काठमाडौं : सांसद प्रेमलाल चौधरीले २०८२ भदौ २४ गते काँकडभिट्टा भन्सार क्षेत्रमा भएको आगलागीबाट जलेर नष्ट भएको चियाको बीमा भुक्तानी अझैसम्म प्रभावित व्यवसायीले नपाएको भन्दै बीमा कम्पनीहरूको उदासीनताप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बीमा दाबी भुक्तानीमा भइरहेको ढिलाइले किसान तथा व्यवसायी थप समस्यामा परेको बताए।
चियासँगै इस्कुस, बन्दा, अम्लिसो र अलैँचीजस्ता कृषि उपजले पनि निर्यात, गुणस्तर प्रमाणीकरण तथा बजार सुनिश्चितताको अभावमा कठिनाइ भोगिरहेको उल्लेख गर्दै सरकारले स्थायी नीति र प्रभावकारी व्यवस्थापन ल्याउनुपर्ने आवश्यकता औँल्याए।
संसदमा बोल्दै उनले इलामलाई ‘सूर्योदयको भूमि’ र ‘देशकै गौरव’ को संज्ञा दिँदै त्यहाँको अपार सम्भावना अझै राज्यको पर्याप्त ध्यानबाट वञ्चित रहेको बताए।
उत्कृष्ट चिया उत्पादन, पर्यटकीय आकर्षण र जलविद्युतको सम्भावना बोकेको जिल्ला भए पनि प्रभावकारी नेतृत्व र दीर्घकालीन योजनाको अभावले इलामका नागरिकले अपेक्षित लाभ पाउन नसकेको उनको भनाइ थियो।
नेपालबाट निर्यात हुने चियाको करिब ८० प्रतिशत हिस्सा इलामबाट जाने तथ्य प्रस्तुत गर्दै उनले देशभरका करिब ३८ हजार चिया कृषक, ६० हजार श्रमिक तथा वार्षिक ४ अर्ब ६९ करोड रुपैयाँको कारोबार गर्ने उद्योगी व्यवसायी वर्षौंदेखि समस्यामा रहेको बताए।
विशेष गरी चियाको अत्यधिक उत्पादन हुने समयमा भारतीय पक्षले ‘टि टेस्टिङ’ र ‘क्वालिटी एस्योरेन्स’का नाममा नेपाली चिया सीमामा रोक्दा अर्बौँ रुपैयाँ बराबरको चिया नष्ट गर्नुपर्ने अवस्था सिर्जना भएको उनले उल्लेख गरे। यसले किसानको पसिना, उद्योगीको लगानी र राज्यको राजस्वमा गम्भीर असर परेको उनको भनाइ थियो।
उनले विगतमा यस्ता समस्या आउँदा तत्कालीन प्रधानमन्त्रीहरूले प्रत्यक्ष संवादमार्फत समाधान खोज्ने प्रयास गरेको स्मरण गराउँदै वर्तमान सरकारले आर्थिक कूटनीति प्रयोग गरी स्थायी समाधान ल्याउनुपर्नेमा जोड दिए।
दुग्ध विकास संस्थानले २०८२ असोजदेखि किसानको दूधको भुक्तानी रोक्दा इलामसहित देशभरका किसान गम्भीर समस्यामा परेको विषय पनि उनले संसदमा उठाए। समयमै भुक्तानी नपाउँदा किसानहरू आर्थिक संकटमा फसेको भन्दै उनले किसानको पसिनाको मूल्य सुरक्षित गर्नु सरकारको दायित्व भएको बताए।
सांसद चौधरीले श्रीअन्तुको सूर्योदय, हरिया चियाबारी, सानीपाथीभरा, पाथीभरा देवी मन्दिर र बसन्तीय मौसमले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेको बताए। तर पर्यटन बोर्ड तथा सम्बन्धित मन्त्रालयबाट इलामको पर्यटन प्रवर्द्धनमा अपेक्षित प्राथमिकता नदिइएको भन्दै उनले असन्तुष्टि जनाए।
त्यस्तै, इलाममा १७–१८ वटा जलविद्युत आयोजना सञ्चालनमा रहे पनि स्थानीय नागरिक नै विद्युत आपूर्तिको समस्याबाट पीडित रहेको उनले बताए। जलविद्युत आयोजनामा स्थानीयका लागि छुट्याइएको शेयर वितरणमा अनियमितता भएको र धेरै नागरिक शेयरबाट वञ्चित भएको गुनासो व्यापक रूपमा आएको उनको भनाइ थियो।
साथै, जिल्लामा सुविधा सम्पन्न अस्पतालको अभाव रहेको उल्लेख गर्दै फिक्कलस्थित जिल्ला आयुर्वेद अस्पतालले सीमित पूर्वाधारका बाबजुद प्रभावकारी सेवा दिइरहेको बताए। उनले उक्त अस्पतालको स्तरोन्नति र स्वास्थ्य सेवाको विस्तारमा सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।
Advertisment