ऋण लिनु खराब होइन, नतिर्ने संस्कार खराब हो

सहकारीले पनि यी पाँच कुरा सुधार्नुपर्छ

ऋण लिनु खराब होइन, नतिर्ने संस्कार खराब हो

सहकारीमा कर्जा, सदस्यको जिम्मेवारी र संस्थागत अनुशासनको सन्तुलन
सहकारीको काउन्टरमा एउटा सदस्य ऋण माग्न आउँछ । उसको आँखामा कुनै सपना हुन्छ- कसैलाई घर बनाउनुछ, कसैलाई छोराछोरी पढाउनुछ, कसैलाई कृषि कार्य गर्नुछ, कसैलाई व्यवसाय विस्तार गर्नुछ, कसैलाई बिरामीको उपचार गर्नुछ । उसले सहकारीसँग पैसा मात्र मागिरहेको हुँदैन, उसले आफ्नो सम्भावनालाई आकार दिने एउटा अवसर मागिरहेको हुन्छ । त्यसैले ऋण लिनु आफैँमा खराब कुरा होइन । ऋण भनेको आर्थिक गतिविधिलाई अघि बढाउने एउटा साधन हो । सही उद्देश्यका लागि लिइएको, क्षमताअनुसारको र योजनाबद्ध रूपमा प्रयोग गरिएको ऋणले परिवारको आय बढाउन सक्छ, व्यवसाय विस्तार गर्न सक्छ, रोजगारी सिर्जना गर्न सक्छ र सदस्यको आर्थिक जीवनमा परिवर्तन ल्याउन सक्छ ।

Sponsored Advertisement

तर ऋण लिएपछि सम्झौताको पालना नगर्नु, क्षमताअनुसार तिर्न सक्ने अवस्थामा पनि जानाजानी नतिर्नु, ऋणको रकम अन्यत्र दुरुपयोग गर्नु वा संस्थाको रकमलाई आफ्नो अधिकारजस्तो ठान्नु भने फरक विषय हो । त्यसैले आज सहकारी क्षेत्रले एउटा महत्वपूर्ण कुरा स्पष्ट रूपमा भन्नुपर्ने समय आएको छ- ‘ऋण लिने सदस्य खराब होइन, ऋण नतिर्ने संस्कार खराब हो ।’ यो भनाइ केवल ऋणी सदस्यका लागि मात्र होइन । यसभित्र सहकारी संस्था, सञ्चालक, व्यवस्थापन र सदस्य-सबैको जिम्मेवारी जोडिएको छ । 

ऋण सहकारीको समस्या होइन, ऋणको गलत संस्कार समस्या हो
सहकारीको मूल अवधारणामै बचत र ऋणको महत्वपूर्ण स्थान छ । सदस्यहरूले बचत गर्छन्, संस्थाले त्यसलाई परिचालन गर्छ र आवश्यकता भएका सदस्यलाई ऋण उपलब्ध गराउँछ । यसरी एउटा सदस्यको बचत अर्को सदस्यको आर्थिक गतिविधिको स्रोत बन्छ । नेपालको सहकारी ऐन २०७४ ले बचत तथा ऋणको कारोबारलाई सदस्य केन्द्रित बनाएको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीले आफ्ना सदस्यबाट बचत स्वीकार गर्ने र सदस्यलाई नै ऋण प्रदान गर्ने व्यवस्था ऐनमा छ । साथै, संस्थाले उपलब्ध स्रोतलाई सदस्यबीच ऋण लगानी गर्नुपर्ने लगायतका सीमासमेत कानूनले तोकेको छ । 

यसको अर्थ के हो भने सहकारीको कर्जा केवल वित्तीय कारोबार होइन, यो सदस्यहरूबीचको पारस्परिक विश्वासमा आधारित आर्थिक सम्बन्ध हो । एउटा सदस्यले ऋण लिएर व्यवसाय गर्छ । व्यवसायबाट आम्दानी गर्छ । त्यसबाट किस्ता तिर्छ । संस्थाले पुनः त्यही रकम अर्को सदस्यलाई लगानी गर्छ । यसरी एउटा ऋणको असल परिचालनले धेरै सदस्यको आर्थिक गतिविधि चलाउन सहयोग गर्छ । तर एउटा सदस्यले ऋण लिएर नतिर्ने संस्कार बसाल्यो भने त्यसको असर उसको खातामा मात्र सीमित रहँदैन । उसको कारणले अर्को सदस्यले पाउनुपर्ने ऋण रोकिन सक्छ । संस्थाको तरलतामा दबाब पर्न सक्छ । असल ऋणीमाथि पनि कर्जा नीति कडा हुन सक्छ । अन्ततः एक जनाको खराब ऋण संस्कारले धेरै सदस्यको आर्थिक अवसर प्रभावित गर्न सक्छ ।

ऋण लिनु अधिकार हो, तर तिर्नु जिम्मेवारी पनि हो
सहकारीको सदस्यले ऋण लिन पाउनु उसको आवश्यकता र संस्थाको कर्जा नीतिअनुसारको सुविधा हो । तर ऋण पाएपछि त्यसलाई सम्झौताअनुसार तिर्नु उसको दायित्व हो । कर्जा सम्झौतामा सावाँ, ब्याज, किस्ता, भाखा र अन्य शर्तहरू स्पष्ट हुन्छन् । ऋणीले ती शर्त स्वीकार गरेर रकम लिएको हुन्छ । सहकारी ऐन २०७४ ले पनि ऋण सम्झौता वा शर्त पालना नगरेमा, तोकिएको भाखामा सावाँ-ब्याज तथा हर्जना चुक्ता नगरेमा वा ऋण रकम सम्बन्धित काममा नलगाई हिनामिना गरेको अवस्थामा कानूनबमोजिम असुलीको प्रक्रिया अघि बढाउन सकिने व्यवस्था गरेको छ ।

यसलाई दण्डको भाषामा मात्र बुझ्नु हुँदैन । यो मूलतः आर्थिक अनुशासनको प्रश्न हो । जसरी बैंकबाट ऋण लिँदा समयमै किस्ता तिर्नुपर्छ, सहकारीबाट ऋण लिँदा पनि त्यही आर्थिक अनुशासन आवश्यक हुन्छ । सहकारी सदस्यकै संस्था भएकाले ऋण नतिर्दा ‘संस्थाको पैसा हो’ भनेर सोच्नु झन् गलत हुन्छ । किनभने त्यो पैसा वास्तवमा हजारौँ सदस्यको बचतबाट बनेको हुन्छ । सहकारीको पैसा कसैको व्यक्तिगत पैसा होइन ।

ऋण नतिर्नु भनेको कसको पैसा रोक्नु हो ?
कल्पना गरौँ, कुनै सहकारीमा ५ हजार सदस्य छन् । ती सदस्यले आफ्नो आम्दानीबाट थोरै-थोरै बचत गरेका छन् ।  कसैको महिनाको दुई सय, कसैको दुई हजार, कसैको दस हजार । त्यही सानो-सानो बचत जोडिएर ठूलो कोष बन्छ । त्यही कोषबाट अर्को सदस्यले कृषि गर्न ऋण लिन्छ । कसैले पसल खोल्छ । कसैले पशुपालन गर्छ । कसैले सानो उद्योग चलाउँछ । अब त्यही कोषबाट ऋण लिएको व्यक्तिले ऋण नतिर्दा उसले सहकारीलाई मात्र होइन, त्यो सामूहिक पूँजीको प्रवाहलाई असर गरिरहेको हुन्छ । त्यसैले ऋण नतिर्ने विषयलाई “मेरो र सहकारीको व्यक्तिगत कुरा” भनेर मात्र बुझ्न मिल्दैन । यो सामूहिक जिम्मेवारीसँग जोडिएको विषय हो । यही कारणले असल ऋणी र जानाजान ऋण नतिर्ने ऋणीबीच फरक गर्न आवश्यक छ ।

सबै ढिला भएको ऋण खराब ऋणीको प्रमाण हुँदैन
यहाँ अर्को महत्वपूर्ण पक्ष पनि बुझ्नुपर्छ । कुनै सदस्यले किस्ता तिर्न सकेन भन्दैमा उसलाई तुरुन्तै खराब ऋणीको रूपमा हेर्नु न्यायोचित हुँदैन । व्यवसायमा घाटा हुन सक्छ । कृषि उत्पादनमा मौसमले असर गर्न सक्छ । बजारमा मन्दी आउन सक्छ । प्राकृतिक विपत्ति हुन सक्छ । परिवारमा आकस्मिक स्वास्थ्य खर्च आउन सक्छ । रोजगारी गुम्न सक्छ । वैदेशिक रोजगारीमा समस्या आउन सक्छ । यस्ता वास्तविक कठिनाइका कारण अस्थायी रूपमा किस्ता रोकिएको सदस्य र जानाजानी ऋण नतिर्ने सदस्यबीच स्पष्ट भिन्नता हुनुपर्छ ।

असल सहकारीले यही फरक पहिचान गर्न सक्छ । सदस्यले समस्या परेको छ भने संस्था लुकाउनु हुँदैन । समयमा जानकारी दिनुपर्छ । आफ्नो वास्तविक अवस्था देखाउनुपर्छ । पुनर्तालिकीकरण वा अन्य उपयुक्त विकल्पका लागि संस्थासँग संवाद गर्नुपर्छ । संस्थाले पनि सदस्यको वास्तविक अवस्था बुझ्नुपर्छ । कर्जा असुली भनेको केवल पैसा उठाउनु होइन; सदस्यलाई पुनः भुक्तानी गर्न सक्ने अवस्थामा ल्याउनु पनि हो ।

ऋणको सदुपयोग भयो भने ऋण सम्पत्ति बन्छ
ऋण आफैँमा बोझ होइन । ऋणको उपयोग कसरी भयो भन्ने कुरा महत्वपूर्ण हुन्छ । उत्पादनमूलक ऋणले आम्दानी सिर्जना गर्छ । उदाहरणका लागि-कृषकले सिँचाइ, बीउ, कृषि उपकरण वा पशुपालनका लागि ऋण लियो भने त्यसबाट उत्पादन बढ्न सक्छ । व्यवसायीले पसल विस्तारका लागि ऋण लियो भने बिक्री बढ्न सक्छ । युवाले सानो उद्यम सुरु गर्न ऋण लियो भने रोजगारी सिर्जना हुन सक्छ । महिलाले घरेलु उत्पादन वा सेवामूलक व्यवसाय विस्तार गर्न ऋण लिइन् भने परिवारको आम्दानीमा योगदान बढ्न सक्छ । यसरी हेर्दा कर्जा खर्च होइन, उत्पादनको साधन बन्न सक्छ । तर ऋणको रकम घरायसी अनुत्पादक खर्च, विलासिता वा अर्को ऋण तिर्न मात्र प्रयोग गरियो भने भुक्तानी क्षमता कमजोर हुन सक्छ । त्यसैले ऋण लिँदा पहिलो प्रश्न हुनुपर्छ- ‘यो पैसा कहाँ लगानी गर्ने ?’ दोस्रो प्रश्न ‘यसबाट कति आम्दानी हुन्छ ?’ र तेस्रो प्रश्न ‘यो आम्दानीबाट किस्ता कसरी तिर्ने ?’ यी तीन प्रश्नको उत्तर स्पष्ट छैन भने ऋण लिनुअघि पुनर्विचार आवश्यक हुन्छ ।

ऋण लगानी गर्दा संस्थाको पनि उत्तिकै जिम्मेवारी
ऋण नतिरेको अवस्थामा सबै दोष ऋणीलाई मात्र दिनु पनि उचित हुँदैन । कर्जा लगानी गर्नु अघि संस्थाले पनि पर्याप्त अध्ययन गर्नुपर्छ । सदस्यको आम्दानी कति छ ? उसको विद्यमान ऋण कति छ ? ऋणको उद्देश्य के हो ? व्यवसायको सम्भाव्यता कस्तो छ ? भुक्तानीको स्रोत के हो ? धितोको अवस्था कस्तो छ ? कर्जाको आकार सदस्यको क्षमताअनुकूल छ कि छैन ? यी विषयमा संस्थाले उचित मूल्यांकन गर्नुपर्छ । यदि संस्थाले केवल धितोको मूल्य हेरेर वा व्यक्तिगत सम्बन्धका आधारमा ऋण लगानी गर्यो भने भविष्यमा समस्या आउन सक्छ ।

सहकारी ऐनले समेत गलत विवरणका आधारमा कर्जा लिने वा दिने, अस्वाभाविक धितो मूल्याङ्कन, कृत्रिम व्यवसाय खडा गरी ऋण लिने-दिने तथा असुल हुन नसक्ने गरी अनुचित कर्जा प्रवाहजस्ता कार्यलाई गम्भीर विषयका रूपमा सम्बोधन गरेको छ । त्यसैले कर्जा असुलीको पहिलो आधार कर्जा लगानीकै समयमा सुरु हुन्छ । गलत ठाउँमा ऋण नदिने संस्था नै दीर्घकालमा राम्रो असुली गर्न सक्षम हुन्छ ।

असल कर्जा व्यवस्थापन भनेको असुली मात्र होइन
सहकारीको कर्जा व्यवस्थापनलाई केवल ‘कसरी पैसा उठाउने?’ भनेर बुझ्नु अपूर्ण हुन्छ । असल कर्जा व्यवस्थापनमा कम्तीमा चार चरण हुन्छन् । पहिलो- सही सदस्य पहिचान । दोस्रो- सही उद्देश्यमा कर्जा लगानी । तेस्रो- नियमित अनुगमन । चौथो- समयमै असुली । यीमध्ये कुनै एउटा कमजोर भयो भने कर्जा जोखिम बढ्न सक्छ । विशेषगरी ऋण लगानीपछि सदस्यको व्यवसाय वा परियोजनाको अवस्था बुझ्ने अभ्यास आवश्यक हुन्छ । ऋण दिएर फाइल बन्द गर्नु कर्जा व्यवस्थापन होइन । ऋण दिएपछि सदस्यको प्रगति हेर्नु नै वास्तविक कर्जा व्यवस्थापन हो ।

‘भोलि तिरौँला’ भन्ने संस्कारले समस्या बढाउँछ
ऋण नतिर्ने संस्कार प्रायः एकैपटक जन्मिँदैन । सुरुमा एउटा किस्ता ढिला हुन्छ । त्यसपछि अर्को किस्ता । त्यसपछि फोन नउठाउने अवस्था । पछि संस्था र सदस्यबीच संवाद नै हराउन सक्छ । अन्ततः सानो समस्या ठूलो समस्यामा परिणत हुन्छ । त्यसैले सदस्यले एउटा महत्वपूर्ण आर्थिक अनुशासन विकास गर्नुपर्छ- ‘किस्ता तिर्ने पैसा बाँकी खर्चबाट होइन, आम्दानीबाट पहिले छुट्याउने ।’ आम्दानी आयो । पहिले ऋणको किस्ता । त्यसपछि घरखर्च । त्यसपछि अन्य खर्च । यस्तो संस्कारले ऋणलाई बोझ बन्न दिँदैन । 

कर्जा असुलीमा कठोरता होइन, स्पष्टता आवश्यक छ
ऋण असुली गर्दा सहकारीले सदस्यको सम्मानमा चोट पुर्याउने व्यवहार गर्नु हुँदैन । सदस्यलाई सार्वजनिक रूपमा अपमान गर्ने, सामाजिक प्रतिष्ठामा आँच पुर्याउने वा असंवेदनशील व्यवहार गर्ने शैलीले दीर्घकालीन समाधान दिँदैन । तर सहानुभूतिको नाममा ऋण नतिर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्नु पनि उत्तिकै गलत हो । त्यसैले सहकारीमा एउटा सन्तुलित नीति आवश्यक हुन्छ । असल ऋणीलाई सम्मान, समस्यामा परेको ऋणीलाई सहजीकरण, र जानाजान दायित्वबाट पन्छिन खोज्नेलाई नियमअनुसार कारबाही । कानूनले सहकारी संस्थालाई ऋण असुलीका लागि धितो बिक्रीलगायतका प्रक्रिया अपनाउने व्यवस्था गरेको छ ।

त्यस्तै, भाखाभित्र ऋण नतिर्ने वा रकम अपचलन गर्ने व्यक्तिको नाम कालोसूचीमा राख्न सकिने तथा कर्जा असुलीसम्बन्धी संस्थागत संयन्त्रको व्यवस्था पनि ऐनमा छ । यसको उद्देश्य सदस्यलाई डराउनु मात्र होइन, कर्जा अनुशासन कायम गर्नु हो । 

तथ्यले देखाएको अर्को पक्ष स् ऋण असुली कमजोर हुँदा संकट गहिरिन्छ
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रकाशित गरेको तथ्याङ्कले समस्याग्रस्त घोषित केही सहकारीमा ठूलो रकमको ऋण बाँकी रहेको र त्यसको असुली निकै फरक-फरक अवस्थामा रहेको देखाउँछ । उदाहरणका रूपमा, समितिको पछिल्लो उपलब्ध तथ्याङ्कमा ओरिएण्टल को-अपरेटिभको करिब रु. ३.७६ अर्ब सावाँ ऋण दायित्व र २,२७७ ऋणी देखिन्छ, जबकि असुल भएको ऋण रकम करिब रु. २७.१६ करोड मात्र उल्लेख छ ।

अर्को संस्थामा पनि ठूलो ऋण रकमको तुलनामा असुली न्यून देखिन्छ । यी तथ्याङ्कलाई सबै सहकारीको प्रतिनिधि अवस्था भनेर बुझ्नु हुँदैन- यी समस्याग्रस्त घोषित केही संस्थाका तथ्याङ्क हुन् । तर यसले एउटा महत्वपूर्ण पाठ भने दिन्छ: कर्जा लगानी गर्दा जोखिम नहेर्ने र समयमै असुली नगर्ने हो भने समस्या पछि धेरै ठूलो हुन सक्छ । सहकारीले संकट आएपछि मात्र कर्जा व्यवस्थापन गर्ने होइन, कर्जा लगानी भएको दिनदेखि नै जोखिम व्यवस्थापन गर्नुपर्छ । 

ऋणीलाई शत्रु होइन, साझेदारका रूपमा हेर्नुपर्छ
सहकारी र ऋणी सदस्यबीचको सम्बन्धलाई ‘दिने र लिने’ सम्बन्धमा सीमित गर्नु हुँदैन । सदस्य सहकारीको मालिक पनि हो । उसले बचत गर्छ । शेयर राख्छ । साधारणसभामा सहभागी हुन्छ । संस्थाको निर्णय प्रक्रियामा भूमिका खेल्छ । त्यही सदस्यले ऋण लिन्छ । त्यसैले ऋणी सदस्यलाई संस्थाको समस्याको मूल कारण भनेर मात्र हेर्नु सहकारीको सदस्यकेन्द्रित चरित्रसँग मेल खाँदैन । बरु संस्थाले भन्न सक्नुपर्छ- ‘तपाईंले ऋण लिनुभएको छ, अब तपाईंलाई सफल बनाउनु पनि हाम्रो जिम्मेवारी हो ।’ ऋण लिएर व्यवसाय गर्ने सदस्यलाई वित्तीय साक्षरता, व्यवसाय व्यवस्थापन, बजारसम्बन्धी जानकारी र आवश्यक परामर्श दिन सके कर्जा असुली पनि सहज हुन सक्छ । 

ऋणी सदस्यले पनि यि पाँच कुरा कहिल्यै नबिर्सौँ
ऋण लिने प्रत्येक सदस्यले कम्तीमा पाँचवटा कुरा आफ्नो आर्थिक संस्कार बनाउनुपर्छ । १. ऋण आफ्नो आम्दानीअनुसार लिनुहोस् । ठूलो ऋण लिन सक्नु सफलता होइन । तिर्न सक्ने ऋण लिन सक्नु आर्थिक बुद्धिमत्ता हो । २. ऋणको उद्देश्य नबदल्नुहोस् । व्यवसायका लागि लिएको ऋण अनुत्पादक क्षेत्रमा प्रयोग नगर्नुहोस् । ३. किस्तालाई प्राथमिक खर्च बनाउनुहोस् । किस्ता तिरेपछि बाँकी पैसा खर्च गर्ने बानी बसाल्नुहोस् । ४. समस्या आए संस्थालाई लुकाउनु हुँदैन । समयमै संवाद गर्दा समाधानको सम्भावना बढी हुन्छ । ५. ऋणलाई आफ्नो प्रतिष्ठासँग जोड्नुहोस् । सहकारीको ऋण तिर्नु केवल कानुनी दायित्व होइन; यो आफ्नो आर्थिक चरित्रको परिचय पनि हो । 

सहकारीले पनि यी पाँच कुरा सुधार्नुपर्छ
ऋणीलाई मात्र अनुशासन सिकाएर सहकारी बलियो हुँदैन । संस्थाले पनि आफ्नो कर्जा प्रणाली बलियो बनाउनुपर्छ । पहिलो- क्षमताभन्दा बढी ऋण नदिने । दोस्रो- ऋणको उद्देश्य र उपयोगको अनुगमन गर्ने । तेस्रो- कर्जा जोखिमको नियमित मूल्यांकन गर्ने । चौथो- समस्या देखिनासाथ सदस्यसँग संवाद गर्ने । पाँचौँ- कर्जा असुलीमा समान र पारदर्शी नीति लागू गर्ने । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीका लागि नियामकीय मापदण्ड, २०८२ समेत जारी भइसकेको छ । यसले यस्तो कारोबार गर्ने संस्थाको सञ्चालनमा नियामकीय अनुशासनलाई थप व्यवस्थित गर्ने उद्देश्य राख्छ । यसले पनि अब सहकारीलाई पुरानो शैलीमा होइन, जोखिममा आधारित र व्यावसायिक ढंगले सञ्चालन गर्नुपर्ने आवश्यकता देखाउँछ । 

ऋण तिर्ने संस्कार नै सहकारी बचाउने संस्कार हो
सहकारीमा बचत गर्ने सदस्य र ऋण लिने सदस्य फरक-फरक व्यक्ति हुन सक्छन् । तर अन्ततः उनीहरू एउटै सहकारी परिवारका सदस्य हुन् । एकको बचत अर्कोको कर्जा बन्न सक्छ । एकको कर्जा असुली अर्कोको बचत सुरक्षासँग जोडिएको हुन्छ । त्यसैले ऋण तिर्ने संस्कार केवल व्यक्तिगत आर्थिक अनुशासन होइन; सहकारीप्रतिको सामूहिक जिम्मेवारी पनि हो । हामीले ऋणलाई ‘लिएको पैसा’ मात्र भनेर बुझ्नु हुँदैन । यो कसैको बचत हो । कसैको भविष्य हो । कसैको छोराछोरीको शिक्षाको पैसा हो । कसैको वृद्धावस्थाको सहारा हो । कसैको सानो व्यवसायको पूँजी हो । त्यसैले ऋण लिँदा सदस्यले सम्झनुपर्छ- ‘मैले सहकारीबाट पैसा लिएको होइन, अर्को सदस्यको विश्वास लिएको हुँ ।’ त्यो विश्वास समयमै फिर्ता गर्नु नै असल सदस्यताको पहिचान हो । 

अन्त्यमा स् ऋणलाई बदनाम होइन, संस्कारलाई सुधारौँ
आज सहकारी क्षेत्रमा कर्जा असुली एउटा महत्वपूर्ण चुनौतीका रूपमा रहेको छ । तर यसको समाधान ऋण लिनेलाई नै दोषी देखाएर मात्र सम्भव हुँदैन । हामीले ऋणको संस्कृति सुधार्नुपर्छ । ऋण लिने सदस्यलाई सम्मान गरौँ । ऋणको सही उपयोग गर्न सिकाऔँ । समस्यामा परेको सदस्यलाई समयमै सहजीकरण गरौँ । तर जानाजान ऋण नतिर्ने प्रवृत्तिलाई प्रोत्साहन नगरौँ । त्यसैगरी सहकारीले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । सही सदस्यलाई सही कर्जा, सही उद्देश्यमा सही लगानी, नियमित अनुगमन र न्यायपूर्ण असुली । यही चार आधारले कर्जा व्यवस्थापनलाई स्वस्थ बनाउन सक्छ ।

अन्ततः सहकारीको सफलता कति धेरै ऋण बाँडियो भन्ने कुराले मात्र मापन हुँदैन । कति सदस्यले ऋण लिएर आफ्नो जीवनमा आर्थिक परिवर्तन ल्याए र कति ऋणीले आफ्नो दायित्व इमानदारीपूर्वक पूरा गरे भन्ने कुराले पनि सहकारीको वास्तविक स्वास्थ्य देखाउँछ ।

त्यसैले अब सहकारी अभियानले ऋणलाई समस्याको रूपमा होइन, सदस्यको आर्थिक सम्भावनाको साधनका रूपमा हेर्नुपर्छ । र सदस्यले ऋणलाई अधिकार मात्र होइन, जिम्मेवारीसहितको अवसरका रूपमा लिनुपर्छ । किनकि- ऋण लिनु अपराध होइन, ऋण तिर्न नचाहनु समस्या हो । ऋण लिनु कमजोरी होइन,  ऋणको सदुपयोग नगर्नु कमजोरी हो । र ऋण तिर्ने संस्कार केवल आर्थिक अनुशासन होइन- यो सहकारीप्रतिको विश्वास जोगाउने संस्कार हो । त्यसैले फेरि पनि भन्नुपर्छ-  ‘ऋण लिने सदस्य खराब होइन, ऋण नतिर्ने संस्कार खराब हो ।’

(लेखक गण्डकी साकोस गैंडाकोट-२, नवलपरासीका अध्यक्ष हुन्।)

थप समाचार