काठमाडौं : नेपालमा विद्युतीय सवारीसाधन (इभी) को मोटर क्षमता सम्बन्धमा पछिल्लो समय विभिन्न माध्यममा भइरहेका टिप्पणी, बहस र व्याख्याप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नाईमाले एक विज्ञप्ति जारी गर्दै यस विषयमा स्पष्ट, व्यवहारिक र एकरूप प्राविधिक व्यवस्था आवश्यक रहेको बताएको छ। नाइमाले यसअघि अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँग भएको छलफलमा पनि इभी मोटर क्षमता परीक्षण, प्रमाणीकरण तथा प्राविधिक मूल्यांकनसम्बन्धी स्पष्ट मापदण्ड निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएको जनाएको छ।
नाइमाका अनुसार नेपालमा आयात हुने विद्युतीय सवारीसाधन अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादक कम्पनीहरूले जारी गरेका आधिकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरणका आधारमा भित्र्याइँदै आएका छन्।
विश्व अटोमोबाइल उद्योगमा एउटै मोडलका सवारी विभिन्न देशको नियामकीय संरचना र बजार आवश्यकताअनुसार फरक–फरक प्राविधिक स्पेसिफिकेशनमा उत्पादन हुनु सामान्य अभ्यास भएकाले केवल वेबसाइटमा देखिएका विवरण वा बाह्य सूचनाका आधारमा मोटर क्षमताबारे निष्कर्ष निकाल्नु प्राविधिक रूपमा विश्वसनीय नहुने नाइमाको भनाइ छ।
नाइमाले हाल नेपालमा इभी मोटर क्षमता परीक्षण तथा प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय प्राविधिक मापदण्ड, संस्थागत परीक्षण प्रणाली र एकीकृत कार्यविधि पूर्ण रूपमा कार्यान्वयनमा नआएकाले विभिन्न तहमा भ्रम र फरक–फरक व्याख्या उत्पन्न भइरहेको उल्लेख गरेको छ।
संघले इभी सवारीको प्राविधिक मूल्यांकन आधिकारिक उत्पादक कम्पनीबाट जारी प्रमाणित विवरण, अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त परीक्षण निकायका प्रमाणपत्र तथा स्थापित प्राविधिक मापदण्डका आधारमा गरिनुपर्नेमा जोड दिएको छ।
साथै सम्बन्धित सरकारी निकायबीच एकरूप व्याख्या र कार्यान्वयन सुनिश्चित गर्न परीक्षण पूर्वाधारसहितको स्पष्ट प्रमाणीकरण प्रणाली तत्काल विकास गर्न आग्रह गरेको छ।
नाइमाले विद्युतीय सवारी नेपालमा स्वच्छ ऊर्जा उपयोग, दिगो यातायात प्रणाली विकास र हरित अर्थतन्त्र प्रवर्द्धनको महत्वपूर्ण माध्यम बन्दै गएको उल्लेख गर्दै अपुष्ट सूचना वा असंगत व्याख्याले बजारमा अनावश्यक अन्योल सिर्जना गर्नुका साथै उपभोक्ता विश्वास, लगानीको वातावरण र इभी क्षेत्रको दीर्घकालीन विकासमा असर पार्न सक्ने चेतावनी दिएको छ।
संघले सरकार तथा सम्बन्धित निकायसँग समन्वय र सहकार्यलाई थप सुदृढ बनाउँदै स्पष्ट, पारदर्शी र व्यवहारिक प्राविधिक प्रणाली विकासका लागि रचनात्मक भूमिका निर्वाह गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ।
नाइमा नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको साझा मञ्च हो, जसले ‘सबैका लागि गतिशीलता’ अवधारणामार्फत आर्थिक वृद्धि, औद्योगिक विकास र समावेशी पहुँच विस्तारमा काम गर्दै आएको जनाएको छ।
Advertisment