मक परिवर्तनगामी संरक्षणात्मक अनुगमन अभियानको आवश्यकता हो । बचत तथा ऋण सहकारी अभियानको नियमन सरकारको दायित्व हो । यसमा स्रोतको कमी वा कुनै कारण देखाएर ढिला हुन आवश्यक छैन । नियमन र स्वनियमन परिपुरक बन्नु पर्दछ । कार्यान्वयनमा सृजनाशिलता आवश्यकता हो । प्राधिकरणका मापदण्डहरू कार्यान्वयन सुनिश्चितता सहित विश्व असल अभ्यासमा आधारित भई आउन जरूरी छ । सरकार र अभियानका बीच सहकार्य र सहअस्तित्वको आरम्भ हुन आवश्यक छ ।
इजाजत : बचत तथा ऋणको नाममा दर्ता भएका सबै बचत तथा ऋण सहकारीहरू प्राधिकरणबाट अभिलेखीकरण भई कारोवारको इजाजत पाउन सक्ने गरी कार्य प्रणाली विकासका लागि निरन्तर पैरवी गरिएको छ । दर्ताको मापदण्ड तथा अबधि सहकारी ऐन, २०७४ को मर्म बमोजिम हुन आवश्यक छ । यसका लागि संघले निरन्तर पहल गरिरहेको छ । इजाजत प्राप्त गर्न कठिन भएका सदस्यहरूलाई निरन्तर सहजीकरण गर्ने नीति संघले लिएको छ । पहिचान सहितको बचत ऋण सहकारी अभियानको लागि सबैले योगदान गर्न आवश्यक छ ।
ई–गभर्नेन्स : संघको स्रोत साधन तथा क्षमतामा आधारित भइ संघका सेवाहरूमा ई–लर्निङ तथा ई–कमर्शका अवधारणहरूमा अध्ययन, अनुसन्धान तथा अनुकरणका तयारीहरू गरिएको छ । संघमा आबद्धता, तालिम, सुपरिवेक्षण तथा बैठकहरू ईन्टरनेटमा आधारित भइ सञ्चालन गरिएको छ । प्रविधिमा आधारित सेवा विस्तार तथा प्रणाली विकासलाई प्राथमिकता प्रदान गरिएको छ । बचत तथा ऋण सहकारी अभियान साझा प्रविधिमा आधारित भई अघि बढ्न आवश्यक नीति तथा कार्यक्रमहरूको विकास गरिएको छ ।
उद्यमशीलता : बचत तथा ऋण सहकारी अभियानको स्रोतको प्रभावकारी परिचालन गरी सदस्यहरूको आर्थिक सामाजिक तथा सांस्कृतीक उत्थानका लागि उद्यमशिलता प्रवद्र्धनका कार्यक्रमहरूलाई आन्तरिक कार्यक्रमको रूपमा विकास गरिएको छ । उद्यमशिलता विकास, उद्यमको संरक्षण तथा प्रवद्र्धन गर्ने नीति संघको रहेको छ । उद्यमशिल सदस्य अभियानको आधार भएकोल उद्यमशिल सदस्य निर्माणका लागि विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संगठनहरूसँग साझेदारी गरिएको छ ।
ऐन नियम : सहकारी ऐनको संशोधन बचत तथा ऋण सहकारीहरूको व्यवस्थापनमा नेपाल राष्ट्र बैंक नियामकहरूका लागि मापदण्ड दिन सक्षम भएको छ तर बचत तथा ऋण सहकारी अभियानको अपेक्षा पुरा भएको छैन । साकोस ऐन हाम्रो आवश्यकता भएकोले प्राप्तीका लागि प्रयास निरन्तर राखिएको छ र रही रहनेछ । बचत तथा ऋण सहकारी अभियानका अबको गन्तव्यको रूपमा अभियानको सञ्जालिकरणलाई राखिएको छ । सेवाहरूको स्तरीकरण मार्फत सदस्यहरूको बचत सुरक्षा गर्न अभियान सक्षम रहने विश्वास लिइएको छ । कानूनी वातावरण विकासका लागि निरन्तर कार्य गरिनेछ ।
ऋण असुली न्यायाधिकरण : बचत तथा ऋण सहकारी अभियानको पैरवीमा नेपाल सरकारले सहकारी क्षेत्रका लागि ऋण असुली न्यायाधिकरण शुरू गरेको छ । ऐन तथा नियमावलीका व्यवस्थाहरूले कार्यान्वयनमा परेका समस्याहरूमा समाधान गरी अभियानमैत्री रूपमा कार्यान्वन गर्न सहकार्यका लागि संघ तयार रहेको छ ।
कर्जा सूचना केन्द्र : बचत तथा ऋण सहकारी अभियानको दशकौं देखिको माग कर्जा सूचना केन्द्रको पहुँच प्राप्त हुने नीतिगत वातावरण तयार भएको छ । बचत तथा ऋण सहकारीहरूको पहिचान सहितको अलग्गै ढाँचामा प्रतिवेदनको तयारी गरिएको छ । यसमा अभियानको पृष्ठपोषणले महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।
कार्यालय भवन : संघले चालु आ.व. बाट केन्द्रीय कार्यालय आफ्नै भवनमा स्थानान्तरण गरेको छ । स्वीकृत ढाँचा र योजना बमोजिम भवन निर्माणको कार्य चालु आ.व. मा सम्पन्न हुनेछ । यस कार्यमा योगदान गर्नु हुने सबैमा संघ आभार प्रकट गर्न चाहन्छ । संघका भौतिक कार्यालयका संख्या न्यूनीकरण गरी प्रविधिमा आधारित सेवा विस्तारको नीति संघले लिएको छ ।
खराब ऋण व्यवस्थापन : अभियानबाट सदस्यहरूमा गएको ऋण भाखा नाघेको कारण लेख्नु परेको खर्च र सम्पत्ति स्वीकार गर्दा लेख्नु परेको जोखिम व्यवस्थापन खर्च अभियानको क्षमता भन्दा टाढाको बिषय भएकोले समयाबधि दिनु पर्ने माग संघको रहेको छ । सदस्यहरूको बचत सुरक्षामा अभियान संबेदनशिल छ र भबिष्यमा पनि रहने विश्वास दिलाउन चाहन्छु ।
ग्राहस्थ उत्पादन गणना : कूल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान गणनाका लागि अभियानको माग रहेकोमा सरकारले चालु आ.व.मा सो गणनाको थालनी गरेकोमा हामी आभारी छौं र पैरवीले सहकारी अभियानको योगदानको अभिलेखिकरणको अवस्था आएको छ । यसका कार्यमा सक्रियता पुर्वक सहभागिताका लागि संघ हार्दिक अनुरोध गर्न चाहन्छ । यस गणनाले बचत तथा ऋण सहकारी अभियानको वास्तविक योगदानको पहिचान हुने विश्वास लिइएको छ ।
घोषणा कार्यान्वयन : बचत तथा ऋण सहकारी अभियान विश्व सहकारी अभियान, विश्व बचत तथा ऋण सहकारी अभियान र विश्व समुदायले दिएका मार्गनिर्देशनात्मक घोषणाहरू र नेपाल भित्र बचत तथा ऋण सहकारी अभियानले गरेका प्रतिबद्धताहरूको कार्यान्वयनमा जिम्मेवार वहन गर्न तयार र सक्षम रहेको व्यहोरा अनुरोध छ ।
तरलता : बचत तथा ऋण सहकारी अभियानका तरलता व्यवस्थापन गरी अनिवार्य तरलता प्राप्तीको आधार विकास गर्न र तरल सम्पत्तिबाट आम्दानी सुनिश्चित गरी बचत तथा ऋण सहकारी अभियानको वित्तीय स्थायित्व कायम गर्न केन्द्रीय तरलताको अवधारणामा आधारित अन्तर लगानी कार्यक्रमको परिमार्जन गरिएको छ । कम्तीमा पाँच प्रतिशत स्रोत अभियानमा नै निरन्तरता दिन पनि हार्दिक अनुरोध गर्न चाहन्छु ।
निरन्तर शिक्षा र सिकाई आदान प्रदान : बचत तथा ऋण सहकारी अभियान प्रवद्र्धन तथा संरक्षणका लागि आवश्यक ज्ञान, सिप र क्षमता विकासका लागि संघले राष्ट्रिय, अन्तराष्ट्रिय, भौतिक तथा अभौतिक सिकाईका अवसर सृजना र विस्तारका कार्यहरूलाई निरन्तरता दिईएको छ । सञ्जाल भित्र र वाहिर पनि सिकाईको अवसर विस्तार गरिनेछ । वित्तीय साक्षरता, उद्यमशिलता र सहकारी सिकाईलाई प्राथमिकतामा राखिएको छ ।
प्रविधि : वित्त प्रविधि (फिन टेक) को उपयोगको नीतिगत व्यवस्था र सदस्यमैत्री कार्यान्वयनका लागि संघको पैरवी र प्रयास निरन्तर रहनेछ । प्रविधिको लागत र जोखिम न्यूनीकरणका लागि अभियानको सहकार्य आवश्यक छ ।
मालपोत : बचत तथा ऋण सहकारी अभियानले कानूनी व्यवस्था हुँदा हुँदै पनि नसोचिएका समस्या भनेको मालपोतबाट पाइने सेवामा समस्या हो भन्ने भएको छ । कार्यालय अनुसारको फरक व्यवहार र सम्पत्तिको घट्दो मुल्य तथा करको भार अभियानलाई कठिन भएकोले यसको व्यवहारिक समाधानका लागि निरन्तर प्रयास गरिएको छ ।
संघको सुपरिवेक्षण : संघको सहकारी विभाग, नेपाल राष्ट्र बैंक र ठुला करदाता कार्यालयबाट सुपरिवेक्षण भएको छ । यसबाट संघले प्राबिधिक र नीतिगत रूपमा सुधार गर्नु पर्ने सुझाबहरू प्राप्त भएको छ र सबै सुझावहरू संघले चालु योजनामा समाबेस गरी कार्यान्वयनमा लगिएको छ । यसबाट संघको वित्तीय स्वास्थ्यमा सुधार आउने निश्चित छ ।
स्थिरीकरण कोष : बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यबिधि, २०७६ को पहिलो संशोधन भई कार्यबिधिले तोकेका कार्यहरू गर्न आवश्यक बिधि, प्रक्रिया र ढाँचा स्वीकृत गर्ने अधिकार सञ्चालन समितिमा आएको छ । यसबाट दैनिक रूपमा आवश्यक ढाँचाहरू विकास गरी चालु आ.व. बाट कोषका सेवाहरू सञ्चालन शुरू भएको छ । म यस साधारणसभा मार्फत सबै प्रतिनीधिहरूलाई संस्था कोषमा आबद्ध गराउन पहलका लागि अपिल गर्न चाहन्छु ।
सहकार्य : सञ्चालक समितिले सञ्जाल सहकार्यलाई पहिलो प्राथमिकतामा राखेको छ । नेपालको प्रचलित सहकारी कानून बमोजिम गठन भइ सक्रीय रहेका साकोस सञ्जालका संघहरूसंग व्यावसायिक साझेदारीको सुदृढीकरण गरेकोछ । अन्तरलगानी वाहेकका सबै सेवाहरूमा सहकार्यको अवधारणा कार्यान्वयन गरीएको छ । सहकार्यलाई थप सुदृढ गरिनेछ । स्थानीय, प्रदेश तथा संघीय सरकारसंगको समन्वयलाई निरन्तरता दिइएको छ । संघको साधन, स्रोत तथ क्षमतामा आधारित भई औपचारिक वा अनौपचारिक रूपमा समन्वयलाई अघि बढाएको छ । सबै तहका सरकारहरूसंग संघ सहकार्य तथा समन्वयमा अभियानको संरक्षण र प्रवद्र्धनका लागि निरन्तर सक्रिय रहनेछ । यसका लागि सञ्चालक समितिका सदस्यहरू वीचमा जिम्मेवारी बाँडफाँड गरिएको छ ।
समस्याग्रस्त घोषणा र व्यवस्थापन : सहकारी ऐन, २०७४ बमोजिम सहकारी संस्था समस्याग्रस्त घोषणा र व्यवस्थापनमा सरलीकरण आवश्यक छ । समस्याग्रस्त संस्था व्यवस्थापनमा अभियानको सहकार्य सुनिश्चित गरिनु पर्दछ ।
सहकारी दशक : संयुक्त राष्ट्र संघको महासभाबाट घोषित सहकारी दशकका कार्यक्रमहरू कार्यान्वयनमा संघ सक्रिय रहनेछ । बचत तथा ऋण सहकारी अभियानका सवालहरूको रूपमा आई.सी.ए. को एजेण्डा अन एक्सन २०२४ लाई स्वीकार गरी कार्यान्वयन गरिएको छ ।
संकल्प : चालु आ.व. का लागि सुरक्षित साकोस र समुन्नत समाजका लागि सहकार्य भन्ने मूलमर्म समितिले स्वीकृत गरेको छ । एकका लागि सबै सबैका लागि एकको भावनालाई कार्यान्वयन गर्न यही संकल्प कार्यान्वयनका लागि सक्रिय हुन सबैमा अपिल गर्न चाहन्छु ।
बचत तथा ऋण सहकारी व्यवस्थापनमा चुनौतिहरू थपिएको छ । राज्य संरक्षित औपचारिक वित्तीय क्षेत्रका सेवाहरू परिमार्जन भएका छन् । प्रविधिले समावेशीकरणलाई सहयोग गरेको आभाष भएको छ । सहकारी क्षेत्रमा उच्च स्तरको प्रविधि अवलम्बनमा समस्या बिद्यमान छ । समस्याग्रस्त वा समस्या उन्मुख संस्थाहरूमा सदस्यहरूको बचत फिर्तामा जटिलता देखिएको छ । जनशक्तिको आकर्षण कमजोर भएको छ । स्रोत व्यवस्थापनमा संघहरूलाई अलग गर्ने प्रयास गरिएको छ । कडा नियमनको नाममा अभियानलाई डर देखाइएको छ । भाखा नाघेको ऋण बढेको छ । सरकारको संरक्षणात्मक पहल पुगेको छैन । अभियान एक हुँदा यी सबै समस्याको समाधान हुन सक्छ । कुनै पनि संस्था एक्लै छैन । हुनु हुँदैन । समस्याको व्यवस्थापन गर्ने क्षमता र सक्रियता अभियानसँग छ ।
संबिधानले दिएको एक तिहाइ जिम्मेवारी लिन निष्ठापूर्वक सक्रिय रहन आवश्यक छ । विश्वव्यापी रूपमा बचत तथा ऋण सहकारी क्षेत्र औपचारिक वित्तीय क्षेत्र हो । अबको एउटै बाटो भनेको बचत तथा ऋण सहकारीहरूका लागि वित्तीय सहकारी ऐनका लागि पैरवी हो । उत्कृष्ठ सहकारीता सहितको वित्तीय सेवा प्रवाह गर्न अभियान प्रतिबद्ध छ । यसका लागि निरन्तर सक्रियताको अपेक्षा सहित अभियानका सवालहरूमा सक्रीय छलफल गरी अघि बढ्न अनुरोध गर्न चाहन्छु ।
(३४औं वार्षिक साधारण सभामा अध्यक्ष ढकालले राखेको मन्तव्य)
Advertisment