बागमती प्रदेशकाे बजेट : ६६ अर्ब ९३ करोड विनियोजन, पूर्वाधारलाई प्राथमिकता (पूर्णपाठ)

बागमती प्रदेशकाे  बजेट : ६६ अर्ब ९३ करोड विनियोजन, पूर्वाधारलाई प्राथमिकता (पूर्णपाठ)

मकवानपुर : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ (३४.३१ प्रतिशत) र पुँजीगत खर्चतर्फ ४३ अर्ब ९७ करोड १४ लाख रुपैयाँ (६५.६९ प्रतिशत) विनियोजन गरिएको जानकारी दिए।

Sponsored Advertisement

बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनतर्फ राजस्व बाँडफाँडबाट प्राप्त हुने राजस्व ३० अर्ब १५ करोड ६ लाख रुपैयाँ, अन्य आन्तरिक राजस्व स्रोतबाट ७ अर्ब ७३ करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको छ।

त्यस्तै, संघीय सरकारबाट प्राप्त हुने अनुदान बापत १५ अर्ब ३१ करोड ४८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने संचित कोष तथा विविध बचतमार्फत १२ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ जुटाइने बताइएको छ। बजेटको अपुग रकम अन्य संस्था तथा ऋण लगानी फिर्ताबाट ९६ करोड रुपैयाँ व्यवस्थापन हुने सरकारको अनुमान छ।

प्रदेश सरकारले आगामी वर्ष एकीकृत प्रादेशिक संरचना निर्माणलाई प्राथमिकतामा राख्दै ५६ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। यसअन्तर्गत प्रदेशसभा भवन, आवास तथा अन्य संरचना निर्माण गरिनेछ।

सरकारका अनुसार हेटौंडा उपमहानगरपालिका–१७ मा मुख्यमन्त्री कार्यालय तथा विभिन्न मन्त्रालय रहने प्रादेशिक संरचना निर्माणका लागि संघीय सरकारबाट जग्गा प्राप्तिको प्रक्रिया टुंग्याइसकिएको छ। प्रदेश राजधानी पूर्वाधार विशेष आयोजनामार्फत निर्माण कार्य अघि बढिरहेको जनाइएको छ।

यस्तै, बागमती प्रदेश सरकारले मुख्यमन्त्री विपन्न आवास कार्यक्रमलाई पनि निरन्तरता दिँदै प्रदेशभित्र बसोबास गर्ने अतिविपन्न परिवारलाई घर निर्माण गरिदिने घोषणा गरेको छ। उक्त कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री तामाङले जानकारी दिए।

थप समाचार