काठमाडौं : कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग विश्व बैंकका प्राक्टिस म्यानेजर फर एग्रिकल्चर एण्ड फुड ग्लोबल प्राक्टिस, साउथ एशिया थोमस रिकार्डो रोसाडा भिल्लामर लगायतका पदाधिकारीहरूले मन्त्रालयमा शिष्टाचार भेटघाट गरेका छन् ।
भेटका क्रममा कृषिको संस्थागत सुधार, भूमि तथा जलाधार व्यवस्थापन, पशुधन तथा पहाडी कृषि वस्तुको निर्यात प्रवर्द्धन, पशु रोग नियन्त्रण तथा कृषि क्षेत्रको डिजिटलाइजेशन सम्बन्धी विषयमा छलफल भयो ।
साथै, एनएलएसआईपी र आरईईडी परियोजनाको उपलब्धि तथा एफएएनएसईपी र रानी जमरा कुलरिया परियोजनाको प्रगतिबारे पनि छलफल भएको थियो । मन्त्री चौधरीले युवालाई कृषिमा आकर्षित गर्ने, रोजगारी सिर्जना, किसान सूचीकरण तथा कृषि क्षेत्रमा इनोभेसन प्रवर्द्धन गर्ने विषयमा विशेष जोड दिइन् ।
उनले विश्व बजार सुनिश्चित गर्न रोगमुक्त अवस्थाको आवश्यकता औंल्याउँदै मन्त्रालयबाट विश्व बैंकमा प्रेषित “एनिमल हेल्थ सिस्टम ट्रान्सफर्मेसन प्रोजेक्ट” बारे ध्यानाकर्षण गराइन् ।
साथै, एग्रि–कनेक्ट कार्यक्रम नेपालमा कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको थियो । विश्व बैंकले रासायनिक मल अध्ययन तथा एग्रि–कनेक्ट कार्यक्रममा सहयोग गर्न सकारात्मक प्रतिबद्धता जनाएको छ ।
Advertisment