काठमाडौं : नेपाल स्टक एक्सचेन्ज लिमिटेडले डेटा सुरक्षा तथा कारोबार प्रणाली सम्बन्धी निर्देशन उल्लंघन गरेको आशंकामा केही धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) माथि अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
नेप्सेद्वारा जारी पत्रअनुसार ब्रोकर नम्बर ५, ८, १८, २९, ४०, ४७, ५१ र ५५ लाई डेटा स्टोर, डेटाबेस व्यवस्थापन प्रणाली तथा क्लाइन्ट सूचना सुरक्षासम्बन्धी विवरण उपलब्ध गराउन निर्देशन दिइएको हो।
स्रोतका अनुसार ती ब्रोकर कम्पनीहरूले साझा डाटाबेस तथा प्रणाली प्रयोग गरेको आशंकामा नेप्सेले यस विषयलाई गम्भीर रूपमा लिँदै छानबिन अगाडि बढाएको हो। यस्तो गतिविधिले लगानीकर्ताको व्यक्तिगत विवरण, कारोबार सूचना तथा वित्तीय डेटा सुरक्षामा जोखिम उत्पन्न हुन सक्ने बताइएको छ।
नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ (तेस्रो संशोधन २०७९) अनुसार प्रत्येक कारोबार सदस्यले सुरक्षित डेटा स्टोर तथा छुट्टै कारोबार व्यवस्थापन प्रणाली अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने व्यवस्था रहेको स्पष्ट पारेको छ।
पूँजी बजार विज्ञहरूका अनुसार एउटै प्रणाली वा साझा डाटाबेस प्रयोग हुँदा क्लाइन्ट डेटा चुहावट, अनधिकृत पहुँच तथा साइबर सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुन सक्छ। यसले लगानीकर्ताको विश्वासमा प्रत्यक्ष असर पार्ने भएकाले नियामक निकायले कडा निगरानी र आवश्यक कारबाही गर्नुपर्ने माग समेत बढिरहेको छ।
स्रोतका अनुसार छानबिनबाट निर्देशन उल्लंघन पुष्टि भएमा सम्बन्धित ब्रोकर कम्पनीमाथि प्रचलित नियमअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।
अनुसन्धानको दायरामा रहेका ब्रोकर कम्पनीहरू
* Market Securities Exchange Company Pvt. Ltd.
* Brilliant Securities Pvt. Ltd.
* Sagarmatha securities pvt ltd
* Trishul Securities & Investment Limited
* Creative Securities Pvt. Ltd.
* Neev Securities Pvt. Ltd.
* Bhrikuti Stock Broking Company Pvt. Ltd.
* oxford securities pvt ltd
Advertisment