काठमाडौं : पछिल्ला केही दिनयता सरकारले विभिन्न आर्थिक मुद्दाको अनुसन्धानका नाममा उद्योगी, व्यवसायी, निर्माण व्यवसायी तथा बैंकिङ क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूमाथि पक्राउ अभियान चलाएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले यस्तो प्रवृत्तिले मुलुकको व्यावसायिक तथा लगानी वातावरणमा नकारात्मक असर पार्ने चेतावनी दिएको छ। महासंघले जारी गरेको विज्ञप्तिमा निजी क्षेत्र र बैंकिङ क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै अनुसन्धानका नाममा नेतृत्वदायी व्यक्तिहरूलाई फौजदारी अभियुक्त सरह धरपकड गर्नुले समग्र व्यवसायिक वातावरणमा त्रास सिर्जना गरेको जनाएको छ।
यसले स्वदेशी तथा विदेशी लगानीकर्तामाझ नकारात्मक सन्देश प्रवाह भई लगानीको मनोबल कमजोर बन्न सक्ने महासंघको भनाइ छ। महासंघले विशेषगरी बैंकका प्रमुख कार्यकारी अधिकृतलाई कर्जा असुलीसम्बन्धी विषयमा पक्राउ गरिनु गम्भीर विषय भएको उल्लेख गरेको छ।
आम नागरिकको निक्षेपमा आधारित बैंकिङ प्रणालीमा यस्तो घटनाले बैंकिङ क्षेत्रको विश्वसनीयतामाथि असर पार्न सक्ने र कर्जा प्रवाहसम्बन्धी निर्णय प्रक्रियामा समेत संकुचन ल्याउन सक्ने महासंघले जनाएको छ। यसको प्रत्यक्ष असर लगानी प्रवाह र समग्र आर्थिक गतिविधिमा पर्ने चेतावनी विज्ञप्तिमा दिइएको छ।
महासंघले प्रारम्भिक अनुसन्धान पूरा नगरी उद्योगी–व्यवसायीलाई पक्राउ गर्ने तथा सार्वजनिक रूपमा ‘मिडिया ट्रायल’ गर्ने कार्यले सम्बन्धित व्यक्तिको प्रतिष्ठामा आँच पुग्ने बताएको छ। अनुसन्धान प्रक्रिया गोप्य र विधिसम्मत ढंगले अगाडि बढाउन तथा देवानी दायित्व सिर्जना हुने विषयलाई सोही प्रकृतिअनुसार छानबिन र अभियोजन गर्न सरकारसँग आग्रह गरिएको छ।
विज्ञप्तिमा नेपालको संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार तथा कसुर प्रमाणित नभएसम्म कसैलाई दोषी नमानिने संवैधानिक व्यवस्थाको स्मरण गराउँदै सरकारलाई संवेदनशील र जिम्मेवार बन्न आग्रह गरिएको छ।
महासंघले विगत चार वर्षदेखि शिथिल बनेको अर्थतन्त्रलाई पछिल्लो राजनीतिक स्थायित्व र व्यवसायमैत्री नीतिले गति दिने निजी क्षेत्रको अपेक्षा रहेको उल्लेख गर्दै यस्ता घटनाले लगानीकर्ताको आत्मविश्वास कमजोर नबनाउन सरकारलाई सचेत गराएको छ।
साथै, निजी क्षेत्रको मनोबल उकास्ने र लगानीमैत्री वातावरण निर्माण गर्ने दिशामा स्पष्ट पहल गर्न सरकारसँग अपिल गरेको छ।
Advertisment