Below Menu
Below Menu

किसानको पसिनाबाट ब्रान्डसम्म: कात्रज दूधको विश्वासिलो कथा

किसानको पसिनाबाट ब्रान्डसम्म: कात्रज दूधको विश्वासिलो कथा

काठमाडौं : भारतको पश्चिम महाराष्ट्रको सहकारी आन्दोलनको सशक्त प्रतीकका रूपमा स्थापित पुणे जिल्हा सहकारी दूध उत्पादक संघ मर्यादित (कात्रज डेअरी) आज केवल दूध उत्पादन गर्ने संस्था मात्र नभई हजारौं किसान परिवारको भरोसा र आत्मनिर्भर अर्थतन्त्रको आधार बनेको छ ।

सन् १९६० मा भारतको पुणे जिल्लाका गाउँ-स्तरका किसानहरूलाई व्यवस्थित रूपमा दूध सङ्कलन तथा बजार उपलब्ध गराउने उद्देश्यले स्थापना भएको यस सहकारीले सानो सुरुवातबाट उल्लेखनीय उचाइसम्मको यात्रा तय गरेको छ ।

स्थापनाको पहिलो वर्षमै प्रतिदिन करिब ३० हजार लिटर दूध सङ्कलनबाट सुरु भएको कात्रजको यात्रा आज प्रतिदिन २ लाख लिटरभन्दा बढी दूध सङ्कलन तथा प्रशोधन गर्न सक्ने क्षमतासम्म पुगेको छ । वार्षिक कारोबार ३७१ करोड (आ.व. २०२३/२४) माथि पुग्नु यसको संस्थागत मजबुती, व्यवस्थापन दक्षता र बजार विस्तारको स्पष्ट संकेत हो ।

सहकारी मोडेलमार्फत किसानहरूलाई संगठित गर्दै कात्रजले उत्पादनदेखि बजारसम्मको एकीकृत र व्यवस्थित संरचना विकास गरेको छ, जसले किसानलाई नियमित आम्दानी र उचित मूल्य सुनिश्चित गरेको छ ।

कात्रजसँग जिल्लाभर फैलिएका ९ वटा चिलिङ प्लान्ट र १३१ वटा बल्क मिल्क कूलर सञ्चालनमा छन् । जसको कुल ह्यान्डलिङ क्षमता प्रतिदिन ५ लाख लिटरभन्दा बढी छ । मुख्य प्रशोधन केन्द्र आधुनिक पाश्चराइजर, होमोजेनाइजर, क्रिम सेपरेटर, घिउ प्रशोधन युनिट, कन्डेन्स्ड मिल्क प्लान्ट, स्वचालित प्याकिङ प्रणाली र अत्याधुनिक गुणस्तर परीक्षण प्रयोगशालासहित सुसज्जित छ ।

खाद्य सुरक्षाप्रति प्रतिबद्धताका रूपमा कात्रजले डेट नस्र्के भेरिटासबाट आईओएस २२०००ः२००५ प्रमाणीकरण प्राप्त गरेको छ, जसले अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादन प्रक्रिया सञ्चालन भइरहेको पुष्टि गर्दछ ।

उत्पादन विविधताका दृष्टिले पनि कात्रज अग्रणी छ । पाश्चराइज्ड तथा होमोजेनाइज्ड दूध, टोनड, डबल टोनड, स्ट्यान्डर्डाइज्ड र फुल क्रीम दूधसँगै क्रिम, घिउ, श्रीखंड, आम्रखण्ड, दही, लस्सी, जिराटाक, पनीर, बटर, दूध पाउडर, आइसक्रिम, पेढा, खुवा, बर्फी, कालाकन्द र काजूकतलीजस्ता परम्परागत तथा आधुनिक दुग्धजन्य परिकारहरू बजारमा उपलब्ध छन् ।

यी उत्पादनहरू पुणे शहरका कात्रज–स्वामित्वका पार्लर, वितरक र खुद्रा सञ्जालमार्फत हजारौं उपभोक्तासम्म पुगिरहेका छन् । सहकारीले अनलाईनबाट २४ घण्टाभित्र आफ्ना उत्पादन ग्राहकको ढोकासम्म आपूर्ति गर्दै आएको छ।

सन् १९६१ देखि पुणेका हजारौं घरपरिवारमा कात्रजका उत्पादनहरू नियमित रूपमा प्रयोग हुँदै आएका छन् । ‘कात्रज दूध’ र ‘कात्रज घिउ’ जस्ता ब्रान्डहरूले उपभोक्ताको विश्वास जित्दै पश्चिम महाराष्ट्रको अग्रणी खाद्य ब्रान्डका रूपमा पहिचान बनाएका छन् । किसान–स्वामित्वको संरचना, स्वदेशी प्रविधिमा आधारित उत्पादन प्रणाली र प्रभावकारी बजार व्यवस्थापनले कात्रज डेअरीलाई सहकारी सफलताको प्रेरणादायी उदाहरण बनाएको छ ।

संस्थाको नेतृत्व अधिवक्ता स्वप्निल धमधरेले गरिरहेका छन् । १६ सदस्यीय सञ्चालक समिति रहेको यस सहकारीको प्रबन्ध निर्देशकमा मनोज लिमये छन् ।
कात्रज डेअरीले सहकारी मोडेलमार्फत महाराष्ट्रमा ग्रामीण सशक्तीकरण र दिगो कृषि–व्यवसाय प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेलेको छ ।

किसान–स्वामित्वमा आधारित संरचनाअनुसार सञ्चालन भइरहेको यस संस्थाले दुग्ध उत्पादन गर्ने किसानहरूलाई प्रतिस्पर्धी दरमा भुक्तानी गर्दै गाईको दूधका लागि प्रतिलिटर औसत रु. ३१.३९ उपलब्ध गराउँदै आएको जनाएको छ । यसबाट ग्रामीण किसानहरूको आयस्तर वृद्धि हुनुका साथै आर्थिक स्थायित्वमा टेवा पुगेको छ ।

संस्थाले आधुनिक पूर्वाधार विस्तारलाई प्राथमिकता दिँदै प्रशोधन र सङ्कलन प्रणाली सुदृढ बनाएको छ । साथै दिगोपनामा आधारित पहलअन्तर्गत बायोग्यास प्लान्ट तथा जैविक मल उत्पादन इकाइ स्थापना गरी वातावरणमैत्री उत्पादन प्रणाली विकास गरेको छ । यी पहलहरूले उत्पादन लागत नियन्त्रण, ऊर्जा बचत र पर्यावरण संरक्षणमा सकारात्मक प्रभाव पारेको छ ।

सफल व्यवस्थापन, पारदर्शी सहकारी प्रणाली र किसान–केन्द्रित कार्यशैलीका कारण कात्रज डेअरी क्षेत्रीय स्तरमा सहकारी उद्यमको उदाहरणीय नमुना बन्न सफल भएको छ । कृषि–आधारित अर्थतन्त्र सुदृढ गर्न यस संस्थाले खेलेको भूमिकालाई स्थानीय तहमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

Advertisment

थप समाचार