काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा प्रतिनिधिसभा अर्थसमितिका सभापति कृष्णहरि बुढाथोकीले रामेछाप जिल्लामा दूरसञ्चार, सडक, खानेपानी, सिंचाइ तथा कृषि क्षेत्रमा देखिएका समस्याप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बुढाथोकीले डिजिटल नेपालको अवधारणा अघि सारिएको भए पनि राजधानी काठमाडौंबाट करिब ६० किलोमिटर दूरीमा रहेको रामेछाप जिल्ला का अधिकांश स्थानमा अझै प्रभावकारी मोबाइल सेवा उपलब्ध हुन नसकेको बताए।
उनले जिल्लामा दूरसञ्चारका टावर स्थापना गरिए पनि गुणस्तरीय सिग्नल नपुग्दा स्थानीयवासी सञ्चार सेवाबाट वञ्चित हुनुपरेको उल्लेख गरे। ‘डिजिटल नेपालको कुरा गरिरहँदा काठमाडौंबाट केवल ६० किलोमिटर दूरीमा रहेको रामेछापमा आज पनि धेरै ठाउँमा मोबाइल नेटवर्क राम्रोसँग चल्दैन, टावर छन् तर सिग्नल छैन,’ उनले भने।
सांसद बुढाथोकीले जिल्लाको सडक पूर्वाधारको अवस्था पनि दयनीय रहेको बताए। गाउँसम्म सडक पुगे पनि ती सडक स्तरोन्नति नहुँदा यातायात सञ्चालन गर्न नसकिने अवस्था रहेको उनको भनाइ थियो।
उनले रामेछाप भएर चारवटा ठूला नदी बगे पनि गाउँबस्तीमा खानेपानीको चरम अभाव रहेको उल्लेख गर्दै सिंचाइ अभावका कारण किसानका खेतबारी बाँझिन थालेको बताए। ‘लाखौं घनमिटर पानी बगिरहेको छ, तर गाउँमा खानेपानी छैन, खेतमा सिंचाइ छैन,’ उनले बताए।
कृषि क्षेत्रमा किसानले भोगिरहेका समस्या उठाउँदै उनले मल वितरण प्रणालीमा अनियमितता रहेको आरोप लगाए। सरकारबाट किसानलाई उपलब्ध गराइने रासायनिक मल सहकारी संस्थामा पुगे पनि वास्तविक किसानले सहज रूपमा नपाउने र बजारबाट महँगो मूल्यमा खरिद गर्न बाध्य हुनुपर्ने अवस्था रहेको उनको भनाइ थियो।
त्यसैगरी, बाँदर आतंकका कारण किसान थप मारमा परेको उल्लेख गर्दै उनले कृषि उत्पादन जोगाउन प्रभावकारी व्यवस्थापन आवश्यक रहेको बताए।
सांसद बुढाथोकीले रामेछापमा गुणस्तरीय दूरसञ्चार सेवा विस्तार, स्वच्छ खानेपानी, भरपर्दो सिंचाइ सुविधा, सहज कृषि मल आपूर्ति तथा सडक पूर्वाधारको स्तरोन्नतिका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरे।
‘रामेछापका नागरिकले आधारभूत सेवाबाट वञ्चित हुनुपरेको अवस्था अन्त्य गर्न सरकारले विशेष प्राथमिकताका साथ काम गर्नुपर्छ,’ उनले संसद्मार्फत सरकारको विशेष ध्यानाकर्षण गराए।
Advertisment