काठमाडौं : चालु आर्थिक वर्षको असोज महिनामा करिब साढे दुई अर्ब रुपैयाँ बराबरको विदेशी लगानी भित्रिएको छ । उद्योग विभागका अनुसार यस अवधिमा नयाँ उद्योग र सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) मा गरी ४७ उद्योगका लागि दुई अर्ब ४४ करोड ८८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।
उक्त लगानी गत भदौ महिनाको तुलनामा ५८.१२ प्रतिशतले कम हो । जबकी भदौमा नयाँ उद्योग र सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) मा गरी ६२ उद्योगका लागि ५ अर्ब ८४ करोड ८५ लाख रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको थियो ।
असोज महिनामा विदेशी लगानीका ४० नयाँ उद्योगका लागि एक अर्ब ९८ करोड ७३ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ भने एपीए र एसएसएका सात उद्योगका लागि ४६ करोड ८८ लाख रुपैयाँ प्रतिवद्धता आएको हो ।
चालु आवको असोज मसान्तसम्म १५१ नयाँ उद्योग लागि १६ अर्ब ६० करोड ४३ लाख रुपैयाँ र एसपीए र एसएसएका ११ उद्योगका लागि ३ अर्ब ६७ करोड ९ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।
असोजमा मात्र दर्ता भएका उद्योगमा २ हजार १७० जनाले रोजगारी पाउने भएका छन् भने तीन महिनामा दर्ता भएका उद्योगमा ७ हजार ६७२ जनालाई रोजगारी प्रस्ताव गरिएको हो ।
यस अवधिमा दर्ता भएका उद्योगामा साना उद्योग १४४ वटा, मझौला उद्योग चार वटा र ठूला उद्योग तीन वटा रहेका छन् । असोजमा मात्रै विदेशी लगानीका साना उद्योग ३९ र ठूला उद्योग एउटा दर्ता भएको छ ।
विभागका अनुसार असोजमा सूचना प्रविधि क्षेत्रका तीन वटा, निर्माण क्षेत्रका तीन वटा, सेवामुलक क्षेत्रका १३, खनिज क्षेत्रका एउटा पर्यटन क्षेत्रका १८ उद्योग दर्ता भएका छन् । असोजमा कृषि र जलविद्युत क्षेत्रमा लगानी शुन्य रहेको छ ।
यस अवधिमा विदेशी लगानीकर्ताहरुले २६ करोड २१ लाख रुपैयाँ बराबरको लाभांश लैजान प्रस्ताव गरेका छन् । विभागका अनुसार असोज मसान्तसम्म विदेशी लगानीमा सञ्चालित उद्योगबाट भएको नाफा वापत सो बराबरको लाभांश लैजान प्रस्ताव गरेका हुन् ।
यस अवधिमा लगानी कर्ताहरुले रोयल्टी मार्फत ६३ करोड ६४ लाख ८२ हजार रुपैयाँ, चार लाख ८२ हजार अमेरिकी डलर र १२ करोड ७५ लाख रुपैयाँ रोयल्टी लैजान प्रस्ताव गरेको विभागको तथ्यांकमा उल्लेख छ ।
Advertisment