काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) का अध्यक्ष उद्धव सापकोटाले पछिल्लो समय सरकारले अध्यादेशमार्फत् सहकारी क्षेत्रलाई कस्दै लगेको बताएका छन्।
नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को आयोजना र बागमती प्रोस्कूनको संयोजनमा ‘सकारात्मक सञ्चारका लागि समाचार र विचार’ तालिम कार्यक्रमको अतिथिको रुपमा बोल्दै उनले अध्यादेशले संघहरुले गर्दै आएको वित्तीय कारोबारलाई ३ वर्षभित्र पूर्णरुपमा बन्द गर्नुपर्ने व्यवस्था प्रति उनले असहमति जनाए।
सहकारी स्वायत्त संस्था भएको र यसको मुल्य, मान्यतालाई मास्ने गरी सरकारले ऐनकानुन ल्याउन नहुने उनको भनाई छ । सहकारी ऐन २०७४ मा संघ र संस्थाको एउटै परिभाषा रहेको र संघहरुले बचत ऋणको कारोबार गर्न पाउने प्रष्ट व्यवस्था रहेको उनको दावी छ ।
तीन बर्ष भित्र कारोबार बन्द गर्नुपर्ने व्यवस्थाले संघहरुले गर्दै आएको ९० अर्ब भन्दा बढीको वित्तीय कारोबार जोखिममा पर्ने उनले बताए । मुलुकभर ३१७ संघहरु क्रियाशील रहेको र संघहरु बन्द हुँदा आर्थिक मन्दी आउन सक्ने उनको दावी छ । संघहरुले सदस्य संस्थाको क्षमता विकास, शुद्धिकरण, व्यवसायिकरण र ब्राण्डिङ कार्यक्रममार्फत् सबल बनाउँदै आएकाले मुलुकमा संघहरुको आवश्यकता रहेको उनको तर्क छ । अहिलेको आवश्यकता तालिम, शिक्षा, प्रविधि र एकीकरणको भएकोे र नीति विधिमा संस्थाहरुलाई अगाडि लैजान पनि संघहरुको वित्तीय कारोबारलाई रोक्न नहुने उनको भनाई छ । अध्यादेशका कतिपय व्यवस्थाले सहकारी अभियानलाई समस्यामा पारेको भन्दै त्यसलाई संशोधन गर्न आवश्यक रहेको उनको जिकिर छ ।
बागमती प्रोस्कून स्थापनाको इतिहास छोटो भए पनि सीजेएनमा आवद्ध सदस्यहरुको क्षमता विकास लागि शिक्षा तालिम जस्ता क्षेत्रमा सहकार्य गर्दै आएको उनले उल्लेख गरे । सीजेएनले सहकारी क्षेत्रको विकास, प्रवद्र्धन, शुद्धिकरण तथा अभियानलाई अगाडि बढाउन सरोकारवाला निकायसँग समन्वय गरेर विभिन्न कार्यक्रम गर्दै आएको उनले स्मरण गरे । पत्रकारिता मार्फत् सहकारीका विषयमा आम जनमानसलाई सुसूचित गर्न सीजेएनले खेलेको भूमिका सराहनीय रहेको उनले बताए ।
विश्वभर १ अर्ब मानिस सहकारीमा आवद्ध रहेको र सहकारीमार्फत् कतिपय विकसित देशले आर्थिक समृद्धि हासिल गरेको उनले बताए । विश्वमा ३० लाख भन्दा बढी सहकारी संस्था रहेको र सहकारीमार्फत् उद्यम, व्यवसायका साथै रोजगारी सिर्जनामा उल्लेख्य योगदान पुगेको अध्यक्ष सापकोटाले जानकारी दिए ।
मुलुकको संविधानले अर्थतन्त्रको तीन मध्ये एउटा खम्बाको रुपमा सहकारी लिएको भए पनि सहकारीले संविधानको मर्म अनुसार काम गर्न नसको उनले स्वीकार गरे । बागमती प्रोस्कूनले सदस्य संस्थाको क्षमता विकास र संस्थाहरुको ब्राण्डिङका लागि कोशिस कार्यक्रम सञ्चालन ल्याएको उनले बताए । बागमती प्रदेशका १ सय भन्दा बढी सहकारी संस्था कोशिस कार्यक्रममा आवद्ध रहेको र ती संस्थालाई गुणस्तरीय बनाउन संघ लागि परेको उनले बताए । स्तरीकरणमा आवद्ध सम्पूर्ण संस्थाहरुको संघले जिम्मा लिने समेत उनले जनाए ।
बागमतीको बचत ऋण अभियानलाई बलियो बनाउन संघ क्रियाशील रहेको भन्दै त्यसका लागि विभिन्न कार्यक्रम गर्दै आएको उनको भनाई छ । सहकारीको विश्व अभ्यास, मुल्यमान्यता र सिद्धान्तलाई राज्यले कमजोर बनाउनु आपत्तिजनक हुने उनको भनाई छ । प्रदेश कार्यक्षेत्र भए पनि बहस पैरवीका लागि संघीय सरकारसम्म पुगेको उनले जानकारी दिए।
कार्यक्रममा बागमती प्रोस्कूनका बरिष्ठ उपाध्यक्ष जिवसराज खड्काको उपस्थिति रहेको थियो भने, प्रोस्कूनका सीइओ केशव प्रसाद दाहाल र नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले प्रशिक्षण गरेका थिए । सीजेएनका अध्यक्ष अर्जुन खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न सञ्चारगृहमा आवद्ध २५ जनाको सहभागिता थियो।
Advertisment