काठमाडौं : नेपालमा बजाज ब्रान्डका दुईपांग्रे तथा तीनपांग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले चालु आर्थिक वर्षको नौ महिनामै १६ अर्ब ४६ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ ।
उक्त रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४६.६२ प्रतिशतले बढी हो । सन् २०२५ को सोही अवधिमा ११ अर्ब २२ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
हंसराज हुलासचन्द एण्ड कम्पनीको व्यापार पछिल्ला केही वर्षदेखि निरन्तर उकालो लागिरहेको छ । सन् २०२३ मा १० अर्ब ७६ करोड ३० लाख रुपैयाँ रहेको कम्पनीको व्यापार सन् २०२४ मा केही घटेर कम्पनीले १० अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको थियो ।
त्यसपछि सन् २०२५ मा कम्पनीको व्यापार ५.०६ प्रतिशतले बढेर १५ अर्ब ६६ करोड ७० लाख रुपैयाँ पुगेको थियो । चालु आवको नौ महिनामै कम्पनीको व्यापार वार्षिक आधारमा करिब ४० प्रतिशतले बढेको हो ।
यद्यपी कम्पनीको कारोबार बढेपनि सञ्चालन नाफा मार्जिन निरन्तर घटिरहेको छ । चालु आवको नौ महिनामा कम्पनीको सञ्चालन नाफा मार्जिन ४.२ प्रतिशतमा झरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ५.७ प्रतिशत रहेको थियो ।
सन् २०२३ मा ६.३ प्रतिशत रहेको कम्पनीको सञ्चालन नाफा मार्जिन सन् २०२४ मा ५.७ प्रतिशत झरेको थियो भने सन् २०२५ मा ४.२ प्रतिशतमा झरेको थियो ।
व्यापार बढेसँगै बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटेका कारण कम्पनीको ब्याज तिर्ने क्षमता पनि उल्लेख्य रूपमा सुधारिएको छ । आर्थिक वर्ष २०२३ मा १.४ गुणा रहेको ब्याज कभरेज अनुपात आर्थिक वर्ष २०२५ मा २.३ गुणासम्म पुगेको थियो । चालु आवको यस अवधिमा ४ गुणामा कायम छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ३ गुणा रहेको थियो ।
आर्थिक वर्ष २०२४ मा कम्पनीले खुद नाफाको करिब १८७ प्रतिशत अन्तरिम लाभांश वितरण गरेको कम्पनीले आर्थिक वर्ष २०२५ मा करिब ७८ प्रतिशत बराबरको लाभांश वितरण गरेको थियो ।
कम्पनीको आम्दानीमा सबैभन्दा ठूलो हिस्सा पल्सरको रहेको छ । चालु आवको नौ महिनामा मात्रै कम्पनीको कुल आम्दानीको करिब ५९ प्रतिशत हिस्सा पल्सर मोटरसाइकलबाट आएको छ ।
सन् १९५९ मा स्थापना भएको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि (एचएचसी) नेपालमा बजाज ब्रान्डका दुईपाङ्ग्रे (मोटरसाइकल तथा स्कुटर) र तीनपाङ्ग्रे सवारीसाधनका साथै केटीएम र ट्रायम्फ ब्रान्डका मोटरसाइकल तथा सर्भो लुब्रिकेन्टको आधिकारिक वितरक हो ।
गोल्छा समूह अन्तर्गतको सञ्चालित हंसराज हुलासचन्द एण्ड कम्पनीमा गोल्छा परिवारका १९ सदस्यको शेयर स्वामित्व रहेको छ । कम्पनीका अध्यक्ष शेखर गोल्छाको ५३.८ प्रतिशत शेयर स्वामित्व रहेको छ । बाँकी शेयरधनीहरूको स्वामित्व हिस्सा ३.७५ प्रतिशत वा सोभन्दा कम रहेको छ ।
विराटनगरमा केन्द्रीय कार्यालय रहेको कम्पनीले देशभर ३०० भन्दा बढी बिक्री केन्द्र, अधिकृत सेवा केन्द्र तथा क्षेत्रीय डिलर नेटवर्कमार्फत आफ्ना उत्पादन तथा सेवाहरू उपलब्ध गराउँदै आएको छ ।
कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि ६ अर्ब २१ करोड ७० लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालिन कर्जाका लागि २८ करोड ७० लाख रुपैयाँ र अल्पकालिन कर्जाका लागि ५ अर्ब ९३ करोड रुपैयाँ बराबरको रेटिङ गराएको हो ।
Advertisment