Below Menu
Below Menu

यसरी समाधान गर्न सकिन्छ सहकारीका समस्या

यसरी समाधान गर्न सकिन्छ सहकारीका समस्या

मुलुकको सहकारी अभियान भित्र बचत तथा ऋण सहकारी अभियान सबै हिसाबले उन्नत छ ।  स्थापना, विकास, कारोबारको आयातन तथा सदस्य र समुदायको रुपान्तरण आदि सबै दृष्टिकोणले  बचत तथा ऋण सहकारीहरु नै अंग्रपक्तिमा छन् । यो बढाइचढाइ होइन, यथार्थ हो । मेरो बुझाइ र अनुभवका आधारमा भन्नुपर्दा बचत तथा ऋण सहकारी समुदायका लागि शरिरको रक्त सञ्चार प्रणाली जस्तै हो यसले आफै केही गर्दैन तर शरिरका कुनै पनि अंग रक्त सञ्चार प्रणाली विना चल्न सक्दैन भने जस्तै बचत तथा ऋण सहकारी अभियान विना समुदायको सामान्य जीवन चल्न कठिन हुन्छ । नेपालमा सहकारीको स्थापना र विकास समुदाय हितलाई नै केन्द्रमा राखेर भएको पाइन्छ । हाल सम्म कुनै पनि दल वा सिद्धान्तले सहकारीको मर्मलाई स्वीकार नगरेको भन्ने छैन । सामान्य जनताको जिवनयापनका लागि तथा सहकार्यको वातावरण तयारीका लागि सहकारीको आवश्यकता हो । राजनीतिक र प्रशासनिक रुपमा जस्तो सुकै व्यवस्था भए पनि सहकारीको विकास व्यवस्थाले होइन अभियानको सोचमा अडेको विश्वासले गरेको छ । सरकार र अभियान को अघि को पछि होइन एक अर्काको पुरक कै रुपमा विकास भएको देख्न सकिन्छ  । सरकार र अभियानको समान धारणा भएका सवालहरुमा प्रभावकारी नीतिगत व्यवस्था र कार्यान्वयन पनि भएका प्रशस्त उदाहरण हामीसँग छन् ।

सहकारी राजनीति भन्दा पनि माथिको दर्शन हो भन्ने मेरो बुझाई हो । आदर्श व्यवहार र दर्शन नै सहकारी भएकोले यसमा राजनीतिक खिचातानीको प्रभाव पर्नु हुंदैन ।

सहकारी अभियान राजनीतिक दलहरु भन्दा दलहरुसँगको सम्बन्ध भजाएर व्यक्तिगत वा गुटगत फाइदाका लागि क्रियाशील व्यक्तिहरुका कारण बदनाम भएको छ । त्यस्ता व्यक्तिहरुले संस्था र पद दुबै दुरुपयोग गरेको पाइन्छ । यो प्रवृत्ति प्रारम्भिक संस्थादेखि संघहरुसम्म पाउन सकिन्छ । राजनीतिक दलहरु र दर्शन कुनै पनि नराम्रा छैनन । दल, दर्शन र सिद्धान्तमा खोट होइन, खोट त तिनलाई आफ्नो अनुकूल बनाउन खोज्ने अवसरवादीहरुमा हो । सहकारी राजनीति भन्दा पनि माथिको दर्शन हो भन्ने मेरो बुझाई हो । आदर्श व्यवहार र दर्शन नै सहकारी भएकोले यसमा राजनीतिक खिचातानीको प्रभाव पर्नु हुंदैन । बचत तथा ऋण सहकारीहरु समस्यामा परेको समयमा कुनै पनि दल बिशेष सहकारीहरुको संरक्षणमा खुलेर सहयोग गरेको र नीति सुधारमा लागेको देखिएन । पछिल्लो समय भागबण्डाको राजनीतिको अभ्यास सहकारी क्षेत्रमा पनि प्रबेश पाएको अनुभव अभियानको छ । सहकारीहरु प्रजातन्त्र सिक्ने थलो हो । सबैको समान सहभागिता र समान अवसरका साथै पारदर्शी विधि छोडेर स्वार्थ समुहको दवावमा अभियान पर्दा आजको समस्या जन्मिएको हो । समाजका सबै अवयवहरुसँग सहकारीको सम्बन्ध हुन्छ । वर्तमानमा देखिएको समस्या स्वार्थ समुहका कारण समुदायले गुमाएको विश्वासको उपज हो ।

बचत तथा ऋण सहकारी अभियान नितान्त सदस्यहरुको जीवनस्तर सुधारमा केन्द्रीत हुनु पर्दछ । समुदायको हितमा केन्द्रीत हुनु पर्दछ । सहकारी अयिभानकर्मीहरु अभियानमा खटेको आधारमा अभियानबाट आउने बिधिमा बाधा हुनु हुंदैन । अभियानकर्मी भएर अभियानको नेतृत्व होइन कुनै दल बिशेषको कार्यालयवाट सहकारी अभियानको नेतृत्व छनौट गर्ने प्रथाको समुल अन्त्यको आवश्यकता छ । यसले गर्दा दशकौं अभियानमा लागेका र निस्वार्थ खटेका अभियानकर्मीहरु उपर अन्याय भएको छ । यो प्रथा सुधारका लागि पनि सहकारी अभियानकर्मीहरु नै लाग्नु पर्ने आजको आवश्यकता हो । अभियान बाहिरवाट ‘तथास्तु’ पाएर आएका, अभियानमा पसिना नबगाएका तर अभियानवाट स्वार्थ सिद्ध गर्न खप्पिसहरुको पहिचान हामीले गर्न सक्नु पर्दछ र यसो गर्ने बेला अब आएको छ । अभियानबाट अनुमोदिन हुन दलको नाम जोड्ने प्रवृत्ति रहेसम्म बचत तथा ऋण सहकारी अभियान सुध्रन सक्दैन । यसो गर्नाले राज्यवाट उचित संरक्षण पाउन पनि सक्दैन र हामीले देखेको सहकारी मार्फत समाजवादको यात्रा पनि अघि बढ्दैन । त्यसैले राजनीतिको खोल ओडेर अभियानकर्मी नबनौं । बचत तथा ऋण सहकारी अभियान सबै दलका व्यक्तिहरु अटाउने र खुसी साथ सहकार्य गर्ने थलो बन्नु पर्दछ । बचत तथा ऋण सहकारीहरुको विकासका बाधक नबनौं यो समयको माग हो ।

सडक, सदन र समुदाय सबै स्थानमा बचत तथा ऋण सहकारीकर्मीहरु एकाकार हुन आवश्यक छ । यसबाट वर्तमानका सबै समस्याको समाधान निकाल्न सकिन्छ । 

सहकारी अभियानमा मैले बिताएको तीन दशकमा देखेको राजनीतिक फेरवदल र त्यसको अभियानमा प्रभाव अनि प्रभावकारिता वास्तवमा फरक खालको छ । जुन नेतृत्वमा राजनीति भन्दा व्यावसायिकताको सोच छ, त्यो नेतृत्व सञ्जाल व्यवस्थापन पनि उत्कृष्ट भएको छ । जुन नेतृन्वमा राजनीतिक सोच बढि र व्यावसायिक सोच कम छ त्यस्तो सहकारी सञ्जाल कमजोर भएको छ । राजनीतिक दल, सरोकारवालाहरु तथा समुदायलाई स्पष्ट थाहा छ बचत तथा ऋण सहकारीहरुको स्थापना, तिनीहरुको ध्येय, स्थापना तथा अभियानमा निरन्तर लाग्नेहरुको सपना भनेको समुदायको हित नै हो । राजनीतिक स्वार्थ समुहको कलुषित उद्देश्यमा योगदान कदापि झल्कदैन । बचत तथा ऋण सहकारीहरु हिजो आवश्यकता थिए, आज आवश्यक छन् र भोलि पनि अझैं धेरै आवश्यक हुनेछन् । आज विकास भएको राज्य भन्दा बलिया बहुराष्ट्रिय कम्पनी र तिनको दासको रुपमा रहनु परेको मानवतालाई साँच्चै सहकार्यको दिशाबोध गर्ने सहकारीले नै हो ।  सहकारिता बाँच्नु पर्दछ । आज खासगरी बचत तथा ऋण सहकारीकर्मीहरुको आर्तनाद कसैले सुनेको छैन यो बिडम्बना हो । सडक, सदन र समुदाय सबै स्थानमा बचत तथा ऋण सहकारीकर्मीहरु एकाकार हुन आवश्यक छ । यसबाट वर्तमानका सबै समस्याको समाधान निकाल्न सकिन्छ ।

बचत तथा ऋण सहकारीकर्मीहरुले अव वास्तवमा नै सहकारीकर्मी र राजनीतिक स्वार्थ समुह अलग गरेर अभियानले दीगोपनका लागि काम गर्नु पर्ने समय आएको छ । नेपालको साकोसहरुको स्थापना विकास र दीगोपन भनेकै समुदायका चुनौतीहरु सामना गर्न सक्षमता विकासको अवस्था हो । अभियानको नेतृत्वमा कुरा गर्ने होइन काम गर्न सक्षम व्यक्तिले गर्नुपर्दछ । कुराले चिउरा भिज्दैन । अग्लो मञ्चमा बसेर खादा माला लगाएर अभियानकर्मीहरुलाई नै गाली गर्ने प्रथा रोकिनु पर्दछ ।  अभियानको पसिनामा दोहन रोकिनु पर्दछ । अभियानको स्रोत अभियाको हितको लागि उपयोग गर्ने स्व नियन्त्रित अभ्यासवाट खारिएको अभियानकर्मीले आजको दिन कमजोर जस्तो देखिएको बचत तथा ऋण सहकारी अभियानको छवि उज्यालो बनाउन सक्दछ ।

अहिले सहकारी क्षेत्रले चाहेर, नचाहेर पनि छवि केही धुमिल भएको छ यसमा राजनीतिक स्वार्थ समुह कै हात छ । यसले केही सकस उत्पन्न भएको छ तर अभियानको तीन दशकको अभ्यासले यो कठिन क्षणको रुपमा भन्दा सुधारका अवसरहरु देख्न पाइएको छ । छोटो अबधिका बचत तथा ऋण सहकारी अभियानलाई आज भन्दा माथिको उचाइमा लैजान सकिन्छ । सदस्य र समुदायमा स्खलित विश्वास पुनस्थापित गर्न सकिन्छ । भविष्यमा सुरक्षित सबै अट्ने बचत तथा ऋण सहकारी अभियानको विकास गर्न सकिन्छ । सहकारी सिद्धान्त, मुल्य र मान्यता हिजो जसरी कार्यान्वयन भएको थियो त्यो भन्दा राम्रो गरी कार्यान्वयन गर्न सकिन्छ । बचत तथा ऋण सहकारी अभियान उठाउने जिम्मेवारी हाम्रो हो । यो सदस्य र समुदायको अभियान हो । हामीले बाटो विराएको भए देखाउने काम अभियानको हो अभियानले देखेको सपनामा योगदान गर्न अभियानकर्मीहरु समर्पित हुनु आवश्यक छ ।

अभियानको मुल नेतृन्व वाह्य प्रभाववाट टाढा हुन आवश्यक छ । अभियानको आवाज सन्नु भन्दा अगाबै वाह्य निर्देशनमा चल्ने नेतृन्वले अभियानको संरक्षण गर्न सक्दैन । बचत तथा ऋण सहकारी आज जहाँ छ जस्तो अवश्थामा छ, त्यसको जिम्मेवार हामी हौ । अभियानकर्मीहरुको संरक्षण र संस्थाको व्यवस्थापन हाम्रो जिम्मेवारी हो । अभियानलाई अभियानबाहेक कसैले बचाउन सक्दैन । अभियानको एक स्वर र एक चालका लागि वाह्य वा व्यक्तिगत स्वार्थवाट सबै माथि उठ्नुपर्छ ।  अभियानमा लाखौं निस्वार्थ त्यागीहरु छन् । यसैको बलमा सहकारी अभियान यति लामो इतिहास कायम गर्न सफल भएको हो । अब हामीले सोच्ने, योजना, बनाउने वा पर्खने समय छैन । काम गर्नु पर्नेछ त्यो पनि सहकार्यको जगमा । अभियानमा काम गर्ने र कुरा गर्नेलाई छुट्याउनुपर्ने छ । यो क्षमता बचत तथा ऋण सहकार अभियानले राख्ने विश्वास मेरो तीन दशकको  अनुभव र अभ्यासले दिलाएको छ ।

अभियान एक हुँदा जत्रै समस्या पनि सानो बन्छ । अभियान बलियो बन्दा समस्या कमजोर बन्छ । सरकालाई जिम्मेवार बनाउने पनि अभियाननै हो । तसर्थ समस्याको सर्वोत्तम समाधान ‘जिम्मेवार अभियान’ हो ।  

बचत तथा ऋण सहकारी अभियान र सरकार परिपुरक हुन् । अभियान कहाँ पुग्ने मार्गचित्र अभियानले नै कोर्नु पर्दछ । सरकारसँग हामीले सहयोग लिने हो वा सरकारसँग स्रोत व्यवस्थापनमा सहकार्य गर्ने हो । बचत तथा ऋण सहकारी अभियान समृद्धिको आधार हो व्यक्तिगत फाइदाको भ¥याङ हुनु हुँदैन । सडकमा ओर्लिन बाध्य सदस्यहरुको आर्तनाद सुनिनुपर्दछ । उनीहरुको बचत फिर्ताको वातावरण अभियान र सरकारको साझा दायित्व हो । यसमा विलम्ब असह्य अनि अस्विकार्य छ । अभियान र सरकारको प्रयत्न सदस्यहरुको पसिनाको मूल्य र महत्वमा तुषारापात हुन नदिनेतर्फ केन्द्रीत हुनुपर्दछ । अभियान एक हुँदा जत्रै समस्या पनि सानो बन्छ । अभियान बलियो बन्दा समस्या कमजोर बन्छ । सरकालाई जिम्मेवार बनाउने पनि अभियाननै हो । तसर्थ समस्याको सर्वोत्तम समाधान ‘जिम्मेवार अभियान’ हो ।

बचत तथा ऋण सहकारी अभियानकर्मीहरुले आफ्नो समस्या आफै हल गर्न सक्ने क्षमता र अधिकार राख्नु पर्दछ । यसबाट मात्र अभियान सुदृढीकरण अनि शुद्धीकरण सम्भब छ । नेतृत्वको असल पथप्रदर्शनले मात्र अभियानले थप उचाइ हासिल गर्दछ । समस्या देखि डराएर होइन मिलेर सामना गरौं अभियानमा असंख्या संस्था र संरचना मात्र नथपौं । यसबाट अभियान कै स्रोतको दोहन हुन्छ । राज्यको औपचारिक निकाय र सेवाहरुमा वित्तीय क्षेत्रको जस्तै बचत तथा ऋण सहकारीहरुको पनि समान पहुँच सुनिश्चित गरौं । अभियान अनन्त छ । सहकार्य शास्वत आवश्यकता हो । सानो र छोटो अबधिको समस्यामा विचलित नबनौं । 

(लेखक नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का वरिष्ठ उपाध्यक्ष हुन्)

Advertisment