सुपर कृषकको एआई सेवा अब एन्ड्रोइड र आईओएस दुवैमा

सुपर कृषकको एआई सेवा अब एन्ड्रोइड र आईओएस दुवैमा

काठमाडौं : नेपालको डिजिटल कृषि क्षेत्रमा सक्रिय कम्पनी सुपर कृषकले आफ्नो मोबाइल एप अब एन्ड्रोइडसँगै आईओएस प्रयोगकर्ताका लागि पनि उपलब्ध गराएको छ। 

Sponsored Advertisement

कम्पनीले आईओएस संस्करण सार्वजनिक गरेसँगै अब कृषक तथा कृषि उद्यमीहरूले एपलाई एप्पल एप स्टोर र गुगल प्ले स्टोर दुवैबाट डाउनलोड गर्न सक्ने भएका छन्।

विगत तीन वर्षदेखि डिजिटल कृषि सेवा विस्तारमा सक्रिय सुपर कृषकले हालसम्म ४० हजारभन्दा बढी कृषक, कृषि उद्यमी तथा कृषि क्षेत्रमा रुचि राख्ने प्रयोगकर्तासम्म आफ्नो पहुँच विस्तार गरिसकेको जनाएको छ।

यसअघि केवल एन्ड्रोइड प्रयोगकर्तामाझ सीमित रहेको सेवा अब आईफोन प्रयोगकर्तासम्म पनि पुगेपछि कृषि सूचना तथा परामर्श सेवाको पहुँच अझ व्यापक हुने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार कृषक समुदायबाट प्राप्त सुझाव, डिजिटल सेवाप्रतिको बढ्दो माग तथा सबै प्रकारका स्मार्टफोन प्रयोगकर्तासम्म सहज पहुँच पुर्‍याउने उद्देश्यले आईओएस संस्करण सार्वजनिक गरिएको हो।

सुपर कृषकले आफ्नो एपलाई केवल सूचना दिने माध्यमका रूपमा नभई कृषकको “डिजिटल कृषि साथी” का रूपमा विकास गरेको जनाएको छ। एपमार्फत कृषकहरूले कृषि तालिम सामग्री, एआईमा आधारित बाली रोग तथा किराको पहिचान सेवा ‘कृषि डाक्टर’, व्यक्तिगत कृषि परामर्श, मौसम पूर्वानुमान तथा बजार मूल्यसम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन्।

कम्पनीले एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा सेवा उपलब्ध भएपछि अब मोबाइलको प्रकारकै कारण कुनै पनि कृषक डिजिटल कृषि सेवाबाट वञ्चित नहुने विश्वास व्यक्त गरेको छ। यसले देशका विभिन्न भूभागमा रहेका कृषकलाई आधुनिक कृषि प्रविधि, समयमै सूचना तथा व्यवहारिक परामर्शसँग जोड्न थप सहयोग पुग्ने कम्पनीको दाबी छ।

सुपर कृषकले “हरेक कृषकसम्म कृषि ज्ञान र हरेक खेतसम्म प्रविधि” पुर्‍याउने आफ्नो लक्ष्य आईओएस विस्तारसँगै अझ सशक्त बनेको जनाएको छ।

थप समाचार