काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले बैंकिङ प्रणालीमा थुप्रिएको पैसा उत्पादनमा र उद्यमशीलतामा परिचालन गर्न नसकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राणाले बैंकमा पैसा थुप्रिनु मात्रै समृद्धिको संकेत नभएको बताउँदै उक्त रकम उत्पादनमूलक क्षेत्रमा परिचालन भएपछि मात्रै अर्थतन्त्र चलायमान हुने धारणा राखेकी हुन् ।
राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा निक्षेप करिब ७८ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ। तर ब्याजदर न्यून हुँदा पनि १० खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम बैंकमै थुप्रिनु गम्भीर चिन्ताको विषय भएको उनले बताइन्।
सांसद राणाले चालु आर्थिक वर्षको नौ महिनामा कर्जाको वृद्धिदर केवल ५.७ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै देशमा ६ करोडभन्दा बढी बचत खाता भए पनि कर्जा खाता करिब २० लाख मात्रै रहेको तथ्यले उद्यम–व्यवसाय विस्तार तथा उत्पादनमा लगानी गर्न अझै सहज वातावरण बन्न नसकेको स्पष्ट पार्ने बताइन्।
त्यस्तै, कर्जा सूचना केन्द्रको तथ्यांकअनुसार १ लाख ६४ हजारभन्दा बढी व्यक्ति तथा संस्था कालोसूचीमा रहेको उल्लेख गर्दै उनले बजार शिथिलता र नगद प्रवाह संकटका कारण समस्यामा परेकालाई तत्काल दण्डित गर्नुको सट्टा पुनः उत्पादनमा फर्काउने नीति आवश्यक रहेको धारणा राखिन्।
सांसद राणाले अब धितोमा आधारित कर्जा प्रणालीबाट परियोजनामा आधारित कर्जा प्रणालीतर्फ जानुपर्नेमा जोड दिँदै खराब कर्जा वर्गीकरण तथा कालोसूची सम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्न सरकारसँग माग गरिन्। उनले अर्थतन्त्रलाई चलायमान बनाउन वित्तीय पहुँचलाई उत्पादनमुखी बनाउनुपर्ने आवश्यकता औंल्याइन्।
Advertisment