सबैभन्दा बढी नाफा कमाउनेमा नबिल र थोरै नाफा कमाउनेमा कृषि विकास
काठमाडौं : चालु आर्थिक वर्षको १० महिनाको अवधिमा वाणिज्य बैंकहरूले ५७ अर्ब १६ करोड नाफा कमाएका छन् । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १७.३७ प्रतिशतले बढी हो। चैतसम्ममा बैंकहरूको नाफा ४८ अर्ब ७० करोड रुपैयाँ थियो । वैशाखमा मात्रै बैंकहरूको नाफा आठ अर्ब ४६ करोडले बढेको हो । चैतमा नाफा ०.२६ प्रतिशतले घटेको थियो । १० महिनामा बैंकहरूले पाँच खर्ब १० अर्ब आम्दानी गरेका छन् । जसमा ब्याज आम्दानी मात्रै चार खर्ब ६२ अर्ब पुगेको छ ।
यो अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ भने थोरै नाफा कृषि विकास बैंक रहेको छ । नविल बैंकले ६ अर्ब १२ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने कृषि विकास बैंकको नाफा १ अर्ब २२ करोड २६ लाख रुपैयाँ रहेको छ ।
दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले ५ अर्ब ३४ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने तेस्रो स्थानमा रहेको एनआईसी एसिया बैंकले ४ अर्ब ३९ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ८९ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । वैशाख महिनासम्ममा ८ वटा बैंकको नाफा २ अर्ब माथी रहेको छ । २ अर्ब भन्दा कम नाफा हुनेमा ८ वटा बैंक रहेका छन् ।
Advertisment