काठमाडौं : राष्ट्रिय सहकारी बैंक लगायतका सहकारी संघ–संस्थाको सञ्चालक समितिको निर्वाचनमा राजनीतिक दलका तर्फबाट प्यानल बनाएर प्रतिस्पर्धा गरिएको विषयप्रति सहकारी विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विभागले बिहीबार एक सूचना जारी गर्दै सहकारीको आधारभूत मूल्य, मान्यता र सिद्धान्तविपरीत हुने गतिविधिले सहकारी ऐन, २०७४ को प्रस्तावना तथा कानुनी व्यवस्थामा प्रतिकूल असर पार्ने उल्लेख गरेको छ।
विभागका अनुसार दलगत आधारमा निर्वाचन प्रतिस्पर्धा हुँदा सहकारीका सदस्यबीच अस्वस्थ प्रतिस्पर्धा बढ्ने, सहकारी क्षेत्रमा सुशासन कायम गर्न कठिनाइ हुने तथा सहकारीको मर्मअनुसार सञ्चालन हुने वातावरण कमजोर बन्ने जोखिम रहेको छ।
सूचनामा यस्ता गतिविधिलाई निरुत्साहित गरी सहकारीको मर्मअनुसार सञ्चालन हुने वातावरण निर्माण गर्न तथा सहकारी क्षेत्रमा सुशासन कायम गर्न सम्बन्धित सबै पक्षलाई सहयोग गर्न आग्रह गरिएको छ।
सूचना अधिकारी सुचिता राईद्वारा जारी सूचनामा सहकारी संस्थाहरूलाई राजनीतिक प्रभावभन्दा माथि उठेर सहकारी सिद्धान्तअनुसार सञ्चालन गर्न आग्रह गरिएको छ। राष्ट्रिय सहकारी बैंकको चुनाव यही जेठ ९ गते हुँदैछ ।
Advertisment