एजेन्सी : भारतको प्रमुख निजी एयरलाइन्स एयर इन्डियाले बढ्दो इन्धन मूल्य र सञ्चालन लागतका कारण आगामी जुनदेखि अगस्ट २०२६ सम्म प्रति हप्ता करिब ८०० घरेलु उडान कटौती गर्ने निर्णय गरेको छ।
टाटा समूहअन्तर्गत सञ्चालित एयर इन्डियाले हाल साप्ताहिक करिब ४ हजार ४०० उडान सञ्चालन गर्दै आएको छ । जसमा ३ हजार ६०० घरेलु र ८०० अन्तर्राष्ट्रिय उडान रहेका छन्। कम्पनीले घरेलु उडानमा करिब २२ प्रतिशतसम्म कटौती गर्ने जनाएको छ।
यस्तै, भारतकै सबैभन्दा ठूलो एयरलाइन्स इन्डिगोले पनि घरेलु उडान संख्या ५ देखि ७ प्रतिशतसम्म घटाउने तयारी गरेको बताइएको छ। बढ्दो सञ्चालन खर्चका कारण दुवै कम्पनी दबाबमा परेका हुन्।
एयरलाइन्सहरूले इन्धन मूल्यमा भएको तीव्र वृद्धिलाई उडान कटौतीको मुख्य कारण बताएका छन्। विशेषगरी फेब्रुअरी २८ मा इरानमा भएको आक्रमणपछि मध्यपूर्वमा चर्किएको तनावले अन्तर्राष्ट्रिय उड्डयन क्षेत्र प्रभावित बनेको छ।
इरानी हवाई क्षेत्र प्रयोग गर्न नसक्दा अन्तर्राष्ट्रिय मार्गहरू लम्बिएका छन् भने पाकिस्तानी हवाई क्षेत्रमा लगाइएको प्रतिबन्धले पनि सञ्चालन खर्च उल्लेख्य रूपमा बढाएको छ।
पहिले एयरलाइन्सको कुल सञ्चालन खर्चको करिब ४० प्रतिशत हिस्सा ओगट्ने इन्धन लागत अहिले बढेर ६० प्रतिशतसम्म पुगेको कम्पनीले जनाएको छ । जसका धेरै एयरलाइन्स आर्थिक दबाबमा परेका छन्।
सिरियमको तथ्यांकअनुसार भारतका चार प्रमुख एयरलाइन्सहरूको सञ्चालन गत वर्षको तुलनामा मार्च र अप्रिलमा ६ प्रतिशतले घटेको थियो। यस अवधिमा इन्डिगोको उडान संख्या ४.५ प्रतिशतले घट्दा एयर इन्डियाको ७.५ प्रतिशतले कमी आएको थियो।
एयर इन्डियाको बजेट एयरलाइन्स एयर इन्डिया एक्सप्रेसमा भने सबैभन्दा ठूलो गिरावट देखिएको छ । जहाँ उडान संख्या १७.१ प्रतिशतले घटेको थियो।
बढ्दो सञ्चालन खर्चसँगै एयरलाइन्सहरूले हवाई भाडा पनि बढाएका छन्। यसको असर यात्रु संख्यामा समेत देखिन थालेको छ। महँगो टिकट दरका कारण घरेलु हवाई यात्राको माग कमजोर बन्दै गएको जनाइएको छ ।
हाल भारतको घरेलु उड्डयन बजारमा इन्डिगो र एयर इन्डियाको संयुक्त बजार हिस्सा करिब ९० प्रतिशत रहेको छ। यसबीच अकासा एयरले सानो फ्लीट हुँदाहुँदै पनि तीव्र विस्तार गरिरहेको छ।
यसअघि पनि एयर इन्डियाले अन्तर्राष्ट्रिय उडानमा कटौती सुरु गरिसकेको थियो। कम्पनीले यस महिनाको सुरुमा दिल्ली–शिकागो र मुम्बई–न्यूयोर्कजस्ता व्यस्त अन्तर्राष्ट्रिय रुटसहित छ वटा रुटमा उडान रद्द गरेको थियो भने २३ अन्य अन्तर्राष्ट्रिय रुटमा उडान संख्या घटाएको जनाएको थियो।
Advertisment