काठमाडौं : नेपाल राष्ट्र बैंकले भोटेकोशी तथा बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित उद्यमी, व्यवसायी तथा ऋणीलाई बैंक तथा वित्तीय संस्थाको कर्जा किस्ता भुक्तानी गर्न थप समय दिने व्यवस्था गरेको छ।
राष्ट्र बैंकले प्रभावित ऋणीको अवस्था विश्लेषण गरी २०८३ असोज मसान्तमा भुक्तानी गर्नुपर्ने किस्ताको समय २०८३ पुस मसान्तसम्म थप गर्न सकिने व्यवस्था गरेको हो।
राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
नयाँ व्यवस्थाअनुसार भोटेकोशी तथा बुढीगण्डकी नदीको बाढीबाट प्रत्यक्ष प्रभावित उद्यम, परियोजना तथा व्यवसायका ऋणीले किस्ता भुक्तानीमा सहुलियत पाउन सक्नेछन्। त्यस्तै, रसुवा भन्सार नाकाबाट हुने कच्चा पदार्थ, अर्धतयारी तथा तयारी मालवस्तुको आयात वा निर्यातमा आधारित व्यवसाय र बाढीग्रस्त क्षेत्रमा प्रभावित अन्य ऋणी पनि यस व्यवस्थाको दायरामा पर्नेछन्।
राष्ट्र बैंकका अनुसार सम्बन्धित बैंक तथा वित्तीय संस्थाले ऋणीको बिक्री तथा आम्दानी, नगद प्रवाह, जगेडामा रहेको रकमलगायत वित्तीय अवस्था, आयात तथा निर्यातमा परेको असर र कर्जाको सदुपयोगिताको यथार्थपरक विश्लेषण गर्नुपर्नेछ।
उक्त विश्लेषणका आधारमा किस्ता भुक्तानी गर्न कठिनाइ भएका ऋणीको २०८३ असोज मसान्तमा भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याजको समयावधि २०८३ पुस मसान्तसम्म थप गर्न सकिनेछ।