तमिलनाडुमा किसानलाई राहत : सहकारी बैंकको ५० हजारसम्म बाली ऋण मिनाहा
काठमाडौं : भारत तमिलनाडुका मुख्यमन्त्री जोसेफ विजयले सीमान्त किसानहरूले सहकारी बैंकबाट लिएको ५० हजार रुपैयाँसम्मको बाली ऋण मिनाहा गर्ने घोषणा गरेका छन्।
मुख्यमन्त्री विजयले सोमबार यस्तो घोषणा गर्दै सहकारी बैंकबाट बाली ऋण लिएका ठूला किसानलाई पनि ५ हजार रुपैयाँ राहत दिइने बताएका हुन्। तमिलनाडु मुख्यमन्त्री कार्यालयले आफ्नो आधिकारिक एक्स ह्यान्डलमार्फत यसबारे जानकारी दिएको छ।
मुख्यमन्त्रीको अध्यक्षतामा सचिवालयमा बसेको समीक्षा बैठकपछि उक्त निर्णय सार्वजनिक गरिएको हो। बैठकमा कृषि तथा किसान कल्याण मन्त्री आर विनोथ, सहकारितामन्त्री वी गान्धीराज, वित्त मन्त्री एन मेरी विल्सन लगायत वरिष्ठ अधिकारी सहभागी थिए।
सरकारका अनुसार यस निर्णयबाट करिब १४ लाख २२ हजार किसान लाभान्वित हुनेछन्। ऋण मिनाहा तथा राहत कार्यक्रम कार्यान्वयन गर्दा सरकारलाई २ अर्ब ४४ करोड ४६ लाख रुपैयाँ बराबरको अतिरिक्त वित्तीय भार पर्ने बताइएको छ।
Advertisment