काठमाडौं : विराटनगरमा सञ्चालनमा आएको अन्तर्राष्ट्रिय स्तरको पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ निर्माण लागत १२ प्रतिशतले बढेको छ । विराटनगर-५ भृकुटी चोकमा निर्माण गरिएको यो होटल परियोजना सुरुमा एक अर्ब ५१ करोड रुपैयाँ लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।
तर, निर्माण ढिलाइ, लागत वृद्धि तथा अन्य व्यवस्थापकीय कारणले परियोजनाको कुल लागत करिब १२ प्रतिशतले बढेर अहिले एक अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।
परियोजना सञ्चालन गरिरहेको शुभ इन्टरनेशनल हस्पिटालिटी प्रालिले अतिरिक्त लागतको ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजीमार्फत व्यवस्थापन गर्ने योजना बनाएको भए पनि होटल पूर्ण रूपमा सञ्चालनमा नआउँदै बैंकहरूले ऋणको किस्ता असुल्न थालेपछि कम्पनीको नगद प्रवाहमा दबाब बढेको बताइएको छ।
जसकाण कम्पनीले साँवा तथा ब्याज भुक्तानीमा ३० दिनभन्दा बढी ढिलाइ गरेपछि कर्जा मूल्यांकन संस्था इक्रा नेपालले कम्पनीको दीर्घकालीन तथा अल्पकालीन दुवै कर्जा रेटिङ घटाएको छ।
विराटनगरको औद्योगिक तथा व्यापारिक केन्द्रलाई लक्षित गर्दै निर्माण गरिएको होटल भारतीय सीमावर्ती बजारका ग्राहकलाई समेत ध्यानमा राखेर अघि बढाइएको परियोजना हो।
होटलमा प्रस्तावित क्यासिनो सञ्चालनले भारतीय ग्राहक आकर्षित गर्ने अपेक्षा गरिएको छ। होटल व्यवस्थापनका लागि भारतीय होटल समूह लेमन ट्रि होटल्स लिमिटेडसँग सम्बद्ध कार्नेशन होटल्स प्रालिसँग सम्झौता भइसकेको छ।
‘लेमन ट्री प्रिमियर’ ब्रान्डअन्तर्गत सञ्चालनमा आएको यो होटल नेपालमा दोस्रो परियोजना हो। यसअघि काठमाडौं र चितवनमा ‘लेमन ट्री’का होटल सञ्चालनमा छन् भने तनहुँको बन्दीपुरमा अर्को परियोजना सञ्चालनको तयारीमा छ। विराटनगरमा भने यो पहिलो अन्तर्राष्ट्रिय सञ्जाल आबद्ध पाँचतारे होटल बनेको छ।
करिब सात कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको होटलमा ८० वटा सुविधा सम्पन्न कोठा छन्। तीमध्ये एक प्रेसिडेन्सियल स्वीट, आठ स्वीट, ६६ डिलक्स र पाँच सुपर डिलक्स कोठा रहेका छन्।
बेसमेन्टसहित आठ तले होटलमा करिब दुई हजार जना अट्ने पाँच हजार वर्गफिटको ब्यांक्वेट हल, रुफटप स्विमिङ पुल, स्पा, साउना बाथ, जिमहल तथा विभिन्न रेस्टुरेन्ट सञ्चालनमा आएका छन्। होटलमा ‘सिट्रस क्याफे’, ‘लाउन्ज बार’ र २४सै घण्टा सञ्चालन हुने ‘अल डे डाइनिङ’ सेवा रहेका छन् ।
यो होटल विराटनगरका युवा उद्यमी मनोजविक्रम शाह, विकास चौधरी, कविन श्रेष्ठ र प्रशान्त तातेडको संयुक्त लगानीमा निर्माण भएको हो। कम्पनीका अन्य प्रवर्द्धकहरूमा विनय चौधरी अग्रवाल र सीता देवी चौधरी अग्रवालसमेत रहेका छन्। होटलमा केही भारतीयबाहेक करिब ८० जना नेपालीले प्रत्यक्ष रोजगारी पाएका छन्।
Advertisment