बेइजिङ : चीनको ग्वाङ्झाउमा आयोजित ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर (जीआईटीएफ) २०२६ मा नेपालले ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ सम्मान प्राप्त गरेको छ । नेपालको प्राकृतिक सौन्दर्य, आध्यात्मिकता, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको आकर्षणको आधारमा नेपाललाई उक्त सम्मान प्रदान गरिएको हो ।
नेपाल पर्यटन बोर्डले २१ देखि २३ मे २०२६ सम्म आयोजित तीनदिने अन्तर्राष्ट्रिय पर्यटन मेलामा “नेपालः अ लाइफटाइम एक्सपेरियन्स” भन्ने नारासहित नेपालको सहभागिता समन्वय गरेको थियो । मेलामा नेपालले वेलनेस, सांस्कृतिक, धार्मिक, साहसिक, आउटडोर तथा लक्जरी पर्यटनका विविध सम्भावनाबारे अन्तर्राष्ट्रिय आगन्तुक तथा ट्राभल ट्रेड व्यवसायीलाई जानकारी गराएको थियो ।
चीनको ग्वाङ्झाउ सहर हङकङ तथा ग्रेटर बे एरिया नजिकको प्रमुख व्यापारिक तथा पर्यटन केन्द्र भएकाले नेपाली पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण बजारका रूपमा हेरिएको छ । विशेषगरी वेलनेस, धार्मिक, सांस्कृतिक र लक्जरी पर्यटनका क्षेत्रमा चिनियाँ पर्यटक आकर्षित गर्ने सम्भावना उच्च रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
मेलाको उद्घाटन दिन २१ मेमा नेपाली सांस्कृतिक नृत्य प्रस्तुति तथा ‘डेस्टिनेसन नेपाल’ सम्बन्धी विशेष प्रस्तुति आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नेपाली कला, संस्कृति र पर्यटन सम्पदाबारे चिनियाँ आगन्तुक तथा पर्यटन व्यवसायीलाई जानकारी गराइएको थियो ।
२२ मे मा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक विमल कँडेलले नेपालको पर्यटन सम्भावना, गन्तव्य र प्रवर्द्धन रणनीतिबारे ‘कन्ट्री प्रेजेन्टेसन’ दिएका थिए । उनले नेपालको पर्यटन बजार विस्तार रणनीतिबारे आयोजित प्यानल छलफलमा समेत सहभागिता जनाएका थिए । बोर्डका वरिष्ठ अधिकृत प्रदीप बस्नेतसहितको टोलीले मेलामा नेपालको प्रतिनिधित्व गरेको थियो ।
नेपालको स्टलमा ‘स्पिन एन्ड विन’ लक्की ड्र कार्यक्रम तथा वेलनेस पर्यटन प्रवर्द्धनअन्तर्गत नेपाली सिङ्गिङ बाउलको प्रदर्शन मुख्य आकर्षणका रूपमा रहेका थिए । मेलामा नेपालका आठ पर्यटन व्यवसायी कम्पनी सहभागी भएका थिए । सहभागी कम्पनीहरूले ट्रेकिङ, भ्रमण, होटल तथा आतिथ्य सेवासम्बन्धी प्याकेजहरूबारे चिनियाँ तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीलाई जानकारी दिएका थिए ।
यसअघि नेपाल पर्यटन बोर्डले २० मे २०२६ मा ग्वाङ्झाउस्थित नेपाली महावाणिज्य दूतावाससँगको सहकार्यमा चीनको सेन्जेनमा आयोजित “नेपालः अ लाइफटाइम एक्सपेरियन्स” पर्यटन प्रवर्द्धन तथा बीटुबी नेटवर्किङ कार्यक्रममा पनि सहभागिता जनाएको हो ।
हाल नेपाल वायुसेवा निगम र चाइना साउदर्न एयरलाइन्सले काठमाडौं–ग्वाङ्झाउ सिधा उडान सञ्चालन गरिरहेका छन् । यसले नेपाल र चीनबीचको पर्यटन पहुँच विस्तार हुनुका साथै चिनियाँ पर्यटक आगमन बढाउन सहयोग पुग्ने बोर्डको विश्वास छ ।
Advertisment