Below Menu
Below Menu

कर्जा सूचना केन्द्रको सदस्यतामा सहकारी, पारदर्शिता र अनुशासन बलियो हुने अपेक्षा

कर्जा सूचना केन्द्रको सदस्यतामा सहकारी, पारदर्शिता र अनुशासन बलियो हुने अपेक्षा

काठमाडौं : बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई कर्जा सूचना केन्द्रले सदस्यता दिन सुरु गरेको छ। केन्द्रले माघ ७ गते सूचना जारी गर्दै सहकारीहरूका लागि सदस्यता आव्हान गरेको थियो। हालसम्म करिब एक दर्जन सहकारी संस्थाले कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गरिसकेका छन्।

सदस्यता प्राप्त गर्नेमा ललितपुरको लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था, काभ्रेको पनौती स्थित ज्योति मिर्मिरे सामूहिक साकोस, काभ्रेकै बनेपा स्थित विन्दवासिनी साकोस, मोरङको पथरीस्थित मनकामना साकोस तथा रुपन्देहीस्थित जनउत्थान साकोसले केन्द्रको सदस्यता प्राप्त गरेको छ।

सहकारी संस्थालाई सदस्यता दिन सुरु गरिएको जानकारी दिँदै कर्जा सूचना केन्द्रका प्रवक्ता विजय कुँवरले अन्य सहकारीहरू पनि सदस्यता प्राप्तिको प्रक्रियामा रहेको बताए। हाल सदस्यता प्रदान गर्ने चरणमा मात्र रहेको उल्लेख गर्दै उनले निश्चित विधि र प्रक्रिया पूरा गरेपछि मात्र सहकारीहरूले आफ्ना ऋणी सदस्यहरूको कर्जा सम्बन्धी सूचना केन्द्रमा पठाउन तथा केन्द्रबाट सूचना प्राप्त गर्न सक्ने स्पष्ट पारे।

केन्द्रले सदस्यता प्रदान गरेको गर्दै आधिकारिक पत्र पठाउँदै अन्य बैंक/वित्तीय संस्था तथा सहकारीहरूलाई जस्तै त्यस संस्थालाई पनि कर्जा सूचना सम्बन्धी सबै सेवाहरू प्रदान गर्न केन्द्र सदा तत्पर रहेको जनाएको छ।

कर्जा सूचना केन्द्रमा सहकारीको आवद्धताले सहकारी क्षेत्रमा पारदर्शिता, कर्जा अनुशासन तथा जोखिम व्यवस्थापनलाई थप सुदृढ बनाउने हाम्रो साकोस प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले बताए। केन्द्रसँग आबद्ध भएपछि सहकारीको कर्जा सूचना प्रणाली व्यवस्थित हुनुका साथै दोहोरो कर्जा, अस्वस्थ प्रतिस्पर्धा र जोखिम न्युनिकरणमा महत्वपूर्ण सहयोग पुग्ने उनले बताए। 

संस्थाको सुशासन अभिवृद्धि गर्नुका साथै सदस्यहरूको विश्वास थप बलियो बनाउने अपेक्षा सीईओ घिमिरेको छ । साथै नियमनकारी निकायको निर्देशनअनुसार सहकारी क्षेत्रलाई जिम्मेवार, पारदर्शी र दिगो बनाउने दिशामा यो सदस्यता महत्वपूर्ण उपलब्धि हुने घिमिरेको भनाइ छ।

यस अघिनै हिमालयन सहकारी संस्था, किसान बहुउद्देश्यीय सहकारी, सहकारी बैंक, नवजीवन सहकारी र सहारा नेपाल साकोसले सदस्यता पाईसकेको थियो।

कर्जा सूचना केन्द्र लिमिटेडले सञ्चालनमा ल्याएको “सदस्यता संस्था(हरू) दर्ता प्रणाली (Membership Institution(s) Registration System – MIRS)” प्रणालीमार्फत सहकारी संस्थाहरूले अनलाइन माध्यमबाट सदस्यताका लागि आवेदन दिन सक्नेछन्।

अनलाइन आवेदन पेश गर्दा कर्जा सूचना केन्द्र लिमिटेडलाई सम्बोधन गरिएको आवेदन पत्र, सञ्चालक समितिको निर्णय/स्वीकृति पत्र, राष्ट्रिय सहकारी नियमन प्राधिकरण (NCRA) को दर्ता पत्र, सहकारी दर्ता प्रमाणपत्र तथा PAN दर्ता प्रमाणपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।

सदस्यता दर्ता शुल्क ११३० रुपैयाँ (VAT सहित) तोकिएको छ। सहकारी सदस्यता दर्ताका  लागि https://mirs.cibnepal.org.np/ लिंक प्रयोग गर्न सकिने केन्द्रले जनाएको छ।

सहकारी ऐन, २०७४ (२०८१ मा संशोधित दफा ८१ र १०१) बमोजिम बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूले कर्जा सूचना केन्द्र लिमिटेडको सदस्यता लिनु अनिवार्य गरेको छ।

Advertisment

थप समाचार