भक्तपुर : भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको शिक्षा तथा संस्थागत विकास तालिम उपसमितिको आयोजनामा एकदिने ’उपसमितिका सदस्यहरूको क्षमता विकास तालिम’ सम्पन्न भएको छ ।
भक्तपुरको आदर्शस्थित क्लब बागमतीमा जेठ ३० गते आयोजित उक्त तालिममा सहकारी संस्थाहरूमा उपसमितिहरूको सक्रियता, भूमिका र उत्तरदायित्वबारे विस्तृत छलफल तथा प्रयोगात्मक सिकाई भएको छ ।
तालिमको समापन समारोहमा बोल्दै सहकारी नेतृत्वले हालै जारी अध्यादेशका प्रावधानहरू अव्यावहारिक रहेको र यसले सहकारी क्षेत्रमा बचत फिर्ताको चाप अझ बढाउने खतरा औंल्याएका छन् ।
संघका अध्यक्ष हरिकृष्ण बल्लले सहकारी संस्थाहरूलाई सक्रिय र सबल बनाउन उपसमितिहरू नै मुख्य रूपमा सक्रिय रहनुपर्ने बताए । उनले उपसमितिका सदस्यहरू सदैव नयाँ ज्ञान र सीप सिक्न जागरुक हुनुपर्नेमा जोड दिँदै तालिममा सिकेका विषयलाई व्यवहारमा उतार्न निर्देशन दिए ।
सहकारी संस्थाहरूले आफ्नै आवश्यकता अनुभूति गरेर संघ स्थापना गरेको स्मरण गराउँदै अध्यक्ष बल्लले हालै जारी सहकारी अध्यादेशले संघलाई तीन वर्षभित्र कारोबार बन्द गरी बचत फिर्ता गर्न दिएको आदेश व्यावहारिक नभएको टिप्पणी गरे । यस व्यवस्थाले बजारमा बचत फिर्ताको चाप झन् बढेर सहकारीमा थप समस्या सिर्जना हुने देखिएकाले अध्यादेश तत्काल संशोधन हुनुपर्ने उनको भनाइ थियो ।
संघका सचिव एवं उपसमिति संयोजक कान्छा भक्त घजुले संस्थालाई सही दिशामा लैजान उपसमितिको ठूलो भूमिका हुने भन्दै संस्था र सदस्यहरूलाई सबल एवं जागरुक बनाउनुपर्ने विचार राखे ।
तालिमका मुख्य प्रशिक्षक एवं नेफ्स्कूनका विभागीय प्रमुख बल्लभ तिमिल्सिनाले संस्थालाई अनुशासित बनाउन र सही मार्ग देखाउन उपसमितिको मुख्य भूमिका रहने प्रष्ट पारे । उनले तालिमका क्रममा उपसमितिको कार्यक्षेत्र र जिम्मेवारीबारे समूहगत रूपमा प्रयोगात्मक अभ्यास समेत गराएका थिए ।
संघका शिक्षा तथा संस्थागत विकास तालिम उपसमितिका सदस्य बालमुकुन्द उपाध्यायले व्यस्त समयका बाबजुद सहभागी भई सिकाईप्रति उत्सुकता देखाएकोमा सबैलाई धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा आयोजना हुने यस्ता कार्यक्रममा पनि सक्रियतापूर्वक सहभागी हुन आग्रह गरे ।
संघका उपसमिति सदस्य प्रकाश बास्तोलाले समापन समारोह सञ्चालन गरेको उक्त क्षमता विकास तालिममा संघमा आबद्ध सदस्य संस्थाका उपसमितिका सदस्यहरूमध्ये ३८ जनाको सक्रिय सहभागिता रहेको थियो ।
Advertisment