सात महिनामा गोल्यान टावरको आम्दानी साढे छ करोड, भाडा अकुपेन्सी बढेपनि सुध्रिएन ऋणभार 

सात महिनामा गोल्यान टावरको आम्दानी साढे छ करोड, भाडा अकुपेन्सी बढेपनि सुध्रिएन ऋणभार 

काठमाडौं  : पुरानो बानेश्वरस्थित १३ तले व्यावसायिक भवन सञ्चालन गर्दै आएको गोल्यान टावर प्रालिले चालु आर्थिक वर्षको पहिलो सात महिनामा ६ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ। 

कम्पनीले आर्थिक वर्ष २०२५ मा कुल ११ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो। कम्पनीको सञ्चालन नाफा अनुपात अझै बलियो अवस्थामा रहे पनि यसमा केही गिरावट देखिएको छ। 

सन् २०२५ मा ७५.६ प्रतिशत रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षको सात महिनामा ६७.६ प्रतिशतमा झरेको छ। सञ्चालनबाट राम्रो नगद प्रवाह भए पनि ब्याज भुक्तानी गर्ने क्षमता मध्यम अवस्थामा रहेको रिपोर्टमा उल्लेख छ। कम्पनीको ब्याज तिर्ने क्षमता १.४ गुणा रहेको छ । 

कम्पनीको परियोजनामा करिब ६२ प्रतिशत ऋणभार रहेको छ। एक अर्ब २९ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको यो टावरको प्रति भाडायोग्य वर्गफुट लागत २२ हजार रुपैयाँभन्दा माथि पुगेको छ। 

कुल ५८ हजार ५१० वर्गफुट भाडायोग्य क्षेत्रफल रहेको भवनमध्ये हाल करिब ५६ प्रतिशत क्षेत्र उपयोगमा आएको छ, जुन अघिल्लो मूल्यांकन अवधिको ५१ प्रतिशतको तुलनामा सुधार हो। 

कम्पनीले सञ्चालन सुरु गरेको दुई वर्षपछि अकुपेन्सीमा आएको वृद्धिले नगद प्रवाह सुधार आएको रिपोर्टमा उल्लेख छ । यद्यपी यो टावरले भाडा अकुपेन्सीमा सुधार गर्दै आम्दानी बढाए पनि उच्च ऋणभारका कारण कम्पनीको वित्तीय दबाब भने अझै कायम रहेको छ।

हाल भवनको अधिकांश हिस्सा गोल्यान समूहकै भगिनी कम्पनीहरूले प्रयोग गरिरहेका छन्। करिब ३३ हजार वर्गफुट क्षेत्र पूर्ण रूपमा सञ्चालनमा रहेको छ भने थप ८ हजार वर्गफुट क्षेत्रमा फिनिसिङ तथा साजसज्जाको काम भइरहेको छ। 

बाँकी करिब १७ हजार ५०० वर्गफुट क्षेत्र बाह्य व्यावसायिक ग्राहकलाई लक्षित गरेर भाडामा उपलब्ध गराइएको छ। कम्पनीले फर्निस्ड क्षेत्रका लागि प्रतिवर्गफुट ३३४ रुपैयाँ तथा अनफर्निस्ड क्षेत्रका लागि १६५ रुपैयाँ भाडादर निर्धारण गरेको छ।

इक्रा नेपालले कम्पनीको दीर्घकालीन कर्जा सीमा ७९ करोड ९० लाख रुपैयाँमा ‘डबल बी माइनस’ तथा अल्पकालीन कर्जा सीमा २ करोड रुपैयाँमा ‘एफोर’ रेटिङ यथावत राखेको छ। 

सुरुमा वीस्टार होटल्सका रूपमा स्थापना भएको कम्पनीलाई पछि निजी लिमिटेड कम्पनीमा रूपान्तरण गरी गोल्यान टावर प्रालि नामकरण गरिएको हो। कम्पनीका अध्यक्ष शक्तिकुमार गोल्यान हुन् । 

कम्पनीको स्वामित्व गोल्यान परिवारका सदस्यहरूबीच बाँडिएको छ ।  जसमा कुमुद गोल्यानको ३४ प्रतिशत शेयर स्वामित्व रहेको छ भने कुमार गोल्यानको ३० प्रतिशत, सुरवी गोल्यानको २० प्रतिशत, बासुदेव गोल्यानको १५ प्रतिशत र पवन कुमार गोल्यानको १ प्रतिशत शेयर स्वामित्व रहेको छ ।  

थप समाचार