कास्की : पोखरा-९, नयाँबजारस्थित मित्रमिलन बचत तथा ऋण सहकारीका पिडित सदस्यहरुलाई उजुरी दिन प्रहरीले आह्वान गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार सूचना जारी गर्दै उजुरी दिन पिडितलाई आव्हान गरेको हो ।
प्रहरीले यही मंसिर २७ गतेसम्म आवश्यक कागजातसहित जाहेरी दिन अनुरोध गरेको छ । बचतकर्ताले सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दति प्रमाणपत्र लगायतको प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकतासमेतको परिचय खुल्ने कागजसहित जाहेरी दरखास्त दिन आग्रह गरेको हो । सहकारी ठगी मुद्दामा हालसम्म ६ जनाले उजुरी दिएका छन् ।
प्रहरीले हालसम्म प्राप्त उजुरी आधारमा जिल्ला अदालतको अनुमतिमा सहकारीका पदाधिकारी, सञ्चालक, विभिन्न उपसमितिका सदस्यसमेत गरी करिब ३० जनालाई पक्राउ पुर्जी काटी खोजबिन थालेको छ । सहकारी ठगी प्रकरणमा जनप्रतिधि, पत्रकार र वकिलसमेत मुछिएका छन् ।
२६ करोडभन्दा बढी रुपैयाँ ठगी गरी फरार रहेको बचतकर्ताको दाबी छ ।
सहकारी रजिष्ट्रारको कार्यालय पोखराले सहकारीको वित्तीय विवरण सम्बन्धमा देखिएका कैफियतहरु उपर छानबिनमा सहकारीको २६ करोडभन्दा बढी रुपैयाँ हिनामिना भएको तथ्य भेटिएको थियो ।
Advertisment