Below Menu

अटोनोमस ड्राइभिङ नेपालमा अहिले सम्भव छैन, स्थानीय डेटा र पूर्वाधारमा लगानी बढाऔँ : सरोकारवाला

अटोनोमस ड्राइभिङ नेपालमा अहिले सम्भव छैन, स्थानीय डेटा र पूर्वाधारमा लगानी बढाऔँ : सरोकारवाला

काठमाडौं : नेपालमा अटोमोबाइल क्षेत्र तीव्र रूपमा विद्युतीय तथा डिजिटल प्रविधितर्फ अघि बढिरहेका बेला त्यसअनुसारको पूर्वाधार, डेटा व्यवस्थापन, अनुसन्धान, साइबर सुरक्षा र दक्ष जनशक्ति विकासमा भने नेपाल अझै पछाडि रहेको सरोकारवालाहरूले बताएका छन् ।

उनीहरूले अटोमोबाइलमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग बढ्दै गएसँगै नेपालले सवारीसाधनलाई केवल आयात र बिक्रीको वस्तुका रूपमा नभई डेटा, प्रविधि, अनुसन्धान र नवप्रवर्तनको क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् । 

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘एआई एण्ड अटोमोटिभ टेक्नोलोजीः ड्राइभिङ द फ्यूचर अफ मोबिलिटी’ संवादमा उद्योग, सरकार, अनुसन्धान तथा शैक्षिक क्षेत्रका प्रतिनिधिले अटोमोबाइलमा एआईको सम्भावनादेखि त्यसका लागि आवश्यक नीति, पूर्वाधार र जनशक्तिसम्मका विषयमा धारणा राखेका थिए ।

संवादमा वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सूर्यांश वैद्यले एआईको प्रयोग अटोमोबाइल क्षेत्रमा मात्र नभई ट्राफिक व्यवस्थापन, सवारी सुरक्षा र व्यवसाय सञ्चालनमा समेत गर्न सकिने बताए । उनका अनुसार सवारीसाधनमा जडित सेन्सर तथा अन्य उपकरणबाट प्राप्त तथ्यांकलाई विश्लेषण गरेर प्रयोगकर्तालाई थप सुरक्षित, सहज र प्रभावकारी सेवा दिन सकिन्छ ।

वैद्यले एआईको प्रयोगबाट सडकको अवस्था पहिचान गर्नेदेखि सवारी चलाउने शैली सुधार गर्नेसम्मका काम गर्न सकिने बताए । त्यस्तै, एआईलाई रुट प्लानिङमा प्रयोग गरेर सवारीको ब्याट्री सकिनुअघि नै उपयुक्त चार्जिङ स्टेसनको सुझाव दिन सकिने उनको भनाइ छ । मौसम तथा वर्षासम्बन्धी तथ्यांकलाई सवारीको प्रणालीसँग जोडेर सडकको अवस्थाअनुसार ट्र्याक्सन कन्ट्रोल मोड परिवर्तन गर्न सकिने सम्भावना पनि उनले औंल्याए । 

तर, नेपालमा स्वचालित सवारी अर्थात् अटोनोमस ड्राइभिङको प्रयोग तत्काल सहज नरहेको वैद्यको भनाइ छ । यस्तो प्रविधिका लागि आवश्यक प्रशिक्षण तथ्यांक प्रायः राम्रो सडक, स्पष्ट लेन र व्यवस्थित ट्राफिक भएको वातावरणबाट आउने गरेको भन्दै उनले नेपालका फरक सडक तथा ट्राफिक अवस्थाका लागि स्थानीय डेटा र अनुसन्धान आवश्यक रहेको बताए ।  

उनका अनुसार सवारीसाधनबाट संकलित तथ्यांकलाई सम्बन्धित सरकारी निकायसँग साझेदारी गर्न सके सडकको अवस्था, खाल्डाखुल्डी तथा अन्य पूर्वाधारसम्बन्धी समस्या पहिचान गर्न समेत सहयोग पुग्न सक्छ । भविष्यको मोबिलिटीको उद्देश्य नयाँ सवारीसाधन बिक्री गर्नु मात्रै नभई मानिसलाई सुरक्षित, सहज र प्रभावकारी रूपमा एक स्थानबाट अर्को स्थानमा पु¥याउने प्रणाली विकास गर्नु हुनुपर्ने उनले बताए । 

यस्तै, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका प्रमुख सल्लाहकार सञ्जय पौडेलले पनि आधुनिक अटोमोबाइल क्षेत्रमा डेटा व्यवस्थापन र सरकारी नियमनको आवश्यकता औंल्याए । नेपालमा विद्युतीय तथा प्रविधियुक्त सवारीसाधनको प्रयोग बढ्दै जाँदा सवारीसाधनबाट उत्पादन हुने डेटा, गुणस्तर परीक्षण, साइबर सुरक्षा र प्रविधिको नियमनमा सरकारको भूमिका थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ । 

कुनै वस्तु आयात गर्नुअघि र आयात भइसकेपछि त्यसको डेटा कसरी संकलन गर्ने, गुणस्तर कसरी मापन गर्ने र प्राप्त तथ्यांकलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा स्पष्ट प्रणाली आवश्यक रहेको उनले बताए । 

पौडेलले साइबर सुरक्षा र डेटा नेपालमै राख्ने सम्भावना तथा त्यसका लागि लाग्ने लागतबारे समेत नीतिगत रूपमा अध्ययन गर्नुपर्ने बताए। सवारीसाधनमा सफ्टवेयर, कनेक्टिभिटी, सेन्सर र डिजिटल प्रणालीको प्रयोग बढ्दै जाँदा सवारीसम्बन्धी डेटा पनि साइबर सुरक्षासँग जोडिने उनको भनाइ छ ।

उनले नेपालमा नयाँ इनोभेसन ल्याब स्थापना गर्ने विषयसँगै सरकारले कुन क्षेत्रमा कति समय र स्रोत लगानी गर्ने भन्ने प्राथमिकता निर्धारण गर्नुपर्ने बताए । सबै प्रविधिमा एकैपटक लगानी गर्नुभन्दा नेपालको आवश्यकता र आर्थिक सम्भावनाका आधारमा प्राथमिकता तोकेर अनुसन्धान अघि बढाउनुपर्ने उनको धारणा छ ।

यसैगरी अटोमोबाइल क्षेत्रमा नयाँ प्रविधि भित्रिए पनि त्यसअनुसारको जनशक्ति उत्पादनमा नेपाल कमजोर रहेको टेक्सस कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीका सूचना प्रविधि निर्देशक डा. सुमन थापलियाले बताए । उनका अनुसार नेपालमा विद्युतीय तथा अत्याधुनिक सवारीसाधनको प्रयोग बढिरहेको भए पनि त्यसअनुसार प्रविधि, अनुसन्धान र दक्ष जनशक्ति विकासमा पर्याप्त ध्यान पुगेको छैन । 

थापलियाका अनुसार नेपालका अधिकांश कलेज तथा विश्वविद्यालयमा अझै प्रोग्रामिङ, वेब डेभलपमेन्ट, डेटाबेस, नेटवर्किङ लगायतका परम्परागत विषयमा बढी जोड दिइन्छ । तर आधुनिक सवारीमा प्रयोग भइरहेका सेन्सर, स्वचालन, एआई तथा अन्य डिजिटल प्रणालीका लागि आवश्यक जनशक्ति उत्पादनमा ध्यान जानु पर्ने आवश्यक रहेको छ ।  

अब एआई, साइबर सुरक्षा, एम्बेडेड सिस्टम, रोबोटिक्स, एज कम्प्युटिङ, अटोमोटिभ सफ्टवेयर र डिजिटल फरेन्सिक जस्ता विषयलाई शिक्षामा प्राथमिकताका साथ समावेश गर्नुपर्ने उनले बताए । एउटा विषयका रूपमा एम्बेडेड सिस्टम पढेर मात्र भविष्यको आवश्यकता पूरा नहुने भन्दै उनले यसको उन्नत संस्करण, रोबोटिक्स, एज कम्प्युटिङ र अटोमोटिभ सफ्टवेयरसमेत विद्यार्थीले गहिराइमा अध्ययन गर्नुपर्ने उल्लख गरे । 

थापलियाले आफूले अवसर पाए वर्तमान पाठ्यक्रममा ६० प्रतिशत कोर एकेडेमिक्स, २० प्रतिशत इमर्जिङ टेक्नोलोजी र २० प्रतिशत इन्डस्ट्री एप्लिकेसन राख्ने अवधारणा प्रस्तुत गरे । यसबाट विद्यार्थीले आधारभूत ज्ञानसँगै नयाँ प्रविधिको अभ्यास र उद्योगको वास्तविक आवश्यकता बुझ्न सक्ने उनको भनाइ छ ।

साथै, नेपाल एप्लाइड म्याथमेटिक्स एण्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्चकी कार्यकारी निर्देशक सन्ध्या सिटौलाले एआईलाई रोजगारी खोस्ने प्रविधिका रूपमा मात्रै हेर्न नहुने बताइन् ।

उनका अनुसार एआईले काम गर्ने शैलीलाई सहज बनाउनुका साथै अनुसन्धान, विश्लेषण र नयाँ सम्भावना पहिचानमा समेत सहयोग पु¥याइरहेको छ । सरकारी तहमा पनि एआईको प्रयोग बढाउनुपर्ने उनको भनाइ छ ।

एआईसम्बन्धी बहसमा रोजगारी गुम्ने विषयलाई मात्रै प्राथमिकता दिइएको भन्दै उनले प्रविधिले कामलाई कसरी सरल र प्रभावकारी बनाइरहेको छ भन्ने विषयमा पनि बहस आवश्यक रहेको बताइन् । सिटौलाले नेपालमा अनुसन्धानको इकोसिस्टम निर्माण गर्न दीर्घकालीन लगानी आवश्यक रहेको बताइन्। आज अनुसन्धान गरेर भोलि नै परिणाम आउने अवस्था नहुने भन्दै अनुसन्धानलाई खर्च नभई दीर्घकालीन लगानीका रूपमा हेर्नुपर्ने उनको धारणा छ । 

उनका अनुसार डेटा सुरक्षा पनि प्रविधिको विकाससँगै महत्वपूर्ण विषय बनेको छ। डेटा सुरक्षित राख्न आवश्यक पूर्वाधारमा लगानी गर्दै नेपाल उपभोक्ताको भूमिकाबाट माथि उठेर प्रविधि र अनुसन्धानमा योगदान गर्ने मुलुकका रूपमा अघि बढ्नुपर्ने उनले बताइन् । 

सरकार, निजी क्षेत्र र अनुसन्धान संस्थाबीच सहकार्य आवश्यक रहेको बताउँदै उनले नेपालमा भएका अनुसन्धानलाई स्थानीय समस्या समाधानमा प्रयोग गर्नुपर्नेमा जोड दिइन् । स्थानीय डेटा प्रयोग गरेर कुनै क्षेत्रको समस्या समाधान गर्न सकिने भए त्यस्ता अनुसन्धानलाई व्यवहारमा लागू गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

यस्तै, नाइमा संवादमा व्यक्त विचारले नेपालको अटोमोबाइल क्षेत्र अब केवल सवारीसाधन आयात, बिक्री र सञ्चालनको विषयमा सीमित नरहेको देखाएको छ । एआई, सेन्सर, सफ्टवेयर, कनेक्टिभिटी, डेटा र स्वचालनले सवारीसाधनको स्वरूप परिवर्तन गरिरहेको अवस्थामा नेपालले पनि त्यसअनुसार आफ्नो नीति, शिक्षा, अनुसन्धान र पूर्वाधार परिवर्तन गर्नुपर्ने देखिन्छ ।

उद्योगले उत्पादन गर्ने डेटा सरकार र अनुसन्धान संस्थासँग सुरक्षित तथा उपयोगी ढंगले साझेदारी गर्ने व्यवस्था, स्थानीय सडक तथा ट्राफिक अवस्थालाई समेट्ने अनुसन्धान, साइबर सुरक्षा, गुणस्तर परीक्षणका आधुनिक उपकरण, एआई पूर्वाधार र प्रविधिमैत्री जनशक्ति विकासलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता संवादका वक्ताहरूले औंल्याएका छन् । 

 

 

थप समाचार