Below Menu
Below Menu

कर प्रणाली व्यवस्थित गर्न ‘इकोसिस्टम’ र अनिवार्य डिजिटल बिलिङ आवश्यकः कर विज्ञ खड्का

कर प्रणाली व्यवस्थित गर्न  ‘इकोसिस्टम’ र अनिवार्य डिजिटल बिलिङ आवश्यकः कर विज्ञ खड्का

काठमाडौं : बजेटको पूर्व सन्ध्यामा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्ना सदस्यहरूलाई ‘बजेट तथा कर’ र ‘सम्पत्ति शुद्धिकरण’ सम्बन्धी बिषयमा दुई छुट्टा–छुट्टै तालिम प्रदान गरेको छ । बजेट तथा करको बिषयमा कर विज्ञ रुप खड्का र सम्पत्ति शुद्धिकरणको बिषयमा बरिष्ठ पत्रकार श्रीधर खनालले तालिम दिएका हुन् ।

सरकारले आगामी जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्दैछ । त्यसको पूर्व सन्ध्यामा नाफिजले तालिम आयोजना गरेको हो ।

तालिमका अवसरमा कर विज्ञ रूप खड्काले सिद्धान्त बाहिर गई नेपालमा हजारौ शिर्षकमा अन्तःशुल्क लगाउने गरिएको बताए । अन्तःशुल्क प्रदुषण, मदिरा, सुर्तीजन्य वस्तुमा मात्रै लगाउनु पर्नेमा अन्धाधुन्ध लगाउने गरिएको उनको भनाइ छ ।

उनले पत्रकारमा करका अन्तर्राष्ट्रिय सैद्धान्तिक विषयमा जानकारी हुनुपर्ने बताए । पत्रकार करका सैद्धान्तिक रूपमा जानकार हुनुपर्ने बताउँदै करका दरमा गरिएको चलखेल बुझ्नु राम्रो हुने उनको भनाइ छ ।

खड्काले नेपालमा ९६ प्रतिशत राजश्व मुख्यतः पाँच शिर्षकबाट उठ्ने गरेको बताए । जसमा मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क, भन्सार महसुल, वस्तुगत कर लगायत छन् । भ्याट १३ प्रतिशत लाग्छ भने भन्सार र अन्तःशुल्कमा फरक फरक दर छन् । स्वदेशमा उत्पादन गर्ने वस्तुमा पनि मूल्य अभिवृद्धि कर र अन्तःशुल्क लाग्ने गर्छ ।

त्यस्तै, आयकर व्यक्तिले गरेको आम्दानीमा लाग्छ भने संस्थागत आयकर कम्पनीहरूको मुनाफा लाग्छ । व्यक्तिगत आयकर विवाहित र अविवाहित लागि फरक सिमा रहेको छ । पाँच लाख रूपैयाँ अविवाहित र विवाहितको लागि ६ लाख रूपैयाँसम्म एक प्रतिशत लाग्छ । त्यसमाथिको आम्दानीमा भने १०, २०, ३०, ३६, ३९ प्रतिशतसम्म आयकरमा कर लाग्ने गर्छ ।

विज्ञ खड्काले नेपालमा व्यक्तिगत आयकरको तल्लो र माथिल्लो सिमा परिवर्तन गर्न माग भएपनि छिमेकी देशहरूको दर हेरी सिमा निर्धारण गर्नुपर्ने बताए । नेपालका प्रतिस्पर्धी देशको तुलनामा यस्तो दर कम राख्नु उपयुक्त हुने उनको भनाइ छ । सार्क देशको तुलनामा नेपालमा आयकरको दर बढी भएकाले बजेटमा घटाउने विषयमा सोच्नुपर्ने उनको सुझाव छ ।

भन्सारबाट आयात हुने वस्तुमा शुरूमा भन्सार महसुल लाग्छ । भन्सार महसुलसहितको मुल्यमा अन्तःशुल्क लाग्छ । अन्तिममा मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ । धेरै देशले भन्सार महसुल कम लगाउने गरेका छन् । तर नेपालमा भन्सार दर बढी लिदाँ उपभोक्तालाई बढी भार पर्ने गरेको उनको भनाइ छ । भन्सारका दरको तह र संख्या घटाउनु उपयुक्त हुने उनको भनाइ छ ।

अन्तराष्ट्रिय भ्याट विज्ञको रूपमा परिचित खड्काले सिमित वस्तु बाहेक सबैमा मूल्य अभिवृद्धि कर लगाउन सकिने बताए । विश्वभर नै सबैभन्दा व्यवस्थित कर भ्याट रहेको उनको भनाइ छ । नेपालमा धेरै वस्तुमा शुरूमा भ्याट लगाएपनि अहिले स्वार्थ अनुसार छुट दिने गरेको उनको भनाइ छ ।

भ्याट वस्तु अनुसार फरक फरक नभई सबै वस्तुमा एउटै दर लगाउनु पर्ने बताए। विश्वका १८० देश मध्ये ४–५ वटा देशले मात्रै बहुदर लागू गरेको उनको भनाइ छ । उनले अर्थतन्त्र चलायमान बनाउन भ्याटको दर घटाउन सकिने बताए ।

सरकारले करको सुधारका लागि अनिवार्य बिल काट्ने प्रणाली लागू गर्नु पर्ने उनको भनाइ छ । विश्वका धेरै देशमा स–साना कारोबारमा पनि डिजिटल मेसिनबाट बिजक जारी हुने गरेको उनको भनाइ छ । सरकारले कर प्रणालीलाई व्यवस्थित गर्न इकोसिस्टम बनाउनेगरी ध्यान दिनुपर्ने उनको भनाइ छ ।

बरिष्ठ आर्थिक पत्रकार श्रीधर खनालले आर्थिक पत्रकारहरु सम्पत्ति शुद्धिकरणको बिषयमा चनाखो हुनुपर्ने बताए । नेपालको हकमा अहिले सम्पत्ति सुद्धिकरण जल्दोबल्दो बिषय भएको बताउँदै यस सम्बन्धी बिषयमा प्रभावकारी रिपोर्टिङ गर्नुपर्ने उनको भनाइ छ ।

नाफिजकी अध्यक्ष मेनुका कार्कीले नाफिजका सदस्यहरुको क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि तालिम कार्यक्रम गरिने बताइन् ।

Advertisment

थप समाचार