काठमाडौं : निर्वाचन आयोग नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को आर्थिक खर्चसम्बन्धी विस्तृत विवरण सार्वजनिक गरेको छ। आयोगको जेठ ५ गते बसेको बैठकको निर्णयअनुसार निर्वाचन सम्पन्न भएपछिको समग्र खर्च विवरण सार्वजनिक गरिएको हो ।
आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार निर्वाचन सञ्चालन, व्यवस्थापन, समन्वय तथा मतपरिणाम व्यवस्थापनका लागि विनियोजित बजेटमध्ये ठूलो हिस्सा खर्च भएको देखिएको छ भने केही रकम बचत भएर सरकारलाई फिर्ता पठाइने भएको छ।
आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन सञ्चालनका लागि सुरुमा सात अर्ब ५१ करोड ५ लाख ५६ हजार रुपैयाँ बराबरको बजेट अनुमान गरिएको थियो। त्यसपछि अर्थ मन्त्रालयबाट करिब ६ अर्ब ७३ करोड ६६ लाख रुपैयाँ खर्चका लागि पूर्वसहमति प्राप्त भएको थियो।
सार्वजनिक विवरणअनुसार निर्वाचनका लागि चालु खर्चतर्फ करिब ४ अर्ब ६८ करोड रुपैयाँ तथा पुँजीगत खर्चतर्फ ५ करोड ६२ लाख रुपैयाँभन्दा बढी विनियोजन गरिएको थियो। हालसम्मको विवरणअनुसार कुल खर्च करिब ४ अर्ब ७४ करोड ३० लाख रुपैयाँभन्दा बढी पुगेको आयोगले जनाएको छ।
आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा सहभागी कुल एक करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातालाई आधार मान्दा प्रति मतदाता औसत २ सय ६३ रुपैयाँ खर्च भएको देखिएको छ।
निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारहरूबाट संकलित धरौटीमार्फत सरकारलाई करिब ३ करोड ५१ लाख रुपैयाँभन्दा बढी राजस्व प्राप्त भएको आयोगले जनाएको छ।
निर्वाचन सम्पन्न भइसकेपछि खर्च नभएको बाँकी बजेट आर्थिक कार्यविधिअनुसार नेपाल सरकारलाई ‘सरेन्डर’ गरिने आयोगले जनाएको छ। आयोगले बाँकी रहेको रकमको अन्तिम हिसाब–किताब सम्बन्धित निकायबाट संकलन भइरहेकाले थप परिमार्जन सम्भव रहेको पनि स्पष्ट पारेको छ।
Advertisment