मालपोत कार्यालय भैरहवाका नायव सुब्बा ओमबहादुर खाम्चाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत कार्यालय भैरहवाका नायव सुब्बा ओमबहादुर खाम्चाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नायव सुब्बा ओमबहादुर खाम्चाविरुद्ध घुसररिसवत लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

Sponsored Advertisement

आयोगका अनुसार जग्गाको नयाँ श्रेष्ता कायम तथा नामसारी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको कार्यालय बुटवलबाट खटिएको टोलीले खाम्चालाई सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा खाम्चाले जिर्ण श्रेष्ता कायम गरी अपुताली जग्गाको नामसारी तथा दाखा सम्बन्धी काम गरिदिएबापत सेवाग्राहीसँग घुस माग्दै मोलमोलाई गरी दुई लाख रुपैयाँ लिएको पुष्टि भएको आयोगले जनाएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुर ठहर हुने भन्दै आयोगले बिगो दुई लाख रुपैयाँ कायम गरी सोही ऐनबमोजिम कैद तथा बिगो बराबर जरिवानाको मागदाबी सहित आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

थप समाचार