दोलखाको जलविद्युत र कालिन्चोक मन्दिरमाथि स्वार्थ समूहको सिन्डिकेट हावी भयोः सांसद सेञ्चुरी 

दोलखाको जलविद्युत र कालिन्चोक मन्दिरमाथि स्वार्थ समूहको सिन्डिकेट हावी भयोः सांसद सेञ्चुरी 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेञ्चुरीले बुधबार प्रतिनिधिसभा बैठकमा दोलखावासीको पीडा, उपेक्षा र विकासका अधुरा सपनाबारे सरकारको ध्यानाकर्षण गराएकी छन्। 

Sponsored Advertisement

उनले आफू आज सदनमा केवल शब्द लिएर नभई दोलखाका जनताको आँसु र थुनिएको चित्कार बोकेर उभिएको बताउँदै जिल्लाका दीर्घकालीन समस्यालाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गरिन्।

सांसद सेञ्चुरीले दोलखाको विकास सम्भावनालाई बेवास्ता गरिएको उल्लेख गर्दै खरिढुंगाको म्याग्नेसाइट उद्योग अलपत्र अवस्थामा रहेकोप्रति चिन्ता व्यक्त गरिन्। हजारौंलाई रोजगारी दिन सक्ने र देशको समृद्धिमा टेवा पुर्‍याउन सक्ने उक्त उद्योग आज एउटा कङ्कालजस्तै बनेर राज्यको उदासीनतालाई गिज्याइरहेको उनको भनाइ थियो।

त्यस्तै, जिल्लाका बहुमूल्य जलविद्युत आयोजनाहरू सीमित व्यक्तिको स्वार्थपूर्तिको माध्यम बनेको आरोप लगाउँदै उनले सार्वजनिक सम्पदा कालिञ्चोक भगवती मन्दिर माथि स्वार्थ समूहको सिण्डिकेट हावी भएको बताइन्। वर्षौंदेखि अलपत्र परेको तामाकोशी ब्रिज दोलखावासीका लागि अझै पनि घाउ बनेर रहेको उनको भनाइ थियो।

उनले दोलखाका यी समस्या अब पनि सम्बोधन नगरिए भोलिको पुस्ताले वर्तमान नेतृत्वलाई इतिहासको कठघरामा उभ्याउने चेतावनी दिँदै सरकारलाई दोलखाको चित्कारलाई फाइलमा सीमित नराखी कार्यान्वयनको मैदानमा उतार्न आग्रह गरिन्।

थप समाचार