एजेन्सी : अमेरिकाको संघीय सरकारी ऋण पहिलोपटक ४० ट्रिलियन (अर्थात् ४०० खर्ब) अमेरिकी डलर नाघेको छ। अमेरिकी ट्रेजरी विभागका अनुसार अगस्ट १८ सम्म संघीय सरकारको कुल ऋण ४०.०५ ट्रिलियन डलर पुगेको हो।
एक दशकअघि सन् २०१६ मा करिब २० ट्रिलियन डलर रहेको अमेरिकी सरकारी ऋण अहिले दोब्बरभन्दा बढी भएको छ। अमेरिकी सरकारी ऋण पछिल्ला वर्षमा अपेक्षाभन्दा तीव्र गतिमा बढेको छ।
उच्च सरकारी खर्च, निरन्तर बजेट घाटा, कर कटौती तथा सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा बढ्दो खर्चसँगै ऋणको ब्याज भुक्तानीमा भएको वृद्धिले पनि ऋणको भार बढाएको छ।
डोनाल्ड ट्रम्प र जो बाइडेन प्रशासनका कार्यकालमा भएका विभिन्न खर्च तथा कोरोना महामारीका राहत कार्यक्रमले पनि सरकारी ऋण विस्तारमा योगदान गरेको बताइएको छ।
अमेरिकी काँग्रेसको बजेट कार्यालय (सीबीओ) ले सन् २०२३ मा सन् २०२८ को आर्थिक वर्षमा संघीय ऋण ४० ट्रिलियन डलर पुग्ने प्रक्षेपण गरेको थियो। तर पछिल्लो तथ्यांकअनुसार उक्त स्तर अनुमानभन्दा निकै अगावै पार भएको छ।
सीबीओका अनुसार सरकार अब ४१.१ ट्रिलियन डलरको ऋण सीमाको नजिक पुगेको छ। वर्तमान प्रवृत्ति कायम रहे सन् २०३६ सम्म अमेरिकी राष्ट्रिय ऋण करिब ६४ ट्रिलियन डलर पुग्न सक्ने अनुमान गरिएको छ।
सामाजिक सुरक्षा र स्वास्थ्य सेवाको खर्च बढ्दो
अमेरिकामा जनसंख्या वृद्ध हुँदै जाँदा सामाजिक सुरक्षा र मेडिकेयरजस्ता कार्यक्रममाथि सरकारी दायित्व बढिरहेको छ। दैनिक करिब १० हजार ‘बेबी बुमर’ पुस्ताका नागरिक अवकाशमा जाने क्रम बढ्दै गए पनि त्यही अनुपातमा श्रमशक्ति र करदाताको संख्या विस्तार हुन नसक्दा सरकारमाथिको दीर्घकालीन वित्तीय दबाब बढेको छ।
सन् २०१७ मा ट्रम्प प्रशासनले लागू गरेको ‘ट्याक्स कट्स एन्ड जब्स एक्ट’ तथा कोरोना महामारीका क्रममा ट्रम्प र बाइडेन प्रशासनले ल्याएका राहत प्याकेजले पनि सरकारी ऋण बढाउन योगदान गरेको बताइएको छ।
सरकारको आम्दानीभन्दा खर्च बढी हुँदा बजेट घाटासमेत बढिरहेको छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामा अमेरिकी बजेट घाटा १.८ ट्रिलियन डलर पुगेको छ। अमेरिकाको आर्थिक वर्ष सेप्टेम्बर ३० मा समाप्त हुन्छ।
ऋणको ब्याजमै १ ट्रिलियन डलरभन्दा बढी
सरकारी ऋणसँगै ब्याजदर उच्च हुँदा अमेरिकाको ऋण सेवा लागत पनि तीव्र रूपमा बढेको छ। कोरोना महामारीअघि लामो समयसम्म ब्याजदर न्यून रहेकाले सरकारले तुलनात्मक रूपमा सस्तो दरमा ऋण उठाउँदै आएको थियो। तर महामारीपछि बढेको मुद्रास्फीति नियन्त्रण गर्न फेडरल रिजर्भले ब्याजदर बढाएपछि सरकारी ऋणको लागतसमेत बढेको हो।
चालु आर्थिक वर्षमा अमेरिकी सरकारले संघीय ऋणको ब्याज तिर्न मात्रै १ ट्रिलियन डलरभन्दा बढी खर्च गर्ने अनुमान गरिएको छ। यो कुल संघीय बजेटको करिब १५.५ प्रतिशत बराबर हो। पछिल्ला पाँच वर्षमा अमेरिकी सरकारको ऋण ब्याज खर्च तीन गुणाभन्दा बढीले बढेको बताइएको छ।
ऋणको ब्याज भुक्तानी अब मेडिकेयर कार्यक्रमको खर्चसँग लगभग बराबर पुगेको छ। सामाजिक सुरक्षापछि संघीय सरकारको दोस्रो ठूलो खर्चका रूपमा ऋणको ब्याज भुक्तानी देखिन थालेको छ। अमेरिकाले ऋणको ब्याज तिर्न रक्षा बजेटमा भन्दा पनि बढी रकम खर्च गरिरहेको बताइएको छ।
बन्ड बजारमा पनि दबाब
बढ्दो ऋणको प्रभाव अमेरिकी सरकारी बन्ड बजारमा समेत देखिएको छ। अमेरिकी ३० वर्षे सरकारी बन्डको ब्याजदर मंगलबार ५.३४ प्रतिशत पुगेको थियो, जुन करिब दुई दशकयताकै उच्च स्तर हो। पछि अमेरिकी ट्रेजरीले दीर्घकालीन बन्ड बजारमा तरलता बढाउने उद्देश्यले बन्ड बायब्याक कार्यक्रम विस्तार गर्ने घोषणा गरेपछि दर केही घटेर ५.१८ प्रतिशतमा आएको थियो।
ट्रेजरीले सेप्टेम्बर ९ देखि नोभेम्बर ४ सम्म बन्ड बायब्याक कम्तीमा दोब्बर गर्दै २ अर्ब डलरबाट ४ अर्ब डलर पुर्याउने जनाएको छ। तर विशेषज्ञहरूका अनुसार अमेरिकी सरकारी ऋणको विशाल आकारलाई हेर्दा यस्तो बायब्याक कार्यक्रमले दीर्घकालीन ऋण समस्या समाधान गर्न पर्याप्त हुने छैन।
बढ्दो तेल मूल्य, मुद्रास्फीति जोखिम तथा विश्वभर सरकार र निजी क्षेत्रले ठूलो मात्रामा ऋण उठाइरहेकाले दीर्घकालीन अमेरिकी बन्डको ब्याजदरमाथि थप दबाब पर्न सक्ने अर्थशास्त्रीहरूको भनाइ छ।
अर्थतन्त्र र सर्वसाधारणमा असर
अमेरिकाको सरकारी ऋण कुल गार्हस्थ्य उत्पादनको तुलनामा पनि उच्च छ। अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अमेरिकी ऋण जीडीपीको करिब १२५।८ प्रतिशत बराबर छ। बेलायतमा यस्तो अनुपात १०३.६ प्रतिशत र चीनमा १०६.९ प्रतिशत रहेको छ भने जापानमा २०० प्रतिशतभन्दा माथि छ।
उच्च सरकारी बन्ड प्रतिफलले कम्पनी तथा उपभोक्ताका लागि ऋण महँगो बनाउन सक्छ। यसको असर घर कर्जा, गाडी कर्जा र क्रेडिट कार्डको ब्याजदरमा समेत पर्न सक्छ। हाल अमेरिकामा ३० वर्षे स्थिर आवास कर्जाको औसत ब्याजदर ६.६७ प्रतिशत रहेको छ, जुन सन् २०२३ मा देखिएको ७।७ प्रतिशतको औसतभन्दा भने कम हो।
फेडरल रिजर्भले समेत मुद्रास्फीतिबारे चिन्ता कायम रहेको जनाएको छ। पछिल्लो बैठकको विवरणअनुसार केही अधिकारीहरूले मुद्रास्फीति नियन्त्रणमा नआए ब्याजदर बढाउनुपर्ने हुन सक्ने बताएका छन्। फेडले हाल प्रमुख ब्याजदर ३.५० देखि ३.७५ प्रतिशतको दायरामा राखेको छ।
अर्थशास्त्रीहरूका अनुसार ४० ट्रिलियन डलरको ऋण आफैंमा तत्कालै आर्थिक संकटको संकेत नभए पनि ऋण र ब्याज खर्च यही गतिमा बढ्दै गएमा भविष्यमा वित्तीय बजार तथा सरकारी बजेटमाथि गम्भीर दबाब पर्न सक्छ।
ऋणको ब्याज तिर्न थप ऋण लिनुपर्ने अवस्था बढ्दै गएमा अमेरिकाले नयाँ क्षेत्रमा लगानी गर्नुभन्दा पुरानो ऋणको सेवा गर्न बढी स्रोत खर्च गर्नुपर्ने जोखिम छ। यसले अमेरिकी ऋण व्यवस्थापनको चुनौतीलाई आगामी वर्षहरूमा अझ गम्भीर बनाउन सक्ने देखिएको छ।