कन्काई ऊर्जा परियोजनामा अनियमितता भएको भन्दै सांसद ओलीद्वारा सरकार र अख्तियारको ध्यानाकर्षण

कन्काई ऊर्जा परियोजनामा अनियमितता भएको भन्दै सांसद ओलीद्वारा सरकार र अख्तियारको ध्यानाकर्षण

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुस्बु ओलिले झापाको कन्काई क्षेत्रमा सञ्चालन गरिएको नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन परियोजनामा व्यापक भ्रष्टाचार भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् 

Sponsored Advertisement

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले  कन्काई नगरपालिका–२ मा स्थापना गरिएको ‘कन्काई–विर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेड’ मा करोडौं लगानी भए पनि परियोजना पूर्ण रूपमा असफल बनेको बताइन् । 

उनका अनुसार कन्काई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाको आर्थिक सहभागितासहित विश्व बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको समेत सहयोगमा परियोजना सञ्चालन गरिएको थियो। साथै ७४५ जना उपभोक्ताले पनि लगानी गरेका थिए।

सांसद ओलीले करिब २१ करोड रुपैयाँ लगानी भइसकेपछि पनि परियोजनाले दिनको ४०० रुपैयाँ बराबरको बायोग्याससमेत उत्पादन गर्न नसकेको बताइन्। अहिले उक्त कम्पनी ‘कबाडीखाना’ मा परिणत भएको भन्दै उनले त्यहाँका मेसिनरी र सामग्रीसमेत चोरी भएको आरोप लगाइन्।

उक्त खोलाको किनारमा पर्याप्त सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) नगरी परियोजना निर्माण गरिएका कारण परियोजना प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उनको भनाई छ । 

संसद्मा बोल्दै उनले सरकारले तत्काल यस विषयमा गम्भीर अनुसन्धान गर्नुपर्ने माग गरिन्। साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउँदै परियोजनामा भएको भनिएको भ्रष्टाचारबारे निष्पक्ष छानबिन गर्न आग्रह गरिन्।

थप समाचार