काठमाडौं : चारतारे स्तरको होटल मिस्टिक माउन्टेन प्रालिले सन् २०२५ मा ३२ करोड ८० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा घटेको छ ।
सन् २०२४ मा होटलले ३३ करोड रुपैयाँ आम्दानी गरेको थियो भने सन् २०२३ मा ३३ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । होटलको सञ्चालन आम्दानी पछिल्ला तीन वर्षदेखि लगभग स्थिर छ।
आम्दानीमा उल्लेख्य वृद्धि नहुँदा सञ्चालन नाफाको मार्जिनसमेत लगातार खुम्चिँदै गएको छ। सन् २०२३ मा करिब ४८ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन सन् २०२४ मा ३८.७ प्रतिशतमा झरेको थियो भने सन् २०२५ मा ३७.६ प्रतिशतमा झरेको छ।
कम्पनीको होटल व्यवसायमा प्रतिस्पर्धा बढ्दै जाँदा आम्दानी र नाफामाथि थप दबाब परेको मूल्यांकन गरिएको छ। सन् २०२६ मा होटलको औसत अकुपेन्सी करिब ६१ प्रतिशतमा झरेको छ । सन् २०२५ मा यो करिब ६९ प्रतिशत थियो।
अकुपेन्सी घटेसँगै उपलब्ध कोठाबाट प्राप्त हुने आम्दानी पनि सन् २०२६ मा करिब ८ प्रतिशतले घटेको छ। विश्वव्यापी द्वन्द्वका कारण पर्यटक आगमनमा परेको असर तथा होटलको बढ्दो प्रतिस्पर्धाका कारण अकुपेन्सी घटेको जनाइएको छ ।
यसबीच होटल मिस्टिक माउन्टेनले आफ्नो क्षमता विस्तारको परियोजना अघि बढाइरहेको छ। कम्पनीले थप ७२ वटा कोठा तथा अन्य सुविधाहरू निर्माण गरिरहेको छ। यसअघि ६६ वटा कोठा थप गर्ने योजना रहेकामा संशोधित योजनाअनुसार थप ७२ कोठा निर्माण गर्ने भएको हो।
परियोजनाको लागत पनि अघिल्लो मूल्यांकनको एक अर्ब ११ करोड रुपैयाँबाट बढेर करिब १ अर्ब ४१ करोड ८० लाख रुपैयाँ पुगेको छ। यसअनुसार परियोजनाको लागत करिब २८ प्रतिशतले बढेको छ।
लागत वृद्धिको प्रमुख कारण नयाँ जग्गा खरिद तथा पुरानो सञ्चालनरत भवन र नयाँ निर्माणाधीन ब्लकहरू जोड्ने करिडोरका लागि थप सुरक्षा पर्खाल निर्माण गर्नु रहेको कम्पनीले जनाएको छ।
परियोजनाको प्रतिकोठा लागतसमेत करिब १७ प्रतिशतले बढेर लगभग १ करोड ५० लाख रुपैयाँ पुगेको छ। यसअघि प्रतिकोठा लागत करिब १ करोड ३० लाख रुपैयाँ अनुमान गरिएको थियो।
क्षमता विस्तारको परियोजना करिब ७५ प्रतिशत ऋण र २५ प्रतिशत इक्विटीबाट गर्ने योजना छ। तर, लागत बढेको हिस्साका लागि आवश्यक थप ऋणको वित्तीय व्यवस्थापन अझै पूर्ण रूपमा नटुंगिएको कम्पनीले जनाएको छ । जसका कारण कम्पनीको आगामी तरलता व्यवस्थापनमा थप चुनौती देखिएको छ।
परियोजनाको ऋण भुक्तानीसम्बन्धी मोरेटोरियम अवधि पनि सन् २०२६ को मध्य अक्टोबरबाट समाप्त हुने भएकाले त्यसपछि ऋणको साँवा तथा ब्याज भुक्तानीको दबाब बढ्ने रिपोर्टमा उल्लेख छ । कम्पनीले संशोधित परियोजना लागतको करिब ३८ प्रतिशत बराबरको वित्तीय प्रगति हासिल गरेको छ।
निर्माणको सिभिल संरचनातर्फ उल्लेख्य प्रगति भए पनि मेकानिकल, इलेक्ट्रिकल तथा प्लम्बिङ काम प्रारम्भिक चरणमै रहेको र इन्टेरियर निर्माणका लागि ठेकेदारसमेत अन्तिम रूपमा तय भइनसकेको जनाएको छ।
कम्पनीको ऋणभार बढ्दै जाँदा रेटिङ पनि घट्दै गएको छ । सन् २०२५ मा कम्पनीको कुल ऋण र खुद सम्पत्तिको अनुपात २.५ गुणा पुगेको छ । जुन सन् २०२४ मा २.८ गुणा र सन् २०२३ मा ३.४ गुणा थियो।
यद्यपि अनुपातमा केही सुधार देखिए पनि नयाँ परियोजनाका लागि थप ऋण बढ्ने भएकाले आगामी अवधिमा कम्पनीको वित्तीय दबाब बढ्न सक्ने रिपोर्टले औम्ल्याएको छ । सन् २०२५ मा कम्पनीको ऋण सेवा क्षमता अनुपात १.६ गुणा रहेको थियो।
होटलका अध्यक्ष बालकृष्ण धोजु रहेका छन् । २०१३ मा स्थापना भएको मिस्टिक माउन्टेन २०१७ मा ३३ कोठासहित सञ्चालनमा आएको हो। अहिले होटलमा सुविधा सम्पन्न ७२ कोठा छन्। होटल राजधानी काठमाडौंबाट ३० किलोमिट दुरीमा नगरकोटको काभ्रेको मण्डन देउपुरमा छ।
होटल मिस्टिक माउन्टेन प्रालिले बैंकिङ कर्जा सुविधाका लागि ५६ करोड रुपैयाँ बराबरको रेटिङ गराएको छ । कम्पनीको दीर्घकालीन ऋण सीमा ५२ करोड ५० लाख रुपैयाँ र अल्पकालीन ऋण सीमा ३ करोड ५० लाख रुपैयाँ यथावत् राखिएको छ।