काठमाडौं : समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छन् । बुधबार कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना गरी ३ सय बढी बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका हुन् ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो ।
यसअघि समितिले कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ जना र पशुपति सहकारीका सात जना गरी ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो । समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको हो ।
यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने समितिले जनाएको छ । समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ ।
तीमध्ये अधिकांश साना बचतकर्ता छन् । पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । कूल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ ।
Advertisment