काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले किसानहरूले उत्पादनको उचित भुक्तानी समयमै नपाउँदा कृषि क्षेत्र संकटमा परेको बताउँदै सरकारले १५ दिनभित्र अनिवार्य रूपमा किसानको भुक्तानी फर्स्यौट गर्ने व्यवस्था गर्न माग गरेकी छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले किसानको पसिनाको मूल्य समयमै नदिइँदा उनीहरू आर्थिक रूपमा मारमा परेको उल्लेख गरिन्। सर्लाहीका दूध उत्पादक किसानहरूको मात्रै १७ करोड रुपैयाँभन्दा बढी भुक्तानी बाँकी रहेको उल्लेख गर्दै उनले यो समस्या एउटा जिल्लामा सीमित नभई देशभरका उखु, दूध, धानलगायतका उत्पादक किसानहरूको साझा पीडा बनेको बताइन्।
उनले किसानले महिनौँ र वर्षौँसम्म आफ्नो मेहनतको रकम नपाउँदा पशुचौपायाको दाना किन्नदेखि छोराछोरीको विद्यालय शुल्क तिर्नसमेत कठिनाइ भोग्नुपरेको उल्लेख गरिन्। यस्तो अवस्थाले कृषि पेशाप्रति निराशा बढ्दै गएको र धेरै युवाहरू उर्वर जमिन बाँझै छोडेर वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान बाध्य भएको उनको भनाइ थियो।
सांसद अधिकारीले मुलुकलाई केवल खाद्यान्न उत्पादनमा मात्र नभई खाद्य आत्मनिर्भरतामा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउँदै किसानको हक सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने धारणा राखिन्। उनले किसानको उत्पादनको भुक्तानी १५ दिनभित्र अनिवार्य रूपमा उपलब्ध गराउने कानुनी ग्यारेन्टी गर्न सरकारसँग माग गरिन्।
Advertisment