काठमाडौं : विशाल ग्रुपअन्तर्गत सञ्चालित पेय पदार्थ उत्पादक कम्पनी ‘साउथ एसियन वेभरेज’ को व्यापार पछिल्ला तीन वर्षयता निरन्तर बढ्दो क्रममा देखिए पनि कम्पनीको वित्तीय अवस्था भने अझै कमजोर रहेको पाइएको छ।
लगातार घाटा, बढ्दो ऋणभार र कमजोर तरलताका कारण कम्पनीले बैंक ऋणको साँवा–ब्याज भुक्तानीमा समेत दबाब सामना गरिरहेको छ।
आर्थिक वर्ष २०२५ मा कम्पनीले ‘फ्रुटी’ र ‘एप्पी’ जस्ता जुस तथा पेय पदार्थ बिक्रीबाट ४१ करोड ८० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २३.६६ प्रतिशतले बढी हो।
यसअघि आर्थिक वर्ष २०२४ मा कम्पनीको व्यापार ३३ करोड ८० लाख रुपैयाँ रहेको थियो भने आर्थिक वर्ष २०२३ मा ३१ करोड २० लाख रुपैयाँ मात्रै थियो। व्यापार विस्तार भइरहेको भए पनि कम्पनीले सञ्चालन स्तरमै नोक्सानी व्यहोर्दै आएको छ।
पछिल्लो रिपोर्टअनुसार आर्थिक वर्ष २०२४ मा कम्पनीको सञ्चालन नाफा मार्जिन ३७.६ प्रतिशत ऋणात्मक रहेको थियो भने आर्थिक वर्ष २०२५ मा पनि यो २५.३ प्रतिशत ऋणात्मक नै रहेको छ।
बजारमा अपेक्षाअनुसार उत्पादनको माग सिर्जना हुन नसक्नु, कच्चा पदार्थको मूल्य उच्च रहनु तथा सञ्चालन खर्च बढ्नुका कारण कम्पनीले निरन्तर घाटा व्यहोरिरहेको रिपोर्टमा उल्लेख गरिएको छ।
लगातारको नोक्सानीले कम्पनीको पूँजी संरचनामा पनि गम्भीर दबाब परेको छ। आर्थिक वर्ष २०२५ सम्म आइपुग्दा कम्पनीको कुल ऋण र खुद सम्पत्तिको अनुपात करिब पाँच गुणा पुगेको छ। त्यस्तै, कुल बाह्य दायित्व र खुद सम्पत्तिको अनुपात पनि ५.३ गुणासम्म पुगेको देखिएको छ।
कम्पनीको तरलता अवस्था पनि कमजोर देखिएको छ। आर्थिक वर्ष २०२५ मा नेट वर्किङ क्यापिटल सञ्चालन आम्दानीको करिब ६५ प्रतिशत पुगेको थियो, जुन अघिल्लो वर्ष ८४ प्रतिशत थियो।
चालु अनुपात पछिल्ला तीन वर्षमा क्रमशः ०.८, ०.९ र ०.७ गुणामा सीमित रहेको छ। सामान्यतया चालु अनुपात १ भन्दा कम हुनु कम्पनीको अल्पकालीन दायित्व भुक्तानी क्षमतामा दबाब रहेको मानिन्छ।
यही अवस्थालाई आधार मान्दै इक्रा नेपालले कम्पनीको दीर्घकालीन ऋणतर्फको रेटिङ घटाएर ‘बी माइनस’ मा झारेको छ। अल्पकालीन रेटिङ भने ‘एफोर’ स्तरमै यथावत राखिएको छ।
कम्पनीले कुल एक अर्ब ३३ करोड ५० लाख रुपैयाँ बराबरको बैंकिङ कर्जा सुविधाका लागि रेटिङ गराएको छ। यसमध्ये ७९ करोड २० लाख रुपैयाँ दीर्घकालीन कर्जा र ५४ करोड ३० लाख रुपैयाँ अल्पकालीन कर्जा रहेको छ।
सन् २०२१ मा स्थापना भएको कम्पनीले भारतको पार्ले एग्रोसँग फ्रेन्चाइज सम्झौता गरी नेपालमा ‘फ्रुटी’, ‘एप्पी’ लगायतका पेय पदार्थ उत्पादन तथा बिक्री गर्दै आएको छ। कम्पनीले सन् २०२५ अप्रिलदेखि ‘स्मुथ’ नामक दूधजन्य पेय पदार्थ पनि बजारमा ल्याएको जनाएको छ।
विशाल ग्रुपअन्तर्गत सञ्चालित कम्पनीको उद्योग पर्साको बिन्दवासिनी गाउँपालिकामा अवस्थित छ। कम्पनीको शेयर स्वामित्व अग्रवाल परिवारका सदस्यहरूसँग रहेको छ भने कम्पनीका अध्यक्ष विशाल अग्रवाल रहेका छन् ।
Advertisment