Below Menu
Below Menu

इभि गाडी र स्मार्टफोनमा जम्दै जगदम्बा मोटर्स, एकै वर्षमा साढे १२ अर्बको व्यापार

इभि गाडी र स्मार्टफोनमा जम्दै जगदम्बा मोटर्स, एकै वर्षमा साढे १२ अर्बको व्यापार

काठमाडौं : पछिल्ला वर्षहरुमा जगदम्बा मोटर्स प्रालिको व्यापार निरन्तर रुपमा बढ्दै गएको छ । कम्पनीले आर्थिक वर्ष २०२५ मा १२ अर्ब ५५ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । 

उक्त रकम अघिल्लो वर्षको तुलनामा ४३.१६ प्रतिशतले बढी हो । सन् २०२४ मा कम्पनीले ८ अर्ब ७७ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

यसअघि सन् २०२३ मा कम्पनीले ७ अर्ब ८१ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । चालु आर्थिक वर्षको छ महिनामै कम्पनीले ९ अर्ब ६ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरिसकेको छ । 

विशेषगरी दुईपांग्रे सवारीसाधनको बढ्दो माग, विद्युतीय सवारी क्षेत्रमा प्रवेश तथा नयाँ व्यवसायिक विस्तारका कारण कम्पनीको कारोबार निरन्तर उकालो लागेको हो ।

यद्यपी व्यापार बढेपनि कम्पनीको सञ्चालन नाफा मार्जिनमा भने गिरावट आएको छ । अघिल्लो दुई वर्षमा १० प्रतिशत रहेको कम्पनीको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा ७.०९ प्रतिशतमा झरेको छ । चालु आवको छ महिनामा ६.१० प्रतिशत कायम रहेको छ । 

निरन्तर लाभांश वितरण, कार्यशील पुँजीको बढ्दो दबाब तथा प्रतिस्पर्धात्मक बजारका कारण कम्पनीको नाफामा असर परेको प्रतिवेदनमा उल्लेख छ । 

कम्पनीको दीर्घकालीन बैंक सुविधा एक अर्ब ४९ करोड ३७ लाख रुपैयाँ तथा अल्पकालीन बैंक सुविधा ४ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ रहेको छ । कुल बैंकिङ सुविधा झण्डै ५ अर्ब ९७ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले पछिल्लो समय विद्युतीय चारपांग्रे सवारी र स्मार्टफोन व्यवसायमा समेत विस्तार गरेको छ । जगदम्बा मोटर्सले जिएमईभी, चेरी जस्ता विद्युतीय गाडी तथा जेडटीई  स्मार्टफोन वितरण सुरु गरेपछि आम्दानीका स्रोत थप विस्तार भएका छन् ।

कम्पनी नेपालमा टीभीएस मोटर्स कम्पनीका दुई तथा तीनपांग्रे सवारीको आधिकारिक वितरक हो । साथै प्रोटोन गाडीको समेत आधिकारिक प्रतिनिधित्व गर्दै आएको छ ।

जगदम्बा मोटर्स शंकर ग्रुपद्वारा सञ्चालित कम्पनी हो । शंकर समुह नेपालमा स्टिल, सिमेन्ट, पोलिमर, व्यापार, होटल तथा बीमा क्षेत्रमा सक्रिय स्थापित व्यापारिक समूहका रुपमा परिचित छ । कम्पनीका निर्देशक शाहिल अग्रवाल रहेका छन् । 

सन् २०१० मा एसजी ग्लोबल प्रालिका रूपमा स्थापना भएको कम्पनीलाई पछि जुन २८, २०१५ मा जगदम्बा मोटर्स प्रालि नामकरण गरिएको थियो । हाल कम्पनीसँग देशभर १३४ भन्दा बढी डिलर नेटवर्क रहेको छ । कम्पनीले बिक्रीसँगै स्पेयर पाट्र्स, सर्भिसिङ तथा एक्सेसरिज व्यवसाय पनि सञ्चालन गर्दै आएको छ ।
 

Advertisment

थप समाचार