काठमाडौं : दृष्टिविहीन तथा न्यून दृष्टि भएका युवाहरूको वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित सेयर बजारसम्बन्धी दुईदिने कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ।
नेत्रहीन युवा सङ्घ नेपाल उपत्यका शाखाको आयोजनामा भएको उक्त कार्यक्रममा २१ जना दृष्टिसम्बन्धी अपाङ्गता भएका युवाहरूको सहभागिता थियो। सहभागीहरूले कार्यक्रममा सेयर बजारबारे आधारभूत ज्ञानका साथै प्राथमिक बजार र दोस्रो बजारबिचको फरक, तथा दोस्रो बजारमा लगानी गर्दा हुनसक्ने जोखिमलगायतका विषयमा जानकारी प्राप्त गरेका थिए। दुई दिनसम्म सञ्चालित सो कार्यक्रममा सहजकर्ता शिव अग्रवाल र कुशल न्यौपानेले सहभागीहरूका प्रश्नका आधारमा छलफलसमेत गराएका थिए।
नेत्रहीन युवा सङ्घ नेपाल उपत्यका शाखाका सचिव मदन रोकायले सेयर बजारमा लगानी गर्नु मात्र ठुलो कुरा नभई वित्तीय अनुशासन अपनाउनु झन् महत्त्वपूर्ण हुने कुरामा जोड दिए।
कार्यक्रमको समापन गर्दै नेत्रहीन युवा सङ्घका केन्द्रीय अध्यक्ष शङ्कर उपाध्यायले सहभागीहरूको आवश्यकतालाई मध्यनजर गर्दै आगामी दिनहरूमा पनि सेयर बजार तथा वित्तीय साक्षरतासम्बन्धी थप कार्यक्रमहरू आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले दृष्टिविहीन व्यक्तिहरूले खोजे र रोजेअनुरूप नेत्रहीन युवा सङ्घ निरन्तर काम गर्न प्रतिबद्ध रहेको कुरा समेत उल्लेख गरे।