काठमाडौं : नेपालसहित विश्वका विभिन्न मुलुकका पर्यटन व्यवसायी, नीति निर्माता र सरोकारवालाहरूको सहभागितामा भुटानमा पहिलोपटक आयोजना गरिएको ‘भुटान अन्तर्राष्ट्रिय ट्राभल मार्ट (बीआईटीएम)-२०२६’ ले नेपाल-भुटान पर्यटन सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
भुटानको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालयअन्तर्गतको पर्यटन विभाग र एसोसिएसन अफ भुटानिज टुर अपरेटर्स (एबीटीओ) को संयुक्त आयोजनामा थिम्फुमा सुरु भएको तीनदिने कार्यक्रमको उद्घाटन उद्योग, वाणिज्य तथा रोजगारीमन्त्री ल्योन्पो नामग्याल दोर्जीले गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री दोर्जीले बीआईटीएम केवल पर्यटन क्षेत्रको कार्यक्रम नभई भुटानको व्यापक आर्थिक तथा सामाजिक विकास यात्राको महत्वपूर्ण कोशेढुंगा भएको बताए । उनले पर्यटनमार्फत क्षेत्रीय सहकार्य र साझा समृद्धिको लक्ष्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै भुटान सरकारको पर्यटन विभागका निर्देशक डाम्छो रिन्जिनले बीआईटीएमलाई सामान्य व्यावसायिक कारोबारको मञ्चका रूपमा मात्र नभई अन्तर्राष्ट्रिय पर्यटन दूत निर्माण गर्ने अवसरका रूपमा लिइएको बताए ।
उनले दिगो पर्यटन विकासका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझेदारी अपरिहार्य रहेको उल्लेख गर्दै नेपालसहितका छिमेकी मुलुकसँग सहकार्य विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।
“हामी केवल व्यापारिक सम्झौताका लागि मात्र यहाँ भेला भएका होइनौं । हामी पर्यटनका असल दूत निर्माण गर्न चाहन्छौं । दिगो पर्यटनको भविष्य साझा सहकार्य, विश्वास र सामूहिक प्रयासबाट मात्र सम्भव छ,” निर्देशक रिन्जिनले भने ।
नेपालका पर्यटन व्यवसायी तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा भुटानले नेपाललाई आफ्नो महत्वपूर्ण पर्यटन साझेदारका रूपमा प्रस्तुत गरेको छ । जसमा नेपालसहित भारत, थाइल्यान्ड, सिंगापुर, चीन, संयुक्त अरब इमिरेट्स, बंगलादेश, जापान, जर्मनी, क्यानडा, स्पेनलगायत करिब १५ देशका २०० भन्दा बढी अन्तर्राष्ट्रिय खरिदकर्ता (बायर) सहभागी छन् ।
भुटानले उच्च मूल्य र न्यून संख्यामा पर्यटक भित्र्याउने आफ्नो दीर्घकालीन पर्यटन नीतिलाई अन्तर्राष्ट्रिय बजारमा थप सशक्त रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले बीआईटीएम आयोजना गरेको जनाएको छ । कार्यक्रममा ५० भन्दा बढी पर्यटन प्रदर्शक, होटल व्यवसायी, टुर अपरेटर, वायुसेवा कम्पनी तथा हेलिकप्टर सेवा प्रदायकहरू सहभागी छन् ।
बीआईटीएम–२०२६ मा भुटानले आफ्नो महत्वाकांक्षी ‘गेलेफु माइन्डफुलनेस सिटी’, वाङ्दुचोलिङ दरबार सङ्ग्रहालय, डिन्चेङगाङ पुनर्जननशील गाउँ तथा अन्तर्राष्ट्रिय रूपमा चर्चित ‘स्नोम्यान रेस’ जस्ता परियोजनाहरूलाई विशेष रूपमा प्रस्तुत गरेको छ । साथै, कम पर्यटक पुग्ने ११ वटा जोंगखाग (जिल्ला) का पर्यटन सम्भावनाहरूलाई पनि अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गरिएको छ ।
भुटान अन्तर्राष्ट्रिय ट्राभल मार्टलाई आगामी वर्षहरूमा नियमित वार्षिक कार्यक्रमका रूपमा विकास गरिने पनि आयोजकले जानकारी गराएको छ । यसले भुटानलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नुका साथै स्थानीय समुदाय र व्यवसायलाई प्रत्यक्ष आर्थिक लाभ पुर्याउने अपेक्षा गरिएको छ ।
नेपाली पर्यटन व्यवसायीका लागि समेत यो कार्यक्रम महत्वपूर्ण मानिएको छ । हिमाली पर्यटन, आध्यात्मिक यात्रा, साहसिक पर्यटन तथा दिगो पर्यटन व्यवस्थापनका क्षेत्रमा नेपाल र भुटानबीच अनुभव आदानप्रदान तथा संयुक्त प्रवर्द्धनका सम्भावनाहरू बढ्दै गएको विषयमा पनि नेपाली पर्यटन व्यवसायीले जानकारी गराएका छन् ।
Advertisment