ऋण लिनुअघि बैंकको बेस रेट र प्रिमियमबारे जानकारी लिन राष्ट्र बैंकको आग्रह 

ऋण लिनुअघि बैंकको बेस रेट र प्रिमियमबारे जानकारी लिन राष्ट्र बैंकको आग्रह 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट लिइने कर्जाको ब्याजदरबारे ग्राहकलाई सचेत रहन आग्रह गरेको छ ।

Sponsored Advertisement

वित्तीय सचेतनाका लागि सूचना जारी गर्दै केन्द्रीय बैंकले कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील दुवै प्रकारको हुन सक्ने उल्लेख गर्दै ग्राहकलाई कर्जा लिँदा सबै सर्त स्पष्ट रूपमा बुझ्न सुझाव दिएको हो ।

राष्ट्र बैंकका अनुसार स्थिर ब्याजदर भएको कर्जामा तोकिएको अवधिसम्म ब्याजदर परिवर्तन हुँदैन । तर परिवर्तनशील ब्याजदरमा भने बैंक तथा वित्तीय संस्थाको आधार दर (बेस रेट) मा आउने परिवर्तनअनुसार ब्याजदर घटबढ हुन सक्छ ।

जारी सूचनाअनुसार परिवर्तनशील ब्याजदरमा कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा निश्चित प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्ने गर्दछन् । यस्तो प्रिमियम ग्राहक तथा कर्जाको जोखिम मूल्यांकनका आधारमा तय गरिनुपर्ने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, एकपटक प्रिमियम दर निर्धारण गरी कर्जा स्वीकृत गरिसकेपछि उक्त दर मनपरी रूपमा बढाउन नपाइने स्पष्ट पारिएको छ । कुनै प्रकारको छुट वा डिस्काउन्ट दिएर पछि स्वतः वृद्धि हुने योजना लागू गर्नसमेत नपाइने राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकले परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकलाई कर्जा प्रस्तावपत्र लिँदाकै समयमा आधार दर र प्रिमियम दरबारे स्पष्ट जानकारी लिन आग्रह गरेको छ । 

साथै आधार दरमा आएको परिवर्तनका कारण ब्याजदरमा कति परिवर्तन भयो र त्यो कहिलेदेखि लागू भयो भन्ने विषयमा सम्बन्धित बैंक वा वित्तीय संस्थासँग जानकारी लिन पनि सुझाव दिएको छ ।


 

थप समाचार