काठमाडौं : श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईको पक्राउबारे सरकारसँग जवाफ माग गरेका छन्। मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सहकारी ठगीमा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरे।
उनले ‘जिबी राई कहिले पक्राउ हुन्छ सरकार ?’ भन्दै प्रत्यक्ष प्रश्न गरे। त्यस्तै उनले सहकारी पीडितले आफ्नो बचत फिर्ता पाउनुपर्नेमा जोड दिए । उनले भने, ‘सहकारी पीडितहरुले पैसा पाउनुपर्छ, त्यसमा जोडदारको साथ हामी माग गर्दछौं। तर जनताले तिरेको करबाट होइन, राज्यको कोषबाट होइन, यदि सरकारले के सहकारी, बैंक, अन्य व्यवसायहरुले चाहिँ डुबाएको पैसा सरकारले तिरिदिने नीति लिएको हो सरकार ?’
त्यससँगै उनले बाँदर व्यवस्थापन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने बताए। किसानका समस्या सामाजिक सञ्जालमा मात्र सीमित नभई व्यवहारमै समाधान हुनुपर्ने उनको भनाइ थियो।
राईले खोटाङ जिल्लामा अलपत्र अवस्थामा रहेका विभिन्न विकास आयोजनाप्रति पनि सरकारको ध्यानाकर्षण गराए। उनले खोटाङ–भोजपुर जोड्ने मध्यपहाडी लोकमार्ग, रसुवाघाट पुल, बंसेघाट पुल तथा हलेसी–जयराम सडक निर्माणको काम छिटो सम्पन्न गर्न माग गरे।
Advertisment