काठमाडौं : राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालक पदका लागि निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सुरु भएको छ । बागमती प्रदेशमा विद्युतीय मेसिनमार्फत मतदान भइरहेको छ भने अन्य प्रदेशमा मतपत्र प्रयोग गरिएको छ ।
बागमती प्रदेश सञ्चालक पदका लागि परितोष पौड्याल र रामशरण शर्मा घिमिरेबीच प्रतिस्पर्धा भइरहेको छ । अन्य प्रदेशका सञ्चालक भने सर्वसम्मत चयन भएका छन् ।
राष्ट्रिय सहकारी बैंकमा मुलुकभरका १६ हजारभन्दा बढी सहकारी संघसंस्था आबद्ध रहेका छन् । बैंकको गत मंसिरमा सम्पन्न २२औँ वार्षिक साधारणसभामा ८ हजार ६८९ प्रतिनिधिको सहभागिता रहेको थियो । तिनै प्रतिनिधिले मतदानमार्फत बागमती प्रदेशको सञ्चालक चयन गर्नेछन् ।
प्रदेशगत रूपमा बैंकका प्रतिनिधिको संख्या हेर्दा बागमतीमा ३ हजार ४९७, कोशीमा १ हजार ३९४, मधेशमा १ हजार १७२, लुम्बिनीमा १ हजार ७८, गण्डकीमा ८४९, कर्णालीमा ४०२ तथा सुदूरपश्चिममा २९७ जना प्रतिनिधि रहेका छन् ।
Advertisment