Below Menu
Below Menu

कर तिर्ने पुस्ता सडकमै सिद्धिँदैछ, सडक दुर्घटनालाई ‘राष्ट्रिय जनस्वास्थ्य संकट’ घोषणा गरियोस्ः सांसद कार्की

कर तिर्ने पुस्ता सडकमै सिद्धिँदैछ, सडक दुर्घटनालाई ‘राष्ट्रिय जनस्वास्थ्य संकट’ घोषणा गरियोस्ः सांसद कार्की

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.तोसिमा कार्कीले सडक दुर्घटनाले नेपालले वर्षेनि कुल गार्हस्थ उत्पादन (जीडीपी) को ३ प्रतिशत क्षतिसम्म आर्थिक क्षति व्यहोर्नुपरेको बताएकी छन्।

प्रतिनिधिसभामा बोल्दै उनले सदस्य सडक दुर्घटनालाई राष्ट्रिय जनस्वास्थ्य संकट घोषणा गर्न माग गरेकी छिन् । उनले सडक दुर्घटनाले केवल मानवीय क्षति मात्र नभई राष्ट्रिय अर्थतन्त्र, उत्पादन क्षमता र श्रमशक्तिमाथि गम्भीर असर परेको उल्लेख गरिन्।

विश्व बैंक तथा अन्तर्राष्ट्रिय अध्ययनलाई उद्धृत गर्दै उनले सडक दुर्घटनाका कारण नेपालले हरेक वर्ष ठूलो आर्थिक क्षति बेहोर्नुपरेको बताइन्। पछिल्लो १० वर्षमा २४ हजार ९५ नेपालीले सडक दुर्घटनामा ज्यान गुमाइसकेका छन्, जुन कोभिड महामारीमा मृत्यु भएकाभन्दा दोब्बर बढी हो। 

दैनिक औसत ८ जनाको मृत्यु हुने गरेको उल्लेख गर्दै उनले अधिकांश पीडित १५ देखि ४९ वर्ष उमेर समूहका युवाहरू रहेको बताइन्। ‘यी देशको उत्पादन गर्ने हात र कर तिर्ने पुस्ता हुन्,’ उनले भनिन्, ‘एउटा परिवारको मुख्य कमाउने व्यक्ति गुम्दा पूरा परिवार गरिबीको चक्रमा फस्छ, राष्ट्रको उत्पादन क्षमता कमजोर हुन्छ।’

उनले भौतिक पूर्वाधार मन्त्रालयमा ८ वर्षदेखि ‘सडक सुरक्षा विधेयक’ अलपत्र रहेको तथा स्वास्थ्य मन्त्रालयले जारी गरेको ‘ट्रमा सेवा सञ्चालन निर्देशिका २०७७’ समेत कार्यान्वयन हुन नसकेको भन्दै सरकारको आलोचना गरिन्।

उनले भनिन्, ‘भौतिक पूर्वाधार मन्त्रालयको दराजमा ८ वर्षदेखि ‘सडक सुरक्षा विधेयक’ धुलो चाटेर बसेको छ। यो बीचमा मन्त्री फेरिए, सरकार फेरियो तर जनताको ज्यान जोगाउने कानुन फेरिएन। ३३ वर्ष पुरानो यातायात ऐनले आजको गतिको भार धान्न खोज्नु भनेको साइकलको ब्रेकले प्लेन रोक्न खोज्नु बराबर हो।’ 

साथै उनले स्वास्थ्य मन्त्रालयमा पनि ‘ट्रमा सेवा सञ्चालन निर्देशिका २०७७’जारी भएको ५ वर्ष भइसक्दा कार्यान्वयन सुरु नभएको भन्द्यै सरकारको ध्यानाकर्षण गरँ

सांसद कार्कीले दुर्घटनापछि उपचारको पहिलो एक घण्टा ‘गोल्डेन आवर’ भएकाले यस अवधिमा प्रभावकारी सेवा उपलब्ध गराउन सके मृत्युदर ५० प्रतिशतसम्म घटाउन सकिने दाबी गरिन्। 

त्यसका लागि प्रशिक्षित प्यारामेडिक्ससहितको एम्बुलेन्स सेवा, सातै प्रदेशमा ट्रमा सेन्टर स्थापना, राजमार्ग अस्पतालमा ट्रमा युनिट सञ्चालन तथा ‘ट्रमा फण्ड’ स्थापना गर्नुपर्नेमा उनले जोड दिइन्।

उनले सडक दुर्घटनालाई ’अघोषित महामारी’ को संज्ञा दिँदै अब फाइल थन्क्याउने नभई तत्काल राष्ट्रिय ट्रमा नीति निर्माण सुरु गर्न सरकारसँग आग्रह गरिन्।

Advertisment

थप समाचार